अब राजीनामा कसको आउला ?

अब राजीनामा कसको आउला ?
सुन्नुहोस्

अब राजीनामा क्याम्पस प्रमुखले हैन नैतिकताको आधारमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर अधिकारीले दिनुपर्ने चर्चा चल्न थालेको छ ।

दुई–दुई पटक क्याम्पस प्रमुखलाई हुत्याउने प्रयत्न विफल भएपछि कांग्रेस वृत्तमा यो चर्चा भुसको आगोसरि चल्न थालेको छ । लमजुङ सदरमुकाम बेसीशहरको त्रिविबाट सम्बन्धनप्राप्त मस्र्याङ्दी बहुमुखी क्याम्पसका प्रमुख हरिबाबु थापालाई हटाउन अध्यक्ष कृष्णबहादुर अधिकारीसहित केहीले चालेको कदमलाई उच्च अदालत पोखराले उल्टाइदिएपछि अधिकारी टोलीको नैतिकतालाई लिएर प्रश्न उठ्न थालेको छ । 

झण्डै तीन दशकदेखि क्याम्पस प्रमुख रहेका थापालाई हटाउन अध्यक्ष निकटकाले गत असोज १० गते सम्पन्न निर्वाचनमा उठेका पदम राउतलाई विजयी गराउन नसकेपछि उच्च अदालतमा हटाइपाऊँ भनेर रिट दायर भएको थियो । तर, उच्चले मसिर ६ गते उक्त रिट खारेजीसहित थापालाई नै पुनर्बहाली गराउन आदेश दिएको छ । थापा भेषबहादुर पौडेलका भेना पौडेल कोइराला पक्षधर कांग्रेस, हुन् भने अध्यक्ष अधिकारी देउवा खेमाका । त्यसै बीच क्याम्पस प्रमुख थापा सहकारी ठगी अभियोगमा मंसिर १८ गते पक्राउ परी जिल्ला अदालत लमजुङको आदेशबाट पुस ५ गते सात लाख धरौटी बुझाएर तारेखमा छुटे । 

यसैबीच, पुस १८ गते अध्यक्षले सञ्चालक समितिको बैठक बोलाए । १९ सदस्यीय समितिका निवर्तमान अध्यक्ष हरिप्रसाद बरालसहित केही सदस्यको अनुपस्थितिबीच बसेको बैठकमा अध्यक्ष अधिकारीले त्रिवि नियमावली र क्याम्पसको विधान ०४७ को परिच्छेद ६ को दफा ६.२ (ङ) अनुसार फौजदारी अभियोग लागेको व्यक्ति गरिमामय पदमा आसिन हुन नसुहाउने भन्दै अदालतबाट मुद्दाको फरफारक नहँुदासम्म थापालाई निलम्बनमा राख्ने निर्णय गरियो । यही निर्णयमा पनि उपस्थित सबैले सहमत जनाउन सकेनन् । उपाध्याय तथा एमाले जिल्ला कमिटी सचिव सुभाष पौडेलले त सो निर्णयविरुद्ध नोट अफ डिसेन्ट नै लेखे । अर्का सदस्य महेन्द्र शर्मा पौडेल, प्रेमबहादुर बस्नेतहरूले भने सही गरेनन् । 

०४७ सालमै एमालेले सदरमुकाममा क्याम्पस खोल्ने निर्णय गरेको थियो । त्यसको अगुवाइ गर्नेहरूमा गुमानसिंह अर्याल र बालकृष्ण बरालहरू थिए । क्याम्पस स्थापना पनि भयो । त्यो बेला बेंसीशहरका बालकृष्ण बराललाई अध्यक्ष बनाउन खोजिए पनि एमाले लमजुङका तत्कालीन नेता तिलकराज पाण्डेहरू सहमत हुन सकेनन् । फलतः जमिनदार कहलिएका तिलकबहादुर पौडेल अध्यक्ष बने विजय जोशीलाई क्याम्पस प्रमुख बनाइयो ।

तिनताका जिल्लामा कांग्रेसीको रजगज थियो । जिल्ला विकास समिति सभापतिमा शकरकान्त जोशी बेंसीशहर गाविस अध्यक्षमा रणबहादुर अधिकारी थिए । वामपन्थी विचारनिकट विजय जोशी टिक्न सकेनन् । पछि मधेसीमूलका गुप्तालाई क्याम्पस प्रमुख बनाइयो । हरिबाबु थापा टियुमा पढ्दै थिए । अध्ययनताका थापा अनेरास्ववियुको राजनीति नजिक मानिन्थे । जब तिलकबहादुर पौडेलको ज्वाइँ बने, आस्था फेरियो । अनि क्याम्पस प्रमुख बने । शंकरकान्तपछि ०५४ मा एमालेका जमिन्द्रमान घले सभापति बने जिल्ला विकास समितिको । उनले हरिबाबुकी श्रीमतीलाई जागिरे बनाए । पौडेल कांग्रेससँग नजिक भए । ०६० ताका शंकरकान्त जोशी क्याम्पसको अध्यक्ष बने, जमिन्द्रमान उपाध्यक्ष । यता, एमालेका घले र कांग्रेसका जोशीको मिल्ती असाध्यै राम्रो । 

यता, पौडेल खेमाका कांग्रेसीले नै सहयोग गर्छन् भन्ठानेर क्याम्पस अध्यक्षका लागि कांग्रेस जिल्ला सभापति कृष्ण कोइरालासँग भिडेका जमिन्द्रमान घले पराजित भए । स्थापनाकालदेखि हालसम्म न कुनै कांग्रेसइतरका मान्छे क्याम्पसको अध्यक्ष बन्न सकेका छन् न तीन दशकदेखि क्याम्पस प्रमुख नै फेरिन सकेका छन् । यही सहकारी ठगी प्रकरणलाई लिएर डण्डा चलाउने अध्यक्ष कृष्णबहादुर अधिकारीको योजनालाई पनि उच्च अदालतले पटक–पटक विफल पारिदिएको छ । पुस १८ गतेको बैठकले हरिबाबुलाई बर्खास्त र सहप्राध्यापक शालिकराम अधिकारीलाई क्याम्पस प्रमुखमा विधान ०४७ को परिच्छेदको दफा ६.१ (क) अनुसार नियुक्त गरेको भनिए पनि यही पुस २६ गते उच्च अदालत पोखराका न्यायाधीश मिलनकुमार राईको एकल इजलासले समितिको निर्णय कार्यान्वयन नगराउन आदेश ग¥यो । 

सञ्चालक समितिका केहीले थापालाई आर्थिक हिनामिना, मात्रै नभएर १५ महिनाको तलब सुविधा लिएको र अन्य नैतिक लाञ्छना लगाउन खोजे पनि पुष्टि हुन सकेको छैन भने अध्यक्ष अधिकारीमाथि जुन संस्थामा बसे पनि राम्रो गर्न नसकेको आरोप छ । खानेपानी होस् कि कालिका यातायात प्रालिमा होस् उनको अध्यक्षको कार्यकाल सफल नभएको बेंसीशहरबासीको बुझाइ छ । कांग्रेसको जुँघाको लडाइँले क्याम्पसको आगामी भविष्य मात्रै नभएर आगामी चैत १६–१७ गते हुने ९ औँ जिल्ला अधिवेशनलाई समेत धक्का लाग्न सक्ने देखिन्छ । 

– अञ्जनकुमार 
 

टिप्पणीहरू