भारतलाई सोझै नहानौं, प्रचण्डकै दोष हो भनौँ

पत्नी कुट्ने र पैसा उठाएर खानेको ओलीद्वारा पहिचान

भारतलाई सोझै नहानौं, प्रचण्डकै दोष हो भनौँ
सुन्नुहोस्

सुसंस्कृत र सभ्य समाजका लागि सांस्कृतिक रूपान्तरणमा जोड दिने कम्युनिष्ट पार्टीमा नैतिक मूल्यको प्रश्नले कुनै बेला उच्च महत्व पाउँथ्यो । त्यसबेला सांस्कृतिक विचलनको आरोप लागेकाको पार्टी सदस्यता खोस्नेदेखि श्रम शिविरमा राख्ने र सफाया गर्नेसम्मको कारवाही हुन्थ्यो । सांस्कृतिक मूल्य निर्माणमा कठोर बनेको माओवादी जनयुद्धमा सांस्कृतिक स्खलनको विषय दण्डनीय मानिन्थ्यो । 

कम्युनिष्टले भन्ने गरेको सांस्कृतिक स्खलन सीमाबाहिर गएर गरिने अनैतिक क्रियाकलापलाई बुझिन्छ । त्यस्तै अवस्था हो आर्थिक अनियमितता, भ्रष्टाचार, अवैध यौन क्रियाकलाप आदिकोे पनि । नैतिकताको कुरा संस्कृतिसँग जोडिएर आउँछ । आफ्ना मूल्य मान्यता, विचार, दृष्टिकोण र सिद्धान्त विपरित सत्तामा जान मरिहत्ते गर्नु पनि सांस्कृतिक विचलन नै हो । श्रम संस्कृतिको ठाउँमा ठालुवाद हावी हुनु त झन् कम्युनिष्टले भन्दै आएको सांस्कृतिक स्खलन हो । 

तर, सत्तामा पुगेपछि नैतिक मूल्यको कसीमा सबैभन्दा कमजोर कम्युनिष्ट नेताहरू नै देखिएका छन् । आज कम्युनिष्ट पार्टीमा श्रम सँस्कृतिका ठाउँमा ठालुवाद हावी भइरहेको छ । पार्टीभित्र दलालहरूले खुलेआम प्रवेश पाएका छन् । कमरेड हैन बा, काका, दाइ संस्कृतिले बढावा पाइरहेको छ । यस्तो रोग संसदीय विकृत राजनीतिलाई जीवन दर्शन बनाइसकेका मूलधारका एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीमा मात्र होइन, शास्त्रीय कम्युनिज्ममा विश्वास गर्ने विप्लव नेतृत्वको नेकपासम्म फैलिएको छ । ती पार्टीको ठूलै तहका नेताहरूका नाम विभिन्न काण्डमा जोडिएर आउने गरेको छ । 

पूर्वसभामुख कृष्णबहादुर महरालाई केटी काण्ड लाग्यो । अहिले छोरामाथि सुन तस्करीको आरोप छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही वर्षअघि एमालेमा रहेकै बेला अध्यक्ष केपी ओलीमाथि कटाक्ष गर्दै सांस्कृतिक विचलनमा परेका र चन्दा असुली गर्ने व्यक्तिहरूको संरक्षण गरेको गम्भीर आरोप लगाउनुभएको थियो । पार्टीभित्रको अन्तरसंघर्षमा ओलीविरोधी खेमाको नेतृत्व गरेका नेपालको उक्त आरोपलाई त्यसबेला धेरैले पूर्वाग्रही ठाने । तर, अहिले आएर ओली स्वयमले पार्टीको औपचारिक बैठकमै पार्टीभित्र अनैतिक क्रियाकलाप बढ्दै गएको गुनासो गर्नुभएको छ । 

राष्ट्रिय सभा निर्वाचनका निम्ति उम्मेदवार छान्न बसेको पछिल्लो सचिवालय बैठकको प्रारम्भमै उहाँले भन्नुभयो, ‘पार्टीभित्र चरित्रहीनता र स्वार्थी प्रवृत्ति बढ्यो । अर्को बैठकमा गम्भीरतापूर्वक यसबारे छलफल गरौँ ।’ त्यसदिन बैठकको कार्यसूचीमा उक्त विषय नराखिएकाले ओलीले अर्को बैठकमा यसबारे छलफल गर्ने भनेपछि थप व्याख्या भएन । तथापि नेता तहबाटै हाकाहाकी पैसा मागेर खाने, लुट्ने, पत्नी कुट्नेजस्ता काम भैरहेकाले यसबारेमा छलफल गर्नुपर्नेमा भने उहाँ पुग्नुभएको छ । 

खासमा ओली, प्रचण्ड, माधवलगायत कम्युनिष्ट पार्टीका ठूला नेताहरूको विलासी जीवनशैली, रहनसहन र आर्थिक गतिविधिमाथि आमनागरिकका आशंका र प्रश्न रहँदै आएका छन् । उनीहरूले गर्ने खर्चको स्रोत पारदर्शी हुनुपर्छ भन्ने जनता, कार्यकर्ताको माग हुने गरेको छ । वाम पार्टीमा सबैभन्दा ठूलो हुनुका नाताले एमालेतिर प्रश्न पनि धेरै तेर्सिनु स्वाभाविक हो ।

एमालेमा पनि ‘ओली बा’ भन्नेहरू नै सबैभन्दा धेरै अनैतिक क्रियाकलापमा लागेको देखिन्छ । एमालेकै नेताहरू भन्छन्, ‘देशैभरि ओलीको नाम उठाएर खानेहरू छन् ।’ ओलीका लागि धरहराबाट हाम्फाल्न पनि तयार छु भन्ने महेश बस्नेतको नाम युवासंघका युवतीहरूसँग जोडिएर आउने गरेको छ । डन भनेर चिनिएका युवासंघकै नेता परशुराम बस्नेतको घरबार बिगारिदिएको आरोप बस्नेतमाथि लागेको थियो । कुनै समयका घनिष्ट मित्र यी दुर्ईको अहिले बोलचालसम्म बन्द छ । 

यता, अध्यक्ष ओलीको रुचिअनुसार हालै केन्द्रीय सदस्य बनाइएका सञ्जीव झाले खुलेआम आफूलाई भारतीय दूतावासको एजेन्ट भन्दै हिँडेको कुरा बाहिरिएको छ । उनले सुदूरपश्चिमका नेता कर्ण थापा लगायतलाई ‘म त इण्डियन एम्बेसीको मान्छे हुँ’ भनेर हाकाहाकी भनेको विषयले च्यासलमा चर्चा पाएको छ । 

आफ्नै केन्द्रीय सदस्यले आफूलाई दक्षिणको एजेन्ट भनिरहँदा अध्यक्ष ओली भने आफूप्रति भारत सकारात्मक नभएकोमा चिन्तित हुनुहुन्छ । अघिल्ला सचिवालय बैठकमा खुलेरै भारतले एमालेलाई घेराबन्दी गरेको बताउनुभएका ओलीमा त्यसदिन पनि भारतीयहरू सकारात्मक नरहेको चिन्ता झल्किएको बैठकमा सहभागी एक नेताले बताए । त्यसैकारण भारतीय दूतावासले सोझै २० करोडसम्मको योजनामा लगानी गर्न पाउने गरी सरकारसँग भएको सम्झौताप्रति उहाँ बैठकमा नरम रूपमा प्रस्तुत हुनुभएको बताइन्छ । आफू बोल्ने र अरु सुन्ने जस्तो बैठकमा महासचिव शंकर पोखरेललाई निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘इण्डियनलाई सोझै प्रहार नगरौँ, प्रचण्ड सरकारको कमजोरी भनेर विज्ञप्ति निकालौँ ।’ 

बैठकमा भन्दा कम बोल्नुभएका ओलीले राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनसँग मिलेर जाने सम्भावनाबारे पनि संक्षिप्त चर्चा गर्नुभएको थियो । ‘टीआरसी विधेयकको ललिपप दिएको हो, सीटको कुरा केही हैन’, बैठकमा उहाँले भनेको कुरा एक नेताले सुनाए । त्यसक्रममा आगामी दुर्ई वर्षपछि राष्ट्रिय सभामा पार्टीको हैसियत शून्य हुने अवस्थालाई लिएर गम्भीर हुनुपर्नेमा हाँसोमजाक चल्यो । महासचिव पोखरेलले ‘अपाङ्ग कोटा त अर्कोचोटी छ नि, अहिले नगरौँ’ भन्दा दुर्ई वर्षपछि राष्ट्रिय सभामा पार्टी नै अपाङ्ग हुने भन्दै नेताहरूले ठट्टा गरेका हुन् । 

सधैँजस्तै वाम एकताको विषयले भने यो बैठकमा पनि चर्चा पाएन । बालुवाटारमा सीट भागबण्डाको कुरा चलिरहँदा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले ‘एमालेसँग मिल्न सकिन्छ’ भनेर सार्वजनिक मञ्चबाट दिएको अभिव्यक्तिले पनि बैठकमा प्रवेश पाएन ।

बरु गठबन्धनमा अप्ठेरो परेपछि कांग्रेसलाई साइजमा राख्न प्रचण्डले चतुर्‍याइँ गरेको हुनसक्ने आशंका नेताहरूले गरेका छन् । टिआरसी विधेयक तुरुन्त पास गरौँ भन्ने प्रचण्डको प्रस्ताव ओलीले सुनाएपछि त्यस्तो आशंका गरिएको हो । तर, एमालेकै केही नेताले भने चीननिकट भनेर चिनिएका पुनको प्रस्तावलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । 

यद्यपि, प्रचण्डको चाहनाका बाबजुद सत्ता गठबन्धनका अन्य घटकहरू सहमत नभएपछि राष्ट्रिय सभामा एमालेले एक्लै प्रतिष्पर्धा गर्दैछ । चुनाव हुने १९ वटै सीट गठबन्धनका उम्मेदवारले जित्ने प्रष्ट गणितका बीच एमालेले सबै ठाउँमा उम्मेदवारी दिइसकेको छ । योसँगै वाम एकताको वहससमेत तत्कालका लागि अन्त्य भएको नेताहरूको विश्लेषण छ ।

टिप्पणीहरू