नाका छिचोल्दै कास्कीका गोरु विदेशतिर निरन्तर

नाका छिचोल्दै कास्कीका गोरु विदेशतिर निरन्तर
सुन्नुहोस्

कास्कीबाट वर्षौंदेखि गोरु तस्करी हुँदै आएको छ । अन्नपूर्ण गाउँपालिका–१ र पोखरा महानगरपालिका–२४ को सिमानामा पर्ने बनपाले भन्ने स्थानमा गोरु जम्मा पार्ने र ट्रकको ट्रिप पुगेपछि पूर्र्वीनेपालको झापातर्फ तस्करी हुने गरेको छ ।

यो सूचना पछिल्लोपटक पुस अन्तिम साता मात्र जानकारीमा आएको हो । रिभान चापाकोट, भदौरे र माछापुच्छ्रे गाउँपालिकाका विभिन्न वडाबाट गोरु संकलन गरी झापाको बोर्डर मेचीनगर–१२ तिर लगिने गरेको प्राप्त प्रमाणबाट पुष्टि भएको छ । पाँच वर्ष अघिबाट यो धन्दा भइरहे पनि यसबारे स्थानीय सरकार, प्रहरी प्रशासन कसैले जानकारी नभएको बताएका छन् । 

केही दिनअघि अन्नपूर्ण गापा–१ नाउडाँडाका दीपक सुनारलाई छाडा गोरुले आक्रमण ग¥यो । स्कुटरमा रहेका दीपक घाइते हुन पुगेपछि हान्ने गोरुको खोजी गर्दा बनपालेमा थुनेर राखेको गोरु फुत्केर आई आक्रमण गरेको खुल्यो । शुरुका वर्षमा बिनादर्ता गोरु ओसारपसार गर्दै आएकाहरूले गत वर्षदेखि भने स्थानीय पालिकामा व्यवसाय दर्ता गराई संगठित रूपमै गोरु संकलन र ओसारपसार गर्दै आएको पाइएको छ । त्यसका लागि झापाको मेची नगरपालिकामा सञ्जितकुमार मेचेको नाममा सञ्जित एण्ड जोसिम पशुजन्य वस्तु खरिद बिक्री केन्द्र नामक व्यावसायिक फर्म दर्ता गरिएको छ ।

उक्त संस्थाको नाममा कास्कीबाट गोरु पठाउन कागेश्वरी मनहरा ८ काठमाडौँ घर भएका केदारप्रसाद शर्माले अन्नपूर्ण गाउँपालिकामा सुगन्धित बहुउद्देश्यीय कृषि फार्म गत २०७९÷०८÷१९ को मितिमा दर्ता गराएको तर कृषि फार्मको नाममा दर्ता भए पनि यी दुई संस्थाको मुख्य काम गाई गोरु संकलन र ओसारपसार रहेको पाइएको छ । 

यस प्रकरणमा राजमार्गस्थित दर्जन बढी चेकपोस्टसमेतको बेवास्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । धन्दावालले कागज मिलाएर गरेको नीतिगत तस्करीमा प्रहरीदेखि राज्यका नियामक निकायको मौनता शंकास्पद छ । पालिकाले दिएको दर्ता कागज र पशु चिकित्सकले दिने भेटेनरी प्रमाणपत्र ओसारपसार धन्दाको लागि स्वर्ग बन्ने गरेको छ । 

यस कार्यमा पशु स्वास्थ्य तालिम केन्द्र पोखराका चिकित्सक गृष्म नेउपानेले सप्लायर्सलाई सहयोग पु¥याएका छन् । उनले सुगन्धित बहुउद्देश्यीय कृषि फर्मले संकलन गरेको २२ वटा गोरु सञ्जित एण्ड जोसिम पशुजन्य वस्तु खरिदबिक्री केन्द्र मेचीनगरको नाममा कागज बनाइदिएको पाइएको छ ।

उनले दिएको प्रमाणपत्रमा लोकल जातको गोरु भन्ने लेखिएको छ तर ती गोरु के प्रयोजनका लागि लगिने भन्ने खुलाएका छैनन् । तपाईंं सरकारी कर्मचारीले कसरी भ्याउनु भो फिल्ड गएर हेरी प्रमाणपत्र दिन भन्ने हाम्रो जिज्ञासामा उनले भने, ‘भिडियो हेरेर पनि भेटेरिनरी प्रमाणपत्र दिइन्छ’ । किन लगेको त झापा बोर्डरमा भन्ने प्रश्नमा उनले भने– स्वस्थ भए नभएको मात्र हाम्ले हेर्ने हो, अरु थाहा हुन्न । 

बगर प्रहरी पोखराका प्रमुख इन्स्पेक्टर बोधराज रेग्मी भन्छन्– ‘गोरु ओसारपसारबारे बल्ल थाहा पायाँै, अब निगरानी राख्छौँ ।’ गोरु संकलन तथा ओसारपसार कार्यमा अन्नपूर्ण गाउँपालिका–१ का सदस्य तथा होटल व्यवसायी खेम कँुवरले साथ दिँदै आएको स्थानीयले आरोप लगाएका छन् ।

– यदुनाथ बञ्जारा

टिप्पणीहरू