जातेजाते यतिसम्म ज्यादति

जातेजाते यतिसम्म ज्यादति
सुन्नुहोस्

थोरै अवधीको जागिर, ठूलो ठाउँको जिम्मा ! प्रश्न उठ्छ– कमाऊ अनि घर जाऊ भनिएको त हैन ! प्रहरीका डिआइजीहरूको कार्यअवधी पूरा नहुँदै प्रदेश नेतृत्वमा भएको हेरफेरपछि नक्सालस्थित हेडक्वार्टरमा चल्ने गरेको चर्चा हो यो ।

यस्तो बेथितीलाई अस्वीकार गर्दै हेटौंडास्थित बागमती प्रदेशको कमाण्ड सम्हालेकी डिआइजी किरण राणाले रमाना बुझिनन् । बरु, बिदाको म्याद १५ दिनलाई बढाइन् । समयअगावै तानिएका कोशी र मधेश प्रदेशका डिआइजीहरूको गुनासो पनि त्यस्तै छ ।

वैशाख ७ गते उमेरहद लागेर घर जाने विकासराज खनाललाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ भने जेठ १० गते घर जाने सुरेन्द्र मैनालीलाई भरतपुर तालिम केन्द्र पठाइएको छ । अहिले प्रदेशबाट तानिएका र पठाइएका गरी सबै डिआइजीको जागिर अवधी बढीमा एक–एक वर्षमात्रै बाँकी छ ।

फौजमा ‘पालैपालो खाऊँ भाले’ भन्ने शैलीको यो जिम्मेवारीले जगहँसाई भएको चर्चा हेडक्वार्टरमा चलिरहेको छ । अझ, मधेस प्रदेश जानका लागि तीन र चार महिनामा घर जानेहरूको ठूलै हानाथाप चल्यो । किनभने, मनग्यै आम्दानी हुने विभिन्न ठूला र साना भारतीय सीमावर्ती नाकाको लोभ थियो । गत वर्ष एसएसपीको उमेर हदले जागिर सकिनै लाग्दा अघिल्लो दिनै बढुवा निकाल्न लगाउने ‘शक्तिशाली’ विकासले पनि मधेसमा बाजी मार्न सकेनन् । त्यहाँ यज्ञविनोद पोखरेल गएका छन् । 

उता, सरुवा भएर जिम्मेवारी फेरिनेबित्तिकै हेडक्वार्टर फर्कनेहरूबीच अर्को रमिता चल्यो । आफूले इच्छाएका मान्छेलाई रातारात आकर्षक ठाउँमा काज खटाउने र नइच्छ्याइएकालाई मिल्काउने । पुरानो मितिमा गरिएका ती काज कार्यान्वयन भइसकेका छैनन् । बरु, महानिरीक्षकको सचिवालयले सूचना नै जारी गरेको छ– ‘जातेजाते यस्तो दुराशयी काम नगर्नु–नगराउनु ।’ यस्तो काज विशेषतः जवान, हवल्दार, असइसम्मका हकमा भएका थिए ।

टिप्पणीहरू