महिलाको आँशुले पोल्दैन अख्तियार ?

महिलाको आँशुले पोल्दैन अख्तियार ?

‘पाप’ भन्ने कतै हुन्छ र ‘कराउँछ’ भने त्यसलाई लागिहालोस् भन्दै भक्तपुरकी रिता अहिले पनि दिनदिनै सुँक्सुँकाइरहेकी छन् । उनीमात्र हैन, एउटा मान्छेको जिद्धिमा अरुले पनि ज्यान गुमाए र तिनका परिवार ‘भगवान’ सँग भन्दैछन्, ‘उसलाई पनि त्यसरी नै लैजाऊ !’

‘पाँच सय मुद्दा लान्छु, भ्रष्टाचारीलाई ठेगान लगाउँछु’ भन्दै अख्तियारका तत्कालिन प्रमुख आयुक्त नवीन घिमिरेले विशेष अदालतमा सयौं मुद्दामात्रै लगेनन् । कतिपय हावादारी उजुरी नकेलाइदिँदा धेरैका घरमा आज पनि आँशुको धारा रोकिएका छैनन् । यसमध्ये एक हजार रूपैयाँ घुस खाएबापत ४२ दिन प्रहरी हिरासतमा थुनिएका कलंकी मालपोतका खरिदार रामहरि सुवेदीले आत्महत्या गरे ।

दाइ कृष्ण हालै उच्च अदालतको न्यायाधीश भएका छन् । उनकी पत्नी रिता बिहानै उठेर पहिलो प्रार्थना गर्छिन्, ‘उसको हालत पनि त्यस्तै होस् !’ पाँच सय मुद्दा पु¥याउने नाममा रामहरिको मात्रै प्राण गएन, नवीनलाई ‘तपाईं दुई सय वर्ष बाँच्नुस्’ भन्दै उदयपुरका हरि आचार्यले पनि मृत्यु रोज्न पुगे ।

कलंकी मालपोतमै कार्यरत रहँदा हरि आचार्य भ्रष्टाचार मुद्दामा परे । अनाहक अख्तियारले दुःख दिएको पीडामा दुई पृष्ठ लामो ‘सुसाइड नोट’ लेखे । उनको शव उदयपुरको त्रियुगा नगरपालिका–९, रातमाटेस्थित शिखरकट्टेको जंगलमा भेटियो । यसरी नै ज्यान फाल्न बाध्य पारिए, पूर्वनासु युक्तप्रसाद श्रेष्ठ । बालुवाटारस्थित बहुचर्चित ललिता निवास प्रकरणमा मुछिएका उनी ०५८ सालताका डिल्लीबजार मालपोतमा थिए । त्यही नाममा उनलाई मुद्दामा मुछियो । फलतः माछापोखरीस्थित हिमालय सिटी सपिङ सेन्टरको आठौं तलाबाट हामफालेर प्राण त्यागे । 

यसरी सानो दर्जाका कर्मचारी, थोरै पैसाको कसुरमा ज्यान गुमाउने हदको काम भइरहँदा सिक्टा सिँचाइ आयोजनामा दुई अर्ब १३ करोड रूपैयाँ भ्रष्टाचार गर्ने पूर्वमन्त्री विक्रम पाण्डेसहित १२ जनाले सफाई पाए । पैसाको प्रभावमा फैसला सुनाउँदै विशेष अदालतले मान्छे हैन, सिक्टाको माटो र पानी नै दोषी हो भनिदियो । 

मुद्दाको संख्या पु¥याउने नाममा परेका उजुरीको राम्रोसँग छानवीन नगर्दा के हुन्छ भन्ने कुरा माथिका घटनाले देखाउँछ । त्यसमाथि मुद्दाको पसल थापेर एउटा सामान्य मुद्दालाई वर्षौं तन्काउने, बजारभरि बिचौलिया छाडेर रकम असुली गर्ने नियतमा अदालत लागेपछि ज्यालादारी जिन्दगी गुजारेका मान्छेहरू के भए होलान् ? कल्पनामात्रै गर्न सकिन्छ । विशेष अदालतमा श्रीकान्त पौडेल नेतृत्वको बेञ्चले मुद्दा लम्ब्याउँदै धेरैलाई दुःख दियो, त्यसमाथि अख्तियारमा नवीन घिमिरे, लोकमान र दीप बस्नेतहरूको ज्यादती चलिरह्यो ।

तर, अहिले स्थिति फेरिएको छ । वीरगञ्जस्थित एउटा विद्यालयको २०–२५ वटा लगाउ मुद्दामा एकै दिन बहस सकाएर सबै दोषी ठहरिएका छन् । यसप्रकार अध्यक्ष टेकनारायण कुँवर नेतृत्वको टिमले आजकल एकैदिन २०–२५ वटा छिन्ने स्थिति बनेको छ । पुस महिनामा मात्रै त्यहाँबाट ९१ थान मुद्दा छिनियो । जबकि, महिनामा ३४ थान मुद्दा छिने पुग्छ ।

अहिले त्यहाँ अकुत सम्पत्तिसम्बन्धी तीन सय मुद्दा छन् । यो रफ्तारमा मुद्दा किनारा लाग्दै जाने हो भने असारसम्म शून्यमा आउँछ कि भन्ने अनुमान पनि गरिँदैछ । त्यसमाथि अख्तियारले मुद्दा कम लगेको छ । लगे पनि तीन हजार, चार हजार घुस रिश्वतका मुद्दा मात्रै । असोजदेखि विचाराधीन एअरपोर्ट निर्माणमा अर्बाैं लुटका हाकिमहरूलाई चलाउन अख्तियारले लगलग खुट्टा कमाइरहेको छ ।

न्यायाधीशहरू भन्छन्, ‘यति सानो कुरामा सम्बन्धित कर्मचारीलाई त्यहीँ कान समातेर उठबस गराए हुन्छ । पैसा पीडितलाई फिर्ता गरिदिए हुन्छ ।’ तर, एउटा मुद्दा बनाएर विशेष अदालत पु¥याउँदा १० लाख रूपैयाँ खर्च हुन्छ । कसुर चार हजारको, मुद्दाको खर्च १० लाख ! उता, सम्पत्ति शुद्धिकरणले लगेका २० वटा मुद्दामध्ये अब तीन–चार वटा बाँकी छ ।

टिप्पणीहरू