यौन काण्डमा कर्णेललाई उन्मुक्ति

यौन काण्डमा कर्णेललाई उन्मुक्ति
सुन्नुहोस्

निर्धालाई ऐन र बलियालाई चैनको संस्कार अन्यत्रभन्दा नेपाली सेनामा बढी नै छ भन्ने कुरा भर्खरैको एउटा चारित्रिक प्रकरणमा पनि प्रकट भएको छ ।

यौनजन्य कसुरमा नाटकीय शैलीले दुई पक्षको मिलापत्र गराउँदै एउटा काण्ड सट्याकसुटुक पारिएको हो । उन्मक्ति पाउने प्राविधिकतर्फका लेफ्टिनेन्ट कर्णेल निश्चयजंग रायमाझी हुन् । उनीमाथि प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा सेनाका हरेक निर्माणकार्यमा हावी हुँदै अकुत सम्पत्ति आर्जन गरेको आरोप छ ।

स्थपति विभागमा कार्यरत सेनाकी आर्किटेक्ट इञ्जिनियरसँगको आपत्तिजनक सम्बन्धलाई लिएर ती महिलाका पतिले दिएको उजुरीका आधारमा जंगी अड्डाले ब्रिगेडियर जर्नेल रविन्द्र केसीको नेतृत्वमा छानवीन अगाडि बढाएको थियो । उक्त उजुरीमा पत्नीमाथि यौनजन्य हिंसा भएको दावी गर्दै कर्णेल रायमाझीलाई सैनिक ऐनअनुसार हदैसम्मको कारवाही गरियोस् भन्ने माग गरिएको थियो ।

सोही उजुरीका आधारमा रायमाझीले १० दिन सैनिक हिरासतमा बिताए । तर, एकाएक महिलाका पति त्यस्तो उजुरी आफूले नदिएको, आफ्नो नाममा अरु कसैले झुटो उजुरी दिएर दुःख दिन खोजेको भन्दै होस्टाइल बन्न पुगे । उनले आफ्नी श्रीमती त्यस्तो चरित्रको हुँदै नभएको भनेपछि जंगी अड्डा थप छानवीन कार्यबाट पछाडि हटेको छ ।

पीडित भनिएकी महिला मेजरको हेटौंडास्थित सुपारेटार व्यारेकमा पोष्टिङ छ । यसअघि पनि सुपारेटारमा स्थपति प्रमुखको जिम्मेवारी सम्हालेका मेजर बलराम राउतसँग जोडेर होहल्ला भएपछि कुटाकुटसम्मको घटना भएको थियो । यो सात–आठ महिनाको कुरा हो । त्यसपछि कर्णेल निश्चयसँग नजिकिएकी महिलाका पति सेनाका जागिरे नभई पेशाले सिभिल इञ्जिनियर हुन् । 

अचम्म के भयो भने, सेनामा यौनजन्य कसुरको प्रमाण नै नभेटिएको अवस्थामा पनि ३ तारेसम्म बन्ने ल्याकतका एकजना जर्नेल पंकज कार्कीले जागिर गुमाएका थिए । अहिले पतिले नै कसुर दावी गर्दै उजुरी दिई, छानवीनका क्रममा १० दिनसम्म हिरासतमा राखिसकेपछि नाटकीय तवरले कर्णेल रायमाझीले उन्मुक्ति पाएका छन् ।

०७७ फागुनमा यस्तै आरोपअन्तर्गत चलचित्र निर्देशक चेतन कार्कीका छोरा पंकज सैनिक सेवाबाट बर्खास्तीमा परेका थिए । सिराहाको २८ नं. बाहिनीमा कार्यरत रहँदा एक महिला सैनिकमाथि गोलबजारमा लगेर यौनजन्य दुव्र्यवहार गरेको विषयमा उनीमाथि छानबिन भएको थियो तर त्यसअघि संयुक्त राष्ट्रसंघअन्तर्गतको मिशनका क्रममा सुडानमा रहँदा एक महिला सैनिक अधिकृतसँगको सम्बन्धलाई लिएर मोबाइलको कल डिटेल्स अध्ययन गरियो । र त्यसैलाई प्रमाण मान्दै दुवैलाई सेवाबाट बर्खास्त गरिएयो। 

अहिले नाटकीय शैलीमा मुक्ति पाउने कर्णेल निश्चयजंगले पूर्णचन्द्रको कार्यकालमा बर्दिबास अस्पतालको निर्माणदेखि विभिन्न परियोजनामा हालिमुहाली चलाएका थिए । त्यसबेला कल्याणकारीका जर्नेल सागर केसी थिए, तर हालिमुहाली उनकै चल्ने गरेको थियो । यसबाहेक विभिन्न पृतनाअन्तर्गतका सम्पूर्ण अस्पतालको निर्माणमा उनी हावी थिए । हेटौंडा सुनाचरीस्थित बम प्लाण्ट, बाराको लजिष्टिक बेस, पाँचखालको शान्ति सेना तालिम केन्द्र, लमजुङस्थित सैनिक कृषि क्याम्पसजस्ता परियोजनाको जिम्मा उनीसँग थियो । लमजुङमा त ६०–७० करोडको परियोजनामा उनीमात्रै हावी थिए । 

जबकि, पंकज कार्कीको हकमा एउटा विषयमा परेको उजुरीलाई थन्क्याएर उजुरी नै नपरेको विषयमा छानवीन गर्दै बर्खास्तसम्म गरियो । भनिन्छ, तत्कालिन जर्नेल प्रेम शाही र अनन्त कार्की मिलेर पवनलाई यसरी दुःख दिएका थिए । त्यही काण्डमा लामिछाने थरकी मेजरको पनि जागिर गयो । उनका पति कर्णेल हुन् । 

टिप्पणीहरू