ग्यालेक्सी टिभी खोल्दा नियतमै खोट

ग्यालेक्सी टिभी खोल्दा नियतमै खोट
सुन्नुहोस्

ओखलढुंगाबाट रित्तो हात बोकेर काठमाडौं आएका गितेन्द्रबाबु राई अर्थात् जिबी नेटवर्किङ व्यवसायमै रमाइरहेका थिए । नेचर हब्र्स इन्टरनेशनललाई डाबर नेपालजस्तै कम्पनी बनाउने सपना देखेका राईका मुख्य सहयोगी थिए, कुमार रम्तेल ।

हर्बे, युनिटी र गोल्डक्वेस्टलगायत नेटवर्किङमा लागेका रम्तेलको जोडी बाँधेर हिँडिरहेका राईसँग पूर्वनायब महानिरीक्षक (डिआइजी) छविलाल जोशीसँग भेट भयो । यो समूहमा जोडिए पूर्वमहान्यायाधिवक्ता एवं गण्डकी प्रदेशका पूर्व प्रमुख बाबुराम कुँवर, नेत्रपाणि बाँस्तोला, माधव खनाल, एनआरएनए मलेशियाका पूर्व अध्यक्ष विश्व राई, पूर्वमहासचिव हेमराज सापकोटालगायत ।

जिबीको परिवारका एक सदस्यका अनुसार उनले नेचर हब्र्स इन्टरनेशनललाई कानुनी हिसाबले क्लिन बनाएर चलाउन खोजिरहेका थिए । यही क्रममा जोशीले उतिबेलाका सेलिब्रिटी रवि लामिछानेसँग भेट गराए । न्यूज २४ मा सिधा कुरा जनतासँग कार्यक्रम चलाएका थिए रविले । उतिबेला न्यूज २४ का सञ्चालक अनिल जोशीसँग रविको विवाद चलिरहेको थियो ।

न्यूज २४ टिभी छोड्ने उपयुक्त अवसर खोजिरहेका रविले छवि जोशीमार्फत जिबीसामु टेलिभिजन खोल्ने प्रस्ताव अघि सारे । ‘फुर्के स्वभाव’का जिबीलाई नेचर हब्र्स इन्टरनेशनलको विषयलाई लिएर सञ्चार माध्यमले निरन्तर खेदिरहेका थिए । यसबाट आजित भएका उनी रविको टेलिभिजन खोल्ने प्रस्तावमा उत्साही भए । उतिबेला जिबीको एउटै उद्देश्य थियो, ‘आफूविरुद्ध लेख्ने सञ्चार माध्यमका साहुलाई पनि ठीक पार्ने ।’ स्रोतका अनुसार रविले जिबीलाई ठूला सपना देखाए ।

आफ्नो नामले नै टेलिभिजनको ब्राण्डिङ हुने भन्दै लगानीका लागि उक्साए । त्यसरी जन्मियो, ‘ग्यालेक्सी टेलिभिजन फोर के’ । यसको पत्रकार र कर्मचारी भर्ना, सामान खरिददेखि कार्यालय निर्माणको जिम्मा रवि आफैँँले लिए । अत्याधुनिक स्टुडियो निर्माण गरे । यतिसम्म कि आफ्नो कार्यक्रम ‘सिधा कुरा’का लागि बेग्लै स्टुडियो बनाए । शुरुमै १ सय ५० जना पत्रकार भर्ना गरे । विभिन्न सञ्चार माध्यममा काम गरिरहेका पत्रकारलाई दोब्बर तलब दिएर भित्र्याए । 

जिबीको परिवारका एक सदस्यका अनुसार रविले शुरुमै यस्तरी खर्च गरे कि मानौं जिबीसँग पैसा छाप्ने मेसिन छ । ती सदस्य भन्छन्, ‘टेलिभिजन जगतमा रवि नयाँ थिएनन् । कम्तीमा उनलाई नेपालको विज्ञापन बजारबारे थाहा थियो । सम्भावना र सीमाबारे पनि जानकारी थियो । त्यति धेरै लगानी उठ्दैन भन्ने त थाहा नहुने कुरै भएन । तर, थाहा पाएर पनि त्यसरी लगानी गर्न लगाउनुको अर्थ केही समय मोजमस्ती गरेर भाग्ने नै थियो । तर, यो कुरा हाम्रो जिबीले बुझेनन् ।’ रविले जिबीलाई शुरुमै एक अर्ब बढी लगानी गर्न लगाएका थिए ।

मासिक तलब मात्रै ५ करोड बाँड्ने गरी पत्रकार र कर्मचारी भर्ना गरेका थिए । रवि आफैँँले तोकेर औपचारिक रूपमाचाहिँ ५ लाख तलब, २ करोड पर्ने गाडी सुविधासहित जोड्दा महिनावारी ८ लाख रूपैयाँ लिने गरेका थिए । तर, उनले होटलमा गरेको खर्च, बाहिरी खर्च गर्दा मासिक १५ लाखमाथि पुग्थ्यो । नेपालको सानो विज्ञापन बजारले त्यति ठूलो खर्च धान्दैन भन्ने उनलाई थाहा थियो ।

जिबीका एक आफन्त भन्छन्, ‘उनी धेरै पढेका पनि होइनन्, अलिकति पैसा कमाए, त्यही पैसा देखेर रविले गलत सपना देखाए । यही नियत थियो भने ठिक्क खर्च गराउनुपथ्र्यो ।’ यतिसम्म कि काम नलाग्ने ससुरालीको एफएम पनि जिबीलाई किन्न लगाए । रविका ससुरा उद्धव पौडेलले चाबहिलस्थित गोपीकृष्ण हलमै स्थापना गरेको गोपीकृष्ण एफएमलाई किनेर ग्यालेक्सी बनाइयो । सम्पादक प्रशान्त अर्याललाई मासिक ५ लाख र गाडी दिइयो । 

रविलाई यो पैसा सबै सहकारीको हो भन्ने जानकारी थियो । जिबीको सबै अवस्था बुझेरै उनी टेलिभिजन खोल्न तयार भएका थिए । रविलाई सहकारीको पैसाको सीमा र सम्भावनाबारे पनि थाहा थियो । ती आफन्त भन्छन्, ‘उहाँको नियतमै खोट देखिन्छ ।’ रविको हाइफाइ कस्तो थियो ? त्यो जान्न दुईवटा दिनलाई सम्झे मात्रै पुग्छ, ११ फागुन २०७७ मा काठमाडौंस्थित तारे होटल मेरियटमा गरेको टिभी ल्याउने घोषणा कार्यक्रम र १५ असोज २०७७ मा काठमाडौंको अर्काे तारे होटल हायात रिजेन्सीमा गरिएको उद्घाटन कार्यक्रम ।

यी दुई कार्यक्रम यस्तो थियो मानाँै बहुराष्ट्रिय कम्पनी नेपालमा आइरहेको छ । एकै रात र कार्यक्रममा करोडौं खर्चिएको देख्दा त्यतिबेलै जिबीलाई उनका शुभेच्छुकले भनेका थिए, ‘यस्तो नगर्नुहोस्, सडकमा आउनुहोला ।’ तर जिबीको उत्तर हुन्थ्यो, ‘रवि सरको मार्केट कस्तो छ, थाहा छ नि, अब पूरा मार्केट कब्जा गर्छाैं ।’

टिप्पणीहरू