पाखेले ठूलो राज्य बनाउन खोजे, सकेनन्

पाखेले ठूलो राज्य बनाउन खोजे, सकेनन्

‘वैद्यको छोरी गलगाँड, ज्योतिषीको छोरी राँण’ भनेको मै हुँ, मसँग इतिहास सोध्न आउनेहरूले धोका पाउँछन् । आफूसँग नेपाली इतिहासका विषयमा जिज्ञाशा राख्न पुगेकाहरूलाई ठट्टैठट्टामा यस्तो जवाफ फर्काउँछन् प्रा. दिनेशराज पन्त । कारण रोचक छ, आफ्नै पुस्ताको (बराजु) कलानिधिभन्दा माथिको बारेमा उनीसँग जानकारी नहुनु तर राजा/महाराजा, शासक/प्रशासकहरूका जन्म, विवाह, मृत्युसम्मको तिथि मितिसम्म कण्ठाग्र हुनु ।

जीवनका चार दशक प्राध्यापन, दुई कार्यकाल नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ रहेर अहिले निवृत्त जीवन बिताइरहेका ७४ वर्षीय पन्त नेपाली इतिहासको अध्ययन, अनुसन्धान र उत्खननका हकमा ‘विकिपिडिया’ नै हुन् । कुनै विद्यालय वा विश्वविद्यालयबाट औपचारिक शिक्षा नलिई स्वर्गीय नयनराज पन्तद्वारा स्थापित ‘संशोधन मण्डल पद्धति’का विद्यार्थीसम्म हुन् । उनैको मार्गनिर्देशनमा दुई दर्जनभन्दा बढी विद्यार्थीले पिएचडी गरिसकेका छन् । जसरी नेपाली इतिहासकारको रुपमा चितरञ्जन नेपाली, डिल्लीरमण रेग्मी, बाबुराम आचार्य, पुरुषोत्तमसमशेर जबराको नाम आउँछ, उसैगरी उनका पिता नयराज, दाजु महेशको नामसमेत चर्चित छ । पछिल्लो समय इतिहासको बांगो व्याख्या गर्ने प्रवृत्ति बढेकोप्रति चिन्ता पोख्छन् यी विद्वान् । हालसम्म उनका ४२ पुस्तक प्रकाशित छन् ।

– हरि गजुरेल

० शुक्रवार मात्र ३०२ औं राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती मनाइयो । यो दिवसको शुरुवात कसरी भयो ? 

– २००७ सालमा प्रजातन्त्र आएपछि नरहिरनाथको अगुवाईमा पृथ्वीजयन्ती मनाउने काम शुरु भएको हो । कहिले पुरातत्व विभाग, कहिले गाउँफर्क त केही समयदेखि नेपाल प्रज्ञा प्रतिष्ठानले मनाउन थालेका हुन् । नरहरिनाथ आदिले गुण तथा दोषको आधारमा भन्दा सन्त सुखायले मनाएका हुन् । गणतन्त्र आएपछि उनका सन्तानलाई त हामीले हटायौं, शालिक पनि फुटायौं । दिवस मनाउन छाड्यौं ।

यो कुनै विचारपूर्वक गरिएको कर्म थिएन । जसरी ललितपुरको गुसिङ्गाल (कुपण्डोल, हनुमानस्थान) का मान्छेले आजभन्दा अढाई सय वर्षअगाडि थापाथली र उता थापाथलीका मान्छेले कुपण्डोलको ऐश्वर्य भोग गर्न पाउँदैन थिए । आज जुनसुकै तह र तप्काका नेपालीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको ऐश्वर्य भोग गर्न पाएका छन् । यसमा पृथ्वीनारायण शाहको देन छ कि छैन ? संसारकै नियम हो, व्यवस्था परिवर्तन हुन्छ । तर, त्यसो हुँदैमा पृथ्वीनारायण शाहलाई दुत्कार्न, उनको शालिकमा थुक्न मिल्छ ? 

० कसरी मनाइनु पर्दथ्यो एकता दिवस ? 

– पृथ्वीनारायण शाहको शालिकमा थुक्नका लागि पनि त नेपाल चाहिएला नि ! उनीपछि जो शासक आए ती आफ्नो योग्यताले मात्रभन्दा पनि अरुको अयोग्यताका कारण आएका हुन् । पृथ्वीनारायण शाह कुनै एउटा पार्टी र धर्मले उठाउने व्यक्ति÷चिज होइनन् । लिच्छविकालमा नेपाल स्वतन्त्र थियो, विभिन्न कारण टुंगियो । वि.सं. १७७९ पुस २७ गते पृथ्वीनारायण शाह जन्मँदा यस भूभागमा स–साना ५२ वटा राज्य थिए । त्यसमध्ये गोर्खा कमजोर थियो । एकीकरणको प्रयास पृथ्वीनारायणभन्दा अगाडि यक्ष मल्ल र मुकुन्द सेनहरूले पनि गरेकै हुन् । केही सफल भए, केही भएनन् । पृथ्वीनारायणको नीतिज्ञताका कारण आज हामी नेपाली हुन पाएका छौं । उनलाई एक दिन या एक हप्ता मनाएर पुग्दैन, हुँदैन । 

० पृथ्वीनारायण शाहलाई कीर्तिपुर विजय गर्नका लागि तीन पटक आक्रमण गर्नुपरेको देखिन्छ । यति सकस पर्नुको कारण के रहेछ ? 

– वि.सं. १८०० आश्विन १५ मा उनले जिते नुवाकोट । जहाँबाट काठमाडौंको दूरी जम्मा साढे सात कोश छ तर यति दूरी पार गर्ने २५ वर्ष लाग्यो । कीर्तिपुरमाथि विजय हासिल गर्न गाह्रो पर्नाको कारण किल्लाको व्यवस्था थियो । १८२५ मा कान्तिपुर जिते जबकि १८२२ को आसपास शोभाभगवतीसम्म आइसकेका थिए । कारण हो फेरि पनि किल्ला । अहिलेको वीर अस्पताल, रानीपोखरी, टँुडिखेल सबै किल्ला बाहिरका हुन् । पृथ्वीनारायणले धनजनको क्षति कम गर्न खोज्ने हुँदा पनि त्यस्तो स्थिति भएको हुन सक्छ । प्रत्यक्ष अप्रत्यक्षरुपमा कीर्तिपुरे बलिया थिए । कीर्तिलक्ष्मीजस्ता वीरांगना पनि थिए । धेरै कष्ट अनुभूतिका साथ विजय हासिल भएका कारण तिनको नाक काट्न पुगेको हुन सक्छ । 

० पृथ्वीनारायण शाहले कीर्तिपुरवासीको १७ धार्नी नाक काटेको विषयमा विवाद छ । खास तथ्य के हो ? 

– १८२२ चैत ३ गते कीर्तिपुर जिते । २७ गते नाक काटे । स्वयं पृथ्वीनारायण शाह पनि यो कुरा लुकाउन चाहँदैनन् । वि.सं १८२७ मा पृथ्वीनारायण दरबारिया कवि ललितावल्लभले लेखेको काव्यमा कीर्तिपुरमा नाकादी काटे भनिएको हो । वंशावलीमा भने १७ धार्नी लेखिएको छ । १८२६ माघ १ ले भक्तपुर जितेपछि पादरीलाई यहाँबाट निकाले र ती भारतको बिहारतिर पठाइए । तर, इतिहासलाई इतिहासकै रूपमा हेर्ने मान्छेले त्यसरी व्याख्या गरेको पाइँदैन । यसरी नाक नकाटी दिएको भए सुनमा सुगन्ध हुन्थ्यो । तीन पटकको प्रयासपछि मात्र जित्दा जोश आयो होला । उनकै पालाका विजेताहरूले कस्तो क्रुर व्यवहार गरेका थिए भन्ने तथ्य पनि अध्ययन हुनुपर्ने हो । हालै सुरेश आले मगरले पृथ्वीनारायण शाहले १८ धार्नी नाक काटेको भनेर लेखेको पढेँ । किन १८ धार्नीमात्र, तीन गुणा बढी अर्थात् ५४ धार्नी लेख्या भए हुने नि ?

० एकथरी भन्छन्, इतिहासकारहरूले वीरांगनाको भूमिकालाई इतिहास लेख्दा अवलम्बन गरे, अर्काथरीबाट पृथ्वीनारायण शाहको अभियानलाई न्यूनीकरण गर्ने गरी महिला पात्र (कीर्तिलक्ष्मी)को चर्चा हुन थाल्यो । खासमा कीर्तिपुर विजय गर्दा पृथ्वीनारायण शाहसँगै जोडिने कीर्तिलक्ष्मी मिथक हुन् वा वास्तविक ? 

– प्राचीन हाम्रा वंशावलीमा पनि कीर्तिलक्ष्मीबारे केही उल्लेख छैन । कीर्तिलक्ष्मी पछिल्लो समय अलिकति कल्पना गरिएको पात्र पनि हुन सक्छ । पृथ्वीनारायण शाहसँगै अन्तिम समयसम्म लड्ने वीरांगनाको रूपमा उनलाई अगाडि सारिएको पाइन्छ । पृथ्वीनारायणले हाम्रो राज्य खाइदिए भनेर मधेशका मान्छेहरूले भन्छन्, तामाङलगायतका अन्य बन्धुहरूले पनि यसै भनेको सुनिन्छ । 

० नेपालका इतिहासकारहरूले विगतलाई बंग्याउने काम कत्तिको गर्छन् ? 

– हाम्रोमा इतिहासको स्रोतसम्म पुगेर लेख्ने, हेर्ने, पढ्ने बानी नै भएन । न त यसमा योग्यता नै देखियो !

० कीर्तिलक्ष्मीको सवालमा पनि इतिहासकारहरूले तथ्य बंग्याएका हुन् त उसो भए ? 

– हाम्रो समाज पुरुष प्रधान । विवाहपछि महिलाको गोत्र फरक । जो महिला बाहिर आए, उनीहरूलाई नराम्रो आँखाबाटै हेरिने प्रवृत्ति विगतदेखि छ । ५२२ को चाँगुनारायणको एउटा स्तम्भलेख हेरौं । लिच्छविराजा धर्मदेव अकस्मात् बिते । त्यसपछि रानी राज्यवती सती जान्छु भन्दा छोरा रणदेव सानै थिए, उनले आमालाई तपाईं सती जाने हो भने म पनि सँगै जान्छु भनेपछि रोकिइन् । यसको अर्थ सतीप्रथा पनि स्वेच्छिक रहेछ नि ! वि.सं. १९७७ मा चन्द्रसमशेरले सतीप्रथा हटाए । सतिप्रथा पनि कोही माथि गयो भने लगाइदिने दरबारको षड्यन्त्रजस्तै हो कि ! जस्तो : अहिले कसैलाई खुइल्याउन र सिध्याउन परे यौन, भ्रष्टाचारको काण्ड लगाइन्छ ।

१८३३ का अभिलेखहरूमा स्त्रीले पनि आफ्नो पुरुषसँग प्रतिस्पर्धा गरुन भनेर लेखिएको भेटिन्छ । भेटिएका तथ्य त लेखिएका छन् महिलाका पनि  तर कीर्तिलक्ष्मीको अहिलेसम्म भेटिएको छैन । नरभुपाल शाहले नुवाकोटमाथि आक्रमण गर्न खोजे सफल भएनन्, पछि तनहुँमा पनि सकेनन् । त्यसपछि विक्षिप्त भएका उनले मितेरी लगाए रणजित मल्लसँग र पृथ्वीनारायण शाह मित बा कहाँ आएर बसे । पृथ्वीनारायण भक्तपुर बसेको बेला नेवार्नी पत्नी थिइन् । तिनीतर्फबाट रणसिंह शाह भन्ने छोरा जन्मिए । ती महिलालाई पृथ्वीनारायणले उपत्यका जित्नुअघि क्षयरोगले समातेछ । अन्तिम अवस्थामा देवघाट जाने इच्छा व्यक्त गरिछन् । देवघाट लगियो ।

तनहुँका राजा थिए त्रिविक्रम सेन । पृथ्वीनारायण शाहकी एक जना सौतेनी आमा तनहुँकी राजकुमारी भएकीले उनको मावली राज्य पनि भयो तनहुँ । उनलाई डोलीमा छोपेर लगिरहेको बेला तनहुँका पहरेदारहरूले रानी हुन् कि होइनन् भनेर डोली खोलेर हेरे पनि । यसो भएपछि पृथ्वीनारायण शाहलाई रिस उठ्यो र ती पहरेदारलाई काट्न अह्राए आफ्ना सेनालाई । त्यही रिसमा राजालाई समाएर ठूलो पिँजडामा राखेको कुरा नुवाकोटको सात तले दरबारमा गर्वसाथ भनेका थिए । राजकाजमा पृथ्वीनारायण शाहले स्त्रीहरूलाई हस्तक्षेप गर्न दिएको देखिँदैन । उनले योग्य मान्छेलाई योग्य ठाउँमा राख्नुपर्छ भनेको चाहिँ पाइन्छ ।

० जयप्रकाश मल्लको अहिले श्राद्ध हुन छाडेकोबारे अलि प्रष्ट्याइदिनु न ! 

– जयप्रकाश मल्ललाई गोली लाग्यो र नबाँच्ने भएर आर्यघाट लगियो । पृथ्वीनारायणले के चाहियो भन्दा छाता र खड्कुलो भने । तिनको श्राद्ध गर्ने पद्धति चलाइदियो भने त मसँग रहने मान्छे कम होला भन्ने भयो होला । ०३९/४० सालसम्म जयप्रकाश मल्लको श्राद्ध भनेर तीन सय रूपैयाँ दिइन्थ्यो ।

० पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेका हुन् वा विस्तार, तपाईंंको बुझाइ के हो ?

– शुरुमा ठूलो राज्य बनाउन खोजेका हुन् । यसमा असफल भए । उनी सानो राज्यका राजा । पाखे भनेर हेपिएका । काठमाडौं जित्दा नजित्दै भाइहरूले राज्य मागे र कीर्तिपुरेको नाक काटेपछि त्यहाँ प्रशस्त गुठी हालिदिए ।

० पृथ्वीनारायण शाहबाट नेपालका वर्तमान शासकहरूले के सिक्नुपर्दछ भन्ने लाग्छ ? 

– शासक त प्रजाको हुनुप¥यो । शासक भनेको निमित्त हो । तिनले अरुको कुरामा हस्तक्षेप गर्नुभएन । तर, हाम्रा शासक जहाँ जान्छन् विशेषज्ञ भएर बोल्छन् । पृथ्वीनारायण शाहले नुवाकोटमा आक्रमण गर्दा गर्दै सल्यानकोट पुगे र त्यहाँको मन्दिरका पुजारीलाई सोधे– हामीले यहाँ पूजा गर्न हुन्छ कि हुँदैन । पूजारीले झुकेर भने, यहाँको परम्परा पुजारी वा सरसफाइ गर्नेले मात्र भित्र पसेर पूजा गर्ने हो, बाँकी सरकारको जो हुकुम । उनी बाहिरै बसेर पूजा पाठ गरे । हाम्रा शासकले यस्तो गर्दैनन् । प्रताप मल्लको पालामा ठूलो खडेरी प¥यो । तान्त्रिकहरूले स्वयम्भूको शान्तिबुद्धभित्र ठूला तपस्वी छन् । त्यहाँ सर्पको रगतले लेखेको किताब छ । त्यो बाहिर ल्याएको खण्डमा वर्षा हुन्छ भनेपछि दुई तीन जना गुभाजुलाई स्वयम्भू पठाइयो तर ती सबै बत्ती लिएर गए पनि काँपेर फर्किए ।

अन्तिममा राजा प्रताप मल्ल आफैंले तपस्वीसँग कुरा गरेर त्यो पुस्तक बाहिर ल्याए र वृष्टि भयो तर हाम्रा शासक जहाँ जान्छन्, आफूभन्दा बढ्ता अरु कसैले जान्दैनन् झैं व्याख्या छाड्छन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री सबैको रोग उही हो । शासकहरूले अर्काको कुरामा हस्तक्षेप गर्न भएन । उनीहरूलाई दिइएको जिम्मेवारी राजकाज मात्र राम्रोसँग चलाए भइगयो नि ! दुई दिनअघि बिजुली काट्ने, दुई दिनपछि नै जोड्ने यस्ता कच्चा काम नगरुन् न !

० उपत्यकामा रजगज गरेका त्यत्रा मल्ल राजाहरू आज कहाँ कुन अवस्थामा छन् ? तिनले जात फेरे वा विदेश पलायन भए ? 

– तपाईंले प्रश्न गरेजस्तै जात फेरेका पनि हुन सक्छन् वा विदेश भासिएको पनि । जब शासन व्यवस्था परिवर्तन हुन्छ तब यस्तो स्थिति बन्दो रहेछ । केही बस्नेत काजीका सन्तान हुन्, मसँग भन्थे– जागिरै पनि नपाउने भएका कारण जातै फेर्ने बाध्यता आइलाग्यो । त्यत्रा काजीका सन्तान सानो तिनो सिपाही वा भनौं कुनै जागिर खान आउँदा आफ्नो बेइज्जती हुने, शासकले पनि नदिने भएका कारण आफ्नो पहिचानै मेट्ने वा लुकेर बस्ने पनि हुँदा रहेछन् । जयप्रकाश मल्लको आफ्नै सन्तान थिए कि थिएनन् ? लिच्छविकालदेखि मानदेव द्वितीय र जयदेवसम्मको कुरा गर्दा अहिले लिच्छवि भनेर आफूलाई चिनाउने मान्छे कोही छैनन् । प्रसिद्ध नाटककार विजयबहादुर, गोविन्दबहादुर, ऋृद्धिबहादुरजस्तै आफूलाई मल्ल भनेर चिनाउने कति होलान् ? योमात्र होइन लिच्छविकालका बाहुन, क्षेत्रीहरू कहाँ गए ?

० १०४ वर्ष राज गरेका राजादेखि शाहवंशीय सन्तानहरू पनि त्यति चर्चामा आउँदैनन् । कहाँ गुमनाम भए होलान् ती ? 

– तत्कालीन शासन पद्धति प्रधानमन्त्री र श्री ३ महाराजामा केन्द्रित रह्यो । सुरेन्द्रविक्रम शाह १८४६ सालमा जन्मिए । यदि, जंगबहादुरले आड नदिएको भए उनी राजा हुन पाउँथे कि पाउँदैन थिए ? सौतेनी आमा राज्यलक्ष्मीको छोरा रणेन्द्र नै राजा हुन्थे कि ! उता त्रैलोक्यविक्रमले राजै हुन पाएनन् । पृथ्वीवीरविक्रम ६ वर्षमै राजा भए । त्रिभुवन ५ वर्षमै राजा भए । पृथ्वीनारायण शाहपछि जसरी पनि लडेर आएका महेन्द्र मात्रै हुन् । 

० वर्षौ पुराना तिथि मिति स्मरणमा राखिरहने तरिकाचाहिँ के हो ? 

– बाल्यकालदेखि नै घोकन्ते विद्याबाट आएँ । घोेकन्ते विद्या काम छैन, हुँदैन भन्नेहरूलाई म फटाहा भन्छु । नघोकी हुँदै हुँदैन । मैले बिहान उठेदेखि बेलुका सुतेसम्म जानेको काम यही हो । मियाँजीका दौड मस्जिद तक भनेझैं अरु केही जानिएन । बाजेकै पालादेखि यही काम गरिएको । योभन्दा दायाँबायाँ केही जानिएन । ४२ वटा पुस्तक लेखियो । यसैमा रस बस्यो । अरु केही काम गर्न जानिएन । ध्यान गएन ।
 

टिप्पणीहरू