पैसा र लाश दुइटैलाई प्रलय

पैसा र लाश दुइटैलाई प्रलय

लाश ल्याउनै गाह्रो छ, दिएको पैसा साट्न उत्तिकै साह्रो छ ! रुस–युक्रेन युद्धमा सहभागी भई ज्यान गुमाएका नेपालीको हकमा यस्तो जटिलता आइलागेको हो । 

युद्धमा हताहत भएका नेपालीको संख्या त रुसी सरकारले सुनाइसक्यो । तर, मृतकको शवलाई त्यतै दफन गर्ने चाहना छ । मृतकका परिवारलाई उसले क्षतिपूर्तिबापत दिने भनेको रकम त देला । तर, न नेपाली मुद्रा, न त अमेरिकी डलरमै । उसले रसियन मुद्रा रुबलमा भुक्तानी गर्छ । अहिले चौतर्फी नाकाबन्दी झेलेको अवस्थामा रुबल प्रतिबन्धितजत्तिकै छ ।

संसारका विरलै देशमा सटही सुविधा छ । त्यसैले दिएको पैसा पनि काम नलाग्ने अवस्था भएको हो । त्यसमाथि रसियनले मनाउने क्रिसमस पर्व जनवरी ७, अर्थात् आइतबारमात्रै सकियो । ९ तारिखदेखि कार्यालयहरू त खुले ।

तर, नेपालीको शव, आर्थिक क्षतिपूर्ति दिने प्रक्रियाका विषयमा केही टुंगो लागेको छैन । रुस भन्छ, ‘नेपाल पठाउन महंगो पर्छ, त्यसैले शव यहीँ व्यवस्थापन गर ।’ हुँदा हुँदा उसले त रुसको तर्फबाट लड्नेका परिवारलाई समेत पुग्नासाथ नागरिकता दिने कानुन ल्याइसक्यो ।

योभन्दा जटिल कुरा त के छ भने, पहिल्यै रुसमा गएका मानिसले हाम्रो नागरिकता भनेजस्तो त्यहाँको आवासीय सुविधा पाइसकेका हुन्छन् । त्यसपछि तिनका परिवारले पनि स्वतः पाउने भए ।

तिनीहरू युद्धमा हताहत भए भने अर्को देशको नागरिक भइसकेका कारण नेपालले आफ्नो भन्न मिल्दैन । यस्तो स्थितिका नागरिकको पक्षमा केही गर्न चाहँदा पनि गर्न नसकिने कष्टदायक अवस्था आउनसक्छ । यसबीच नेपालबाट परराष्ट्र मन्त्री डा.प्रकाशशरण महत त्यता जाने हल्ला चल्यो, जुन सत्य थिएन ।

नाकाबन्दीको कारण दुईवटा हेलिकप्टर ल्याउँदा पनि भुक्तानी सीधा पठाउन नमिलेर चाइनामार्फत घुमाई पठाउनुपरेको थियो । तर यो बेला झन् समस्या छ । त्यहाँ लड्न पाकिस्तानी, बंगलादेशी, भारतीय पनि गएका छन् । हाम्रोचाहिँ गोरखाली बहादुर भएर अलि बढी छन् ।
 

टिप्पणीहरू