चौधरीको दिउँसै रात पार्ने फेरि अर्को चर्तिकला

चौधरीको दिउँसै रात पार्ने फेरि अर्को चर्तिकला
सुन्नुहोस्

पहिला पाएको अनुदान भुस बनाउन हत्तपत्त इजाजतपत्रको अवधी गुजार्ने, पछि त्यो कायम गरिपाऊँ भन्दै हारगुहार गर्ने । विनोद चौधरीको सिजी टेलिकमले सञ्चार मन्त्रालयमा यस्तो रमिता देखाइरहेको छ । 

सन् २००३ नोभेम्बर २१ मा आरटिएस–इडिआर ०१ नम्बरको ग्रामीण दूरसञ्चार सेवा अनुमतिपत्र पाएको सिजीले सन् २०२३ को डिसेम्बर १, अर्थात् गत मंसिर १५ मा गुमायो । दूरसञ्चार नियमावली– २०५४, नियम १२ को उपनियम २ बमोजिम तीन महिनाअघि दस्तुर संकलन गरी निवेदन दिनुपर्नेमा अवधी सकिएको झण्डै एक महिना पुग्न लागेपछि, अर्थात् पुस ८ गतेमात्रै निवेदन दियो । तर, पुसको २ गते नै दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र स्वतः खारेज भएको जानकारी दिइसकेको थियो ।

दूरसञ्चार ऐन– २०५३, दफा २५ को ५ अनुसार रद्ध भएको अनुमतिपत्र सोही ऐनको दफा २८ बमोजिम खारेज भएमा ३५ दिनभित्र नेपाल सरकारलाई उजुरी दिने व्यवस्था छ । दफा ३५ को ५ अनुसार सिजी टेलिकमले पुस २२ गते बल्ल निवेदन दिएको छ । उक्त टेलिकमलाई विश्व बैंकसँग ऋण सहयोग लिएर उपलब्ध गराइएको एक करोड १८ लाख ६५ हजार अमेरिकी डलरको हिसाब पेश गर्न भनिँदा पैसा पचाउनका निम्ति अनुमति पत्र नै नवीकरण भएको थिएन ।

अहिले झुक्किएको कारणले स्वतः खारेजीमा परेको भन्दै उक्त कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासमक्ष पुनरावेदन गरेको हो । तर, कानुनतः उसले अनुमति पत्रको नवीकरण गर्न पाउने व्यवस्था छैन । नवीकरण गर्नका निम्ति अवधी सकिनुभन्दा तीन महिनाअगावै दस्तुरसहित निवेदन दिनुपर्नेमा अवधी सकिएर, स्वतः खारेजीको निर्णय भइसकेपछि मात्रै उक्त टेलिकम दूरसञ्चार प्राधिकरण पुगेको छ । स्वतः खारेज भएको अवस्थामा पुनरावेदन गर्न पाउने व्यवस्था छैन । यदि दस्तुरसहित तीन महिनाअघि ऊ प्राधिकरण पुगेको र त्यस्तो स्थितिमा पनि अनुमतिपत्र नवीकरण नभएको भए मात्रै पुनरावेदन गर्न पाउने हो । 

अनुमतिपत्र खारेज हुने दुई अवस्था छन् । पछिल्लो दफामा कानुनको पालना नगर्ने, सेवा सुचारु नगर्ने भएमा प्राधिकरणले त्यस्तो कम्पनीलाई पहिला सूचना दिनुपर्ने हुन्छ । सूचना गरेको अवधीमा पनि सुधार नगरे लाइसेन्स खारेज गर्ने व्यवस्था छ । त्यस्तो निर्णयमाथि चित्त नबुझे मन्त्रालयमा पुनरावलोकन गर्न पाइन्छ । तर, अघिल्लो दफाअनुसार समयमै नवीकरण नगरेको स्थितिमा पुनरावेदन लाग्दैन । त्यसैले एउटा दफाको प्रावधानका आधारमा सिजीको अनुमतिपत्र खारेज भएको छ, अर्कै दफाका आधारमा पुनरावेदन गर्न पुगेको छ । 

त्यसमाथि यही बेला प्राधिकरणको नेतृत्वदेखि मन्त्रालयको सचिवसम्म फेरिएका छन् । मोबाइल डिभाइस म्यानेज्मेन्ट सिष्टम (एमडिएमएस), टेरामक्सलगायतका प्रणालीको खरिदका क्रममा अनियमितता भएकोबारे अख्तियारले छानवीन अगाडि बढाइरहँदा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पुसको अन्तिम साता राजीनामा दिए ।

यो अवस्थाको फाइदा उठाउँदै चौधरीहरू प्रधानमन्त्रीकहाँ धाएर मन्त्रीलाई दबाब दिन लगाउने र सचिवलाई पनि हायलकायल पार्ने काममा सक्रिय छन् । एकातिर सिजी टेलिकमको अनुमतिपत्र नवीकरण नगर्नेबित्तिकै विश्व बैंकको अनुदान पचाइने, अनुमतिपत्र नवीकरण गर्दा कानुनविपरितको काम हुने अवस्था छ । 

अर्कातिर, प्राधिकरणको अध्यक्षबाट राजीनामा दिएका पुरुषोत्तमले एमडिएमएसका विषयमा प्रधानमन्त्रीलाई समेत झुक्याएको बताइन्छ । भन्सारमा दर्ता नभएका मोबाइलको सेवा आफैं बन्द हुने प्रविधि सञ्चालन गर्ने नाममा त्यसरी झुक्याइएको हो । उनले पहिला सबै सामान आयो, जडान पनि भैसक्यो भनेका थिए । तर, पछि बुझ्दै जाँदा न सबै सामान आएको रहेछ, न त जडान नै भएछ ।

विदेशबाट उपहारका रूपमा ल्याइने वा आफैं प्रयोग गर्नका निम्ति ल्याइने मोबाइल सेट नेपाल छिराएपछि अनिवार्य रूपमा कर तिर्नुपर्ने कुराले यो विषय भन्सारसँग जोडियो । पछि गृहसँग बुझ्दा चलाइरहेको सहित थप एउटा मोबाइल ल्याउन पाइने व्यवस्था भएको रहेछ । जे–जस्तो भए पनि कर नतिरी भिœयाइएका मोबाइलको सेवा स्वतः अवरुद्ध हुने गरी काम थालौं भन्दा त्यसको सामान नै आएको रहेनछ ।

यसबीच प्राधिकरणले एनसेल र एनटिसीलाई ‘यो नम्बर ब्लक गर्नुप¥यो’ भनेर काम चलाइरहेको थियो । सिष्टमले आफैं बन्द गर्ने र खोल्ने काम गर्छ । तर, त्यो काम प्रधानमन्त्रीका कारण रोकियो भनेर अन्तर्वार्ता दिँदै हिँड्ने काम भयो । खरिद गरिएको भनिएको त्यस्तो उपकरण नेपाल त भित्रिएको छैन । तर, कतै वीरगञ्ज भन्सारले लिलाम पो गरिसक्यो कि भन्ने शंका जन्मिएको छ । त्यसमाथि खरिदमा पनि बदमासी भेटिएको बताइन्छ । 

टिकटक बन्द गर्ने क्रममा पनि यस्तै भयो । पुरुषोत्तमले ३६ घण्टाभित्र सम्पूर्ण रूपमा बन्द गर्न सक्छौं भने । तर इन्टरनेट सेवा प्रदायक संस्था (आइएसपिएन) हरूको कमाण्ड उनीहरूको नियन्त्रणमा थिएन । अर्थात्, सबैलाई भन्नको निम्ति पहुँच प्राधिकरणसँग नै रहेनछ । अनि, टेरामक्स काण्डमा त अख्तियार नै लागिरहेको छ । प्राधिकरणको यो लापरवाहीको दोष सञ्चार सचिवका हैसियतले कृष्णबहादुर राउतको थाप्लोमा आउन थालेपछि उनी छोडेर जान पाए हुन्थ्यो भन्नेमा थिए । 

एकातिर दूरसञ्चार प्राधिकरणमा पैसा धेरै छ र मनखुशी बाँडिएको छ । भएका कर्मचारी ठाडो निवेदनले आएका छन् । त्यसो गर्दा सबै कर्मचारी कसै न कसैका नातेदार हुने नै भए । यस्तोमा व्यवसायिक दक्षताको कमी हुनु स्वाभाविकै हो । स्वायत्त संस्था हो, नियमनकारी निकाय हो भन्ने त सबैले बुझेका छन् । अब त थप के बुझ्दा हुने भयो भने, यो जे गर्दा पनि हुने छाडा संस्था हो ! त्यहाँ प्रधानमन्त्रीदेखि मुख्यसचिवसम्मका मान्छे छन् ।

यसले खरिद आफ्नै विधि बनाएर गर्छ, काम पनि आफैं गर्छ । त्यसरी काम गर्दा पैसा बढी नै लगानी गर्ने गरिएको छ । जस्तो– वाह्य टेलिफोनको ट्राफिक र नेटवर्क निगरानी एवं फ्रड व्यवस्थापनका लागि चाहिने टेरामक्स दूरसञ्चार सेवा प्रदायक कम्पनीले नै राख्ने हो ।

प्राधिकरणले त सेवाप्रदायकहरूलाई यो–यो उपकरण राख भनी मापदण्ड बनाइदिनेसम्म हो । तर, प्राधिकरणले ‘हामीले नै राख्नुपर्छ, हामीले नै नियमन गर्न पाउनुपर्छ’ भन्दा अहिले अख्तियारमा झोसिएको छ । त्यसो गर्दा कर संकलन प्रभावित हुन्छ । मन्त्री आएपिच्छे नयाँ–नयाँ प्रपोजल बनाउने, कुरा बुझ्न समय लाग्ने नै भयो । बुझिसक्दा मन्त्री फेरिने र फेरि नयाँ मन्त्री आएपछि त्यही सिलसिला दोहो¥याउँदै ठूलो आर्थिक घोटाला हुन थाल्यो भनिन्छ ।

त्यस्तै, सरकारी स्वामीत्वको नेपाल टेलिकममा सिमकार्ड आयातको अर्को चटारो छ । यसमा नाहाटा र घिमिरे गरी दुई कम्पनीले काम गर्दै आएका थिए । उनीहरूमाथि आयात र गुणस्तर कायम गर्ने विषयमा मनपरी गरेको भन्दै दूरसञ्चारले समयमा भुक्तानी नदिएको निहुँमा आयातलाई ठप्प पारेको बताइन्थ्यो । तर, २० दिनदेखि एक महिनाभित्र सबैको भुक्तानी भइरहेको बताइन्छ । मन्त्रालयले भनेको छ– मूल्य र गुणस्तरमा सम्झौता हुनसक्दैन । यदि त्यस्तो भयो भने त्यो अख्तियारले छानवीन गर्ने विषय बन्नसक्छ ।

अनि, यस्तो खरिद प्रक्रियामा जानीजानी नेपालीलाई बाहिर राखिँदै आएकोमा पनि आपत्ति जनाइएको छ । अहिले मन्त्रालयले भनेको छ– सिमकार्ड आयातका निम्ति नेपाली कम्पनीलाई बाइपास नगरी टेण्डर गर्नु । मूल्य र गुणस्तर मिलाउने भए नेपालीलाई पनि दिनु ।

३० करोड हारहारीको सिमकार्ड उपलब्ध गर्नुपर्नेमा अहिले कुरा अलि बाझिएजस्तो बुझिन्छ । आयातकर्ताको कुरा सुन्दा उनीहरू नै पीडामा परेका हुन् कि जस्तो लाग्ने, टेलिकमको कुरा सुन्दा ऊ नै बढी दबावमा परेको हो किजस्तो लाग्ने । यसबीच, आयातकर्ताहरू मिडिया, संसद, मन्त्री, अख्तियारदेखि सबैतिर पुगेका छन् ।

नेपाल टेलिकमले ऐनअनुसार आयातकर्तालाई प्रतिस्पर्धामा सहभागी भई सस्तोमा खरिद गर भनेको हुन्छ । चिनियाँहरू दररेट थोरै कबुल गर्न डराउँदैनन् । र, सामान पनि तुरुन्तै ल्याइहाल्छन् । हुवावेइले एनसेलमा दिएको त्यही सिम गुणस्तरीय हुने, त्यहीँको सिम नेपाल टेलिकममा भने कम गुणस्तरको हुने अवस्था छ । 

टिप्पणीहरू