प्रभु साहका दुई दर्जन कार्यकर्ता समातिए
प्रभु साह नेतृत्वको आम जनता पार्टीका दुई दर्जन कार्यकर्ता पक्राउ परेका छन् ।
मधेस प्रदेशमा आज आयोजित आम हड्तालका क्रममा यातायात बन्द गराउँदै हिँडेका २३ जनालाई प्रहरीले जनकपुरबाट नियन्त्रणमा लिएको हो ।
सडकमा उत्रिएका सो पार्टीका कार्यकर्ताले राष्टिय सभा निर्वाचनको मतदानमा समेत प्रभाव पार्न खोजेपछि पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको धनुषा प्रहरीले जनाएको छ ।
बैंकहरुले मनोमानी ढंगले लिएको ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त तथा सहकारीबाट किसानले लिएको कर्जा माफी गर्नुपर्नेलगायतका माग राखेर आम जनता पार्टीले आज एक दिनका लागि हडतालको आह्वान गरेको हो । बन्दको प्रभाव भने आंशिकरुपमा मात्रै परेको छ ।
टिप्पणीहरू