अध्यागमन अधिकृतसँगको सेटिङप्रति प्रधानमन्त्रीको चासो

अध्यागमन अधिकृतसँगको सेटिङप्रति प्रधानमन्त्रीको चासो
सुन्नुहोस्

सरकारी कर्मचारीकै मिलेमत्तोमा नक्कली कागजपत्र बनाएर भिजिट भिसामा नागरिकलाई खाडी मुलुक पठाई मानव तस्करी हुने गरेको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो राख्नुभएको छ । 

आज उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम मन्त्री शरतसिंह भण्डारीसहित सरोकारवाला निकायहरुसँगको छलफलमा प्रधानमन्त्रीले यसबारे गम्भीर चासो प्रकट गर्नुभएको हो । 'भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि  सेटिङ मिलाएर पठाउने गरेको गुनासो मैले सुनेको छु, भिजिट भिसामा  घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु, गराउनु होला । जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला', उहाँले निर्देशन दिँदै भन्नुभयो । 

त्यस्तै, भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तत्काल सहज वातावरण सिर्जना गर्न पनि भन्नुभएको छ । त्यस्ता कार्य तत्काल बन्द गरिनुपर्नेमा उहाँको जोड छ ।

प्रधानमन्त्री प्रचण्डले पालिकास्तरसम्म गएर वैदेशिक रोजगारी र भिजिट भिसाबारे सचेतनामूलक कार्यक्रम गर्न र राष्ट्र र जनताको हितमा काम गर्नसमेत सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन अधिकृत, प्रहरी र विभिन्न एअरलाइन्ससँगको मिलेमतोमा नक्कली कागजपत्रका आधारमा भिजिट भिसा बनाएर मानव तस्करी हुने गरेको तथ्य केही दिनअघि खुलासा भएको थियो ।

टिप्पणीहरू