कालिमाटीको जाम नकट्दै कसरी जान्छ ज्यान ?
जहाँ कालोकोटेकै पत्नीहरू अन्यायमा छन् र न्याय नपाएर भौंतारिँदै छन् । यस्तो मुलुकमा हामीजस्ता निम्सराले न्याय खोज्नु र न्याय पाउनु एकादेशको कथा होला ।
अस्ति सोमबार मात्र न्यायाधीश भुवन गिरीकी पत्नीले न्याय नपाएर आत्मदाहको प्रयास गरिन् सर्वाेच्च अदालतमा । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीकी पत्नी जानकीले ६ वर्षअघि विवाह दर्ता गर्न नमानेको र उल्टै मार्नेसम्मको धम्की दिएको भन्दै महिला आयोगदेखि ललितपुर जिल्ला अदालतमा उजुर हालिरहेकी छन् । हो, यही मुलुकमा सात वर्षदेखि म पनि खोज्दै छु न्याय ।
निर्मला, भगिरथीहरूको जसरी बलात्कारपछि हत्या गरियो, उसैगरी मारिएको हो मेरो बहिनीलाई । तर, सत्ता र शक्तिको आडमा अपराधीलाई चोख्याइँदै आयो । लमजुङमा स्नातक तह दोस्रो वर्ष अध्ययनरत थिइन् बहिनी प्रेमा गुरुङ । पढाइमा अब्बल, गाउँकै एउटा बोर्डिङ स्कूलमा शिक्षण पेशा गरिरहेकी । ०७३ साल वैशाखमा काठमाडौं आइन्– घरपरिवारको सल्लाहबिना ।
त्यसरी एक्कासि काठमाडौं भित्रनुपर्ने कारण रहेछन् विश्वास भारती । सामाजिक सञ्जालमा वर्ष दिनअघि जोडिएकी रहिछन् प्रेमा सर्लाही निवासी विश्वाससँग । तिनै विश्वासले मेरी बहिनी र परिवारमाथि यसरी विश्वासघात गरे कि, गाउँकी छोरी÷चेलीलाई माया जालमा पारेर शारीरिक सम्बन्ध राख्ने, गर्भ बोकाउने र पेटमा बच्चा हुर्कंदै गएपछि पाप स्वीकारेर आफ्नो बनाउनुको सट्टा हत्या नै गरिदिए । त्यही पाप पखाल्न राजनीतिक दलको आड लाग्दै हत्यालाई आत्महत्यामा बदलिदियो प्रहरी प्रशासनले ।
०७३ साल वैशाखदेखि बहिनी कलंकीस्थित कृष्णराज महर्जनको घरमा डेरा लिएर बस्दै थिइन् । यो बीचमा एक–दुई पटक म काठमाडौं आएँ । जागिर थियो पुतलीसडकको एउटा कन्सल्टेन्सीमा । सोही घरमा बस्दा रहेछन् विश्वास । घरपरिवार तथा आफन्त आउँदा कोठा छुट्टाछुट्टै देखाए पनि उनीहरू लिभिङ टुगेदरको रिलेसनसिपमा थिए । बहिनीलाई जागिर लगाइदिने पनि उही विश्वास थियो । बहिनीसँग बीचको सात आठ महिनामा तारन्तार फोन सम्पर्क, हाइ हेल्लो भइरहन्थ्यो । सबै कुरा ठीकठाक नै चल्दै थियो । पुस २९ गते बहिनीले आत्महत्या गरेको खबर आयो । लगत्तै हामी काठमाडौं आयौं । आत्महत्या भनिए पनि त्यो सुनियोजित हत्या थियो । किनभने सोही साँझ सवा सात बजे बहिनीसँग फोनमा पारिवारिक कुरा हुँदा उनमा निराशाको कुनै गुञ्जायश थिएन ।
अघिल्लो दिनको बहिनी भोलिपल्टै गर्लफ्रेण्ड कसरी हुन्छ र ? मर्ने त मरिहाल्यो, बाँच्नेको भविष्य हेर्नुहोस् पो भन्छन् इन्स्पेक्टर ।
आफू कार्यालयबाट फर्कन लागेको र कालिमाटीको जाममा परेका कारण रुममा पुग्न ढिला भएको बताएकी थिइन् । बहिनीको मृत्युपछि उनी काम गर्ने कन्सल्टेन्सीमा गएर बुझ्दा त्यो दिन कार्यालयमै बहिनी रोएको सहकर्मीहरूले सुनाएका थिए । विश्वासले बहिनीले काम गर्ने कन्सल्टेन्सीमा फोन गरेर चाँडै रुममा आइज भनी थर्काएको रहेछ । कामको चाङ धेरै भएका कारण बिदा नदिएपछि उसैले त्यहाँका सञ्चालकलाई फोन गरेर थर्काएको समेत कर्मचारीले बताएका छन् । सवा सात बजे कालिमाटीमा जाममा छु भनेकी बहिनीले त्यसको १५ मीनेटपछि आत्महत्या गरेको खबर आउँछ । आत्महत्या नभई उनको हत्या नै भएको भन्ने हामीसँग ठोस प्रमाण छन् । पेशाले शिक्षक हुँ । लमजुङमै एउटा सरकारी विद्यालयमा आबद्ध छु । खबर सुन्नेबित्तिकै तत्कालै बयोधा अस्पताल बल्खु पुगेँ । बहिनीको मुखबाट फिँज आइरहेको थियो । नाकबाट रगत बगिरहेको थियो ।
म र परिवारलाई उनले अहिलेसम्म सारी लगाएको थाहा छैन तर आत्महत्याको कारणमा भनिएको छ, सारीकै सुर्काे पारेर । अर्काे, त्यहाँ सुसाइड नोट लेखिएको छ– न बहिनीको अक्षर हो न त लवज । ती शब्द हाम्रो गाउँ ठाउँमा बोलिने होइनन् । अनि सुसाइड गरेको व्यक्तिलाई प्रमाण नष्ट हुने गरी तिनै विश्वासले बोकेर अस्पताल पु¥याएको भनिएको छ । बहिनीलाई बोकेर अस्पताल ल्याउँदा उसको मुखबाट रक्सीको दुर्गन्ध आइरहेको डाक्टरहरूले सुनाएका छन् । त्यही व्यक्तिले प्रहरीसँग बयानको क्रममा शुरुमा बैनी भनेर बयान दिएको छ, भोलिपल्टको बयानमा गर्लफ्रेण्ड भनेको छ । अघिल्लो दिनको बहिनी भोलिपल्टै गर्लफ्रेण्ड कसरी हुन्छ ?
यी आधारमा हामीलाई बैनीले आत्महत्या गरेको मान्न कठिन भयो । बहिनीको हत्या नै भएको ठहरसहित ड्युटीमा खटिएका इन्स्पेक्टर दिनेश कार्कीलाई भेट्यौं । उनको भनाइले हाम्रो पोलेको घाउमा झनै नुन छर्ने काम ग¥यो । मर्ने त मरिहाल्यो, बाँच्नेको भविष्य हेर्नुहोस् पो भन्छन् इन्स्पेक्टर । हामी जसलाई अपराधी भनिरहेका छौं उनी उसैले उद्धार गरेको दाबी गरिरहन्छन् । कालिमाटी प्रहरी वृत्तमा पुगेर डिएसपीलाई भेट्यौं । उनीहरूले पीडकसँग मिलेर केस ढिसमिस पार्न खोजेको भान भयो । प्रहरीले उजुरी दर्ता लिनै मानेन । कहिले लिखित ल्याउनुहोस्, मौखिक हुँदैन भन्छन् । आफैँले लेखेर दिएको जाहेरी पनि दर्ता गर्न मान्दैनन्, तिनैले देखाएको वकिललाई लेखाएर दिँदा पनि किटानी जाहेरी दर्ता गर्दैनन् । पछाडि यो मेरो क्षेत्रभित्र पर्दैन भनेर पन्छन्छन् । यो सुसाइड नै हो, ह्याङगि¨ नै हो भनी ठोकुवा गर्ने तिनी चिकित्सक हुन् ?
जिन्दगीमा प्रहरी यति धेरै निरीह भएर प्रस्तुत भएको पहिलोपल्ट देखें । उनले केस दर्ता गर्न नमानेर मैले दरपिठमा हस्ताक्षर गर्नुहोस् भनेपछि बल्ल गले र जाहेरी दर्ता भयो । मुस्कानसहितको प्रहरी सेवावाला नारा घन्काउने प्रहरी संगठनका हाकिम यतिबिघ्न क्रुर भएको पनि जिन्दगीमा पहिलोपल्ट देखेको हुँ । एकातिर बहिनी गुमाएको पीडामा छौं । अर्काेतिर राज्यको संयन्त्रमा एउटा निवेदन दर्ता हुँदैन । कहिले यताबाट उता पठाउँछन्, कहिले उताबाट यता । दुई दिन लगाएर बल्लतल्ल निवेदन दर्ता त गरियो । मुचुल्का उठाइयो, त्यहाँ पनि पीडत पक्षको कोही नराखी एकपक्षीय ढंगबाट । लाशलाई बल्खुबाट टिचिङ अस्पताल लैजाँदासमेत हाम्रो पक्षबाट कोही थिएनन् । मुचुल्काको एकप्रति फोटोकपी देऊ न भन्यो, दिनै मिल्दैन भन्छन् । कसले सुरक्षा दिएको छ अपराधीलाई ?
भारतीका बुवा सर्लाही कांग्रेसका नेता, एउटा दाजु प्रहरी इन्स्पेक्टर र अर्काे दाजु ‘ए’ लेभलकै ठेकेदार हुन् । पोष्टमार्टमको रिपोर्टमा डाक्टरहरूका अनुसार हत्याअगाडि सेक्सुअल रिलेसन भएको थियो रे । तर, प्रहरी निरीह बनेको हो वा पैसामा बिकेको हो थाहा छैन । हाम्रो एउटै प्रश्न प्रहरीका ती हाकिमलाई जो अहिले बढुवा खाएर अन्यत्रै पुगिसकेका छन् । यदि, तपाईंहरूको छोरी–चेलीलाई कसैले ललाई फकाई लिभिङ टुगेदरको सम्बन्धमा राखेर चित्त नबुझे पछाडि हत्या गरिदिँदा मेरै छोरी÷ चेलीले आत्महत्या गरेको हो भनेर स्विकार्न तयार हुनुहुन्छ ?
यो मुलुक, यहाँको प्रहरी प्रशासन र न्यायालयबाट मैले त न्याय पाइनँ । निर्मला पन्तहरूलाई समेत न्याय दिन सकेनन्, प्रहरीहरूले । आरती रावल, जानकी पाण्डेहरूले न्याय पाउँछन् भन्नेमा विश्वस्त त झन् कसरी हुनु र ?
– यजमान गुरुङ
टिप्पणीहरू