खासमा छ चाहिँ कसलाई त सुरक्षा खतरा

खासमा छ चाहिँ कसलाई त सुरक्षा खतरा
सुन्नुहोस्

एकातिर खर्च कटौतीका नाममा तल्लो दर्जाका कर्मचारीले खाइ–पाइ आएको सेवा, सुविधा खोसिन्छ, अर्कोतिर पूर्वपदाधिकारीको मर्यादा राख्ने नाममा राज्यमाथि आर्थिक भार बढेको बढ्यै छ । कतिसम्म भने पूर्वपदाधिकारीले राज्यबाट कति र कस्तो किसिमको सेवा–सुविधा पाइरहेका छन् भन्ने यकिन तथ्यांकसमेत सरकारसँग छैन । 

देशमा सुशासन कायम गर्न राजनीतिक नेतृत्वसँग नैतिक बल हुनुपर्छ । राज्यकोषबाट पहुँचका आधारमा जथाभावी सेवा–सुविधा लिने नेताले सुशासन दिने नैतिक सामथ्र्य राख्दैनन् । यसैकारण सुशासन र समृद्धिका नारा फगत चुनावी गफमा सीमित भइरहेको छ । पूर्वविशिष्ट पदाधिकारीले राज्यबाट पाउने सवारी, सुरक्षालगायत सुविधाबारे प्रष्ट कानुनी व्यवस्था छ । तर, ‘आफ्नो हात जगन्नाथ’ गर्ने प्रवृत्तिका कारण कानुनविपरीत पहुँच हुनेले जति पनि लिइरहेको देखिन्छ ।

जनताले कर तिरेको पैसाबाट सरकारी सुविधामा यतिसम्म ब्रह्मलुट भइरहेको छ कि, केही पूर्वप्रधानमन्त्रीका घरमा दर्जनौँ महँगा गाडी घाम तपाएर राखिएको छ । तेस्रो पटक देशको कार्यकारी प्रमुख हुनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली महँगा सरकारी गाडी चढ्नेमा पर्नुहुन्छ । ओलीको घरमा मात्रै ५ देखि ७ वटा गाडी रहेको बताइन्छ । 

सरकार बनाउने र गिराउनेदेखि राज्यका निकायमा जबर्जस्त प्रभाव पार्नसक्ने ठूला दलको प्रमुखसमेत रहेका यी तीन नेताले रोजीरोजी महँगा गाडी चढ्दा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधव नेपाल र डा.बाबुराम भट्टरार्ई भने स्कोर्पियो चढ्नुहुन्छ ।

मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई पनि स्कोर्पियो नै छ । सवारी सुविधामा पूर्वप्रधानमन्त्रीबीचमै एकरूपता नहुनुले पनि बिना कुनै मापदण्ड आफूखुशी गरेको प्रष्ट हुन्छ । पछिल्लो पटक प्रधानमन्त्रीबाट हटेपछि केपी ओलीले बालुवाटारबाट बाहिरिँदा सवा ३ करोड दरका दुइटा सेता गाडी बालकोट लैजानुभएको थियो ।

देउवाले प्रधानमन्त्रीबाट अघिल्लोचोटी हट्दा ४७ जनाको सुरक्षाजत्था लिएर निस्किएको र आरजुसहित छोरा जयवीरका लागि छुट्टै सेक्युरिटी लिनुभएको हो । अर्कोतिर, विभिन्न परियोजनाका महँगा गाडी पनि मिलाएर ठूला नेताले चाहनेबित्तिकै उपलब्ध हुने गर्छ । त्यस्तै, नेतालाई खुशी बनाउन बिचौलिया, डन र विभिन्न उद्योगी, व्यवसायीले महँगा गाडी टक्र्याउने गरेका छन् । 

नेपालमा चारथरी मान्छेले महँगा गाडी चढ्ने गरेको देखिन्छ । उदाहरणका लागि डन भनेर चिनिएका एमाले भ्रातृ संगठन युवा संघका उपाध्यक्ष अमित लामाले भिए–८ गाडी चढ्छन् । कुनै उद्योग, व्यवसाय नगरेका उनले नेतालाई खुशी तुल्याएरै करोडौँ पर्ने महँगो गाडी चढ्ने हैसियत बनाएका हुन् । हैन भने उनले राज्यलाई कति कर तिरिरहेका छन् सार्वजनिक गर्न सक्नुपर्छ । त्यस्तै, धर्मगुरुका नाममा सुख सयलको जीवन जिइरहेका रामबहादुर बम्जन जस्ता ढोंगीहरूले पनि महँगा गाडी चढेका छन् । ‘लिटिल बुद्ध’ भनेर प्रचारित उनको आश्रमबाट प्रहरीले करोडौँ पर्ने टोयोटाको हाइलक्स गाडी बरामद गरेको थियो ।

उनले अर्को गाडी किन्न साढे चार करोड रूपैयाँ नगद पेश्की बुझाएको पनि प्रहरीले फेला पारेको थियो । कमल नयनाचार्यजस्ता जोगी नेपालमा हैसियतका साथ बसिरहेका छन् । त्यस्तै, जो सत्तामा पुग्यो उसैको निकट हुने दीपक भट्ट, दीपक तिमिल्सेनाहरू पनि महँगा गाडी चढ्नेमा पर्छन् । बिडम्बनाचाहिँ दलाल पुँजीवादको विरोध गर्ने नेता यिनैले दिने गाडी चढेर उनीहरूकै वरिपरी नाचिरहेका छन् ।

सवारी सुविधामा राज्यकोषमा जथाभावी गरेका ठूला नेताले सुरक्षाका नाममा पनि त्यसैगरी मनलाग्दी गरेको देखिन्छ । सान–सौकत देखाउन गाडीको लाइन लगाएर बाटो खालि गर्दै दरबारिया शैलीमा गरिने भिआइपी सुरक्षाको ढाँचा गणतन्त्र आएपछि झन् बढेको छ । खासमा भिआइपीहरूमाथि खतरा विश्लेषण गर्ने सुरक्षा निकायले हो । तर, रातो बत्ति बाल्दै अगाडि–पछाडि गाडीको लाइन लगाएर हिँड्नुपर्ने सामन्तवादी सोच र चिन्तनका कारण विश्लेषण गर्नेहरूले भनेअनुसार नीति तय गरिँदैन । सुरक्षा मामिलाका विज्ञहरू यसलाई ‘इम्प्रेसन’ दिन गरिएको तामझाम हो भन्छन् । जबकि अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि व्यक्तिको वरपर सेक्युरिटी खटाउने गरिँदैन । ‘सिभिल ड्रेस’का कर्मचारी खटाइन्छ । ताकि आममानिसले सेक्युरिटी हो कि हैन भन्ने थाहा नपाओस् । 

विगतमा राजा र उनको परिवारका सदस्यहरूलाई त्यसै गरिन्थ्यो । के उनीहरूलाई साँच्चै सुरक्षा खतरा भएर हो त ? होइन । राजा ठूलो भएकाले यस्तो गर्नुपर्छ भन्ने देखाउन त्यसरी नक्कलझक्कल गरिएको मात्र हो । नत्र, अहिले त्यही मान्छे हो, पूर्वराजा ज्ञानेन्द्र शाह निस्फिक्री कसरी हिँड्न मिल्यो ? उनको सुरक्षामा खट्ने सेनासमेत झिकेर सशस्त्रको १७ जनामा झारिएको छ । त्यसमा पनि उनले सबै लिएर हिंड्दैनन् । दुई–चार जना पिएसओ लिएर हिँड्दा अहिले सुरक्षा खतरा नहुने अनि राजा भएका बेला त्यत्रो तामझाम गर्नुपर्ने किन ? ज्ञानेन्द्र हिँडिरहेको जुलुस र केपी ओलीको मध्य पहाडी लोकमार्गको यात्रा हेर्दा धेरैकुरा छर्लंग हुन्छ ।

ओलीलाई पहिचानवादीहरूले आक्रमण गर्छन् भनेर सयौंको संख्यामा प्रहरी दिइएको थियो । उनलाई आक्रमण भएको भनिएको ठाउँमा त डिआइजीहरूसमेत सँगै थिए । जबकि ज्ञानेन्द्र सहभागी राजावादीहरूको जुलुसमा भने त्यस्तो देखिएन । भिआइपी सुरक्षाबारे जानकार एक जना जर्नेल भन्छन्– तर्कपूर्ण कारण देखाएर भिआइपीहरूले सुरक्षा लिने कुरा स्वभाविक हो, तर बाटोमा गएर आफैँं ढुंगा हान्ने अनि मलाई सुरक्षा खतरा भयो भन्नचाहिँ मिल्दैन । नेताप्रति नागरिकमा चर्कंदो असन्तुष्टिको राजनीतिक तवरले सम्बोधन गर्नुपर्नेमा सामाजिक सञ्जालमा भएका टिप्पणी र कसैले कालोझण्डा देखाएकै कुरालाई सुरक्षा खतरा छ भन्न नमिल्ने उनको तर्क छ । 
 

टिप्पणीहरू