आगो सल्काउनैपर्ने हो र आन्दोलनका नाममा ?
संविधानको धारा १७ अनुसार आफ्ना विचार राख्ने स्वतन्त्रता सबैलाई छ । लोकतान्त्रिक गणतन्त्रमा विचार र विरोधको स्वतन्त्रता हुन्छ । आफ्नो विचारले अर्काे व्यक्ति र समूहलाई क्षति र असर नपरोस् भन्नेतर्फ सचेत हुनुपर्नेमा दाह्रा बजाएर अर्काेलाई उत्तेजित पार्ने काम मात्र बढी हुन थाल्यो । व्यापक अर्थमा त्यो पनि एक प्रकारको हिंसा हो । विश्वमा हिंसाभन्दा अहिंसाबाट ठुल्ठूला राजनीतिक, सामाजिक र आर्थिक परिवर्तन भएका छन् । दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाले शान्तिपूर्ण संघर्षबाटै मुलुकलाई रंगभेद मुक्त बनाए ।
भारतमा महात्मा गान्धीको नेतृत्वमा अहिंसाबाटै ब्रिटिश सत्तालाई धपाइयो । हिंसाले प्रतिहिंसा मच्चाउने भएकोले त्यो सधै उत्पादक नहुन सक्दछ । श्रीलङ्कामा हिंसाको बलले संघर्षरत लिट्टे समूह प्रतिहिंसाबाट खरानी भयो । सिंगापुर विकसित बन्यो । मलेसिया, इण्डोनेशिया, कतार, द.कोरियामा विकासको गति तीव्र छ । उनीहरू काम गर्छन् । हामी दाह्रा बजाउँछौँ । फरक यही हो ।
सडकमा जुलुस, बन्द र आमहडतालजस्ता कार्यक्रम आन्दोलनको अन्तिम उपाय–अस्त्र हो । अनेकौं शान्तिपूर्ण संघर्ष गरेर पनि राज्य वा सम्बन्धित निकायले सुनेन र पेलेरै गयो भने त्यहाँ पुग्नुपर्ने बाध्यता हुन्छ भन्ने हो । नेता र आफूलाई सार्वजनिक अभियन्ता भनिनेहरूका हिंसापूर्ण अभिव्यक्तिको कारण अब नेपालमा फेरि पनि अनेक प्रकारका सडक आन्दोलन, संघर्ष र विरोध हुने संकेत देखिएका छन् । राजनीतिक सडक संघर्ष र बन्द–हडताल मात्र अभिव्यक्ति गर्ने माध्यम हो ? राजनीतिक आन्दोलनसँग मुलुकको सामाजिक, आर्थिक तथा साँस्कृतिक पक्ष पनि जोडिएको हुन्छ । कस्तो आन्दोलन गर्दैछौँ भन्ने कुराले संस्कृतिको निर्माणमा असर र प्रभाव पार्ने गर्छ ।
हामी नेपाली समाजलाई कस्तो संस्कृतिको निर्माणतर्फ अघि लाँदैछौं ? यो एउटा गम्भीर सवाल हो । लोकतन्त्र र गणतन्त्रमा राजनीतिक शक्ति लोकतन्त्रका खम्बा हुन् । जनताको संगठित शक्तिको प्रतिनिधित्व गर्ने राजनीतिक आन्दोलन सामाजिक र सांस्कृतिक अभियान पनि हो । यसले नागरिक समाजको एउटा संस्कृति निर्माणको काम गर्छ । हामीले कस्तो राजनीतिक आन्दोलन र संघर्ष गर्छाैं र व्यवहार गर्छौं भन्ने कुराले हाम्रा संस्कृतिको निर्माणमा पनि भूमिका खेल्दछ ।
सडक आन्दोलन, विरोध र प्रतिआन्दोलनका नाममा जस्तोसुकै हिंसा, तोडफोड, बन्द र जोरजवरजस्ती गर्न कार्यलाई छाडा छोड्ने हो नेपाली समाज कस्तो बन्न पुग्दछ ? समाजविरोधी गर्नै नहुने कार्य र व्यवहारलाई रोक्नै पर्छ । आन्दोलन र प्रतिआन्दोलनका नाममा बन्द, तोडफोड, धम्की, गैरराजनीतिक नारावाजीजस्ता क्रिया र गतिविधिले नेपाली समाजको राजनीतिक–सामाजिक संस्कृति कस्तो बन्न पुग्ला, सोच्नु पर्दैन ? उत्तेजक र हिंस्रक अभिव्यक्तिले भोलिको नेपाली समाजको संस्कृति निर्माण पनि गर्ने भएकोले यसलाई मर्यादित बनाउन ढिलो भइसकेको छ । मन्त्रीदेखि प्रधानमन्त्री र दलका नेता सबैले धम्की र हिंसा बोल्दा समाज कस्तो बन्न पुग्ला ? सडकमा उफ्रिएका सबै भीड आन्दोलन हुँदैनन् । सडकप्रदर्शन बाहेकका माध्यमबाट पनि विभिन्न आन्दोलन हुन्छन् । संसद्बाट हुन सक्दछन्, अदालती प्रक्रियाबाट हुन सक्दछन् र सामाजिक चेतना तथा बहस आदिबाट पनि हुन सक्छन् । गैरराजनीतिक संगठन र शक्तिले पनि विभिन्न मुद्दा र माध्यमबाट आन्दोलन गर्छन् ।
आन्दोलन भन्नेबित्तिकै बन्द–हडताल गर्ने, ढुंगा हान्ने, तोडफोड गर्ने मात्रै हो ? विकसित लोकतान्त्रिक मुलुक र देशका राजनीतिक, सामाजिक र गैरराजनीतिक आन्दोलन हेर्ने हो भने केही व्यक्तिले प्ले कार्ड देखाएर गर्ने सानो धर्ना र विरोधलाई पनि संगठित विरोध मानिन्छ र त्यस्तोमा पनि सरकारले तिनका आवाज सुन्दछ र सुन्नुपर्छ भन्ने मान्यता छ ।
नेपालमा लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान लागू भइसकेको अवस्थामा पनि आन्दोलनसम्बन्धी बुझाइ, धारणा र मान्यतामा भने खासै परिवर्तन आउनै सकेन । आन्दोलन के हो ? त्यो किन र कसका लागि गरिने हो ? राजनीतिक, सामाजिक आन्दोलनको मूल पक्ष आमनागरिक होइन ? हो भने फेरि तिनै सामान्य नागरिक र गरिब, दुःखी जनताको सार्वजनिक जीवनमाथि खलल पर्ने तरिका किन अपनाउने गरिन्छन् ? जनतालाई आफ्ना निहित स्वार्थपूर्तिका लागि आन्दोलनको धम्की किन दिने गरिएका छन ? अहिले मुलुकमा सबै व्यक्ति र समूह असन्तुष्ट रहेको अवस्था छ । सरकारले काम र डेलिभरी दिनै सकेन । तसर्थ सबैले अब आन्दोलनको चर्का कुरा गर्न थालेका छन् ।
गणतन्त्रको विरोध र समर्थनका अनेक रूपका संघर्षले सडक तात्तिने अवस्था छ । विगतमा पनि महेश बस्नेत र दुर्गा प्रसाईंका नाममा सडक तात्यो । अब त्यो क्रम बढ्ने अवस्थाले आफ्नो राजनीतिक अभीष्ट पूर्तिको लागि आमनागरिको दैनिकी र आर्थिक, सामाजिक जीवनमाथि धावा बोल्ने खतरा बढेको छ । आखिरमा तिनका निहित स्वार्थमा गरिने आन्दोलन, विरोध र संघर्षबाट सामान्य नागरिकले के पाउँछन् ? यो सवाल गम्भीर हो । जबकि राजनीतिक र सामाजिक आन्दोलनबाट खास लाभान्वित हुनु पर्ने आमनागरिक तथा जनता हुन् ।
आर्थिक दृष्टिकोणले जर्जर भएको अवस्थामा अब फेरि सडकमा आन्दोलन, विरोध र चक्काजाम हुने हो भने त्यसले नेपालको आर्थिक, सामाजिक अवस्थामा धक्का लाग्ने पक्का छ । विगतमा भए–गरिएका अनेकौँ आन्दोलनले मुलुकको राजनीतिक, आर्थिक र सामाजिक जीवनमा के परिवर्तन ल्याउन सहयोग ग¥यो ? यस्तो अवस्थामा फेरि पनि आन्दोलन र विरोधका नामा दाह्रा मात्र बजाउने कि मेलो जोत्ने भन्ने प्रश्न खडा भएको छ । गाउँ घरमा गोरुले घाँस खान तम्सेर बढी दुःख दियो भने मुखमा पेरुङ्गो लगाएर जोत्न लगाएको हुन्छ । नेपालका नेतालाई पनि त्यसै गर्नुपर्ने अवस्था देखियो ।
टिप्पणीहरू