रविका पार्टनरको खातामा रातारात १७ करोड

अनि किन चाहियो तलब, केलाई लिन पर्‍यो भत्ता !

रविका पार्टनरको खातामा रातारात १७ करोड
सुन्नुहोस्

– द्रव्य शाह

रवि लामिछानेले आफ्नो नाममा काटिएको पौने दुई करोडको चेक खातामा जम्मा नभएको जिकिर गरेपछि उक्त लफडा फर्जी भौचर र सम्पत्ति शुद्धीकरणतर्फ मोडिएको छ ।

ग्यालेक्सी टेलिभिजनबाट बाहिरिँदा लिइएको ‘पसिनाको मूल्य’ बापतको रकमउपर औपचारिक कारोबार नभएको दाबी उनले दोहो¥याए पनि कम्पनी रजिष्ट्रार कार्यालयले भने सेयर किनबेच हुँदा अनिवार्य रूपमा बैंकिङ कारोबार गर्नुपर्ने कानुनी व्यवस्था रहेको जनाएको छ ।

तत्कालको समस्या टार्न रविले भनेकै मितिमा पैसा दाखिला नभएको कागज ग्लोबल बैंकले बनाइदिए पनि त्यसपछि त उनी पैसा नलिई बसेनन् होला ! यसो हुँदा आफ्नो खाताको वर्षभरिको विवरण सार्वजनिक गर्ने दायित्व उनकै हो । नगद कारोबार भएको हो भने त्यसबारे बताउने पनि उनले हो । कतै जिबी राईसँग जोडिदिने ग्यालेक्सी टिभीका उपाध्यक्ष छविलाल जोशीको त्यसै अवधिको अकल्पनीय र अस्वाभाविक आम्दानीमा त रविको हिस्सा छैन ? त्यो पनि सोचनीय विषय हुँदै हो । 

चितवन, पोखरा र काठमाडौंको सहकारी संस्थाका करोडौं रूपैयाँ हिनामिनामा उनीलगायतको नाम जोडिँदै आएको छ । तर, लामिछानेले ती आरोपलाई अन्यथा भन्दै पीडितको पक्षमा लागिपर्ने बताउन छाडेका छैनन् । यसबीच ग्यालेक्सी टेलिभिजनका अन्य साझेदार जिबी राई र पूर्वडिआइजी छविलाल जोशीका शंकास्पद कारोबारले रविलाई पनि तान्ने सम्भावना बढाएको छ । 

यही मेसोमा ग्यालेक्सीका साझेदार जोशीमाथि काठमाडौं, कीर्तिपुरको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोप लागेको छ । यहाँको रकम पनि जिबी, रविसँग मिलेर टिभी चलाउँदा ग्यालेक्सीलगायत संस्थामा अधिकतम प्रयोग भएको हुन सक्ने प्रहरीको अनुमान छ । जोशीको पछिल्लो तीन वर्षको अस्वाभाविक र शंकास्पद १७ करोड रकम कारोबारको फेहरिस्त जनआस्थाले जुटाएको छ ।

प्राप्त विवरणअनुसार पछिल्लो समय चर्चामा आएको रवि लामिछानेको एक करोड ८० लाख रूपैयाँ बराबरको सेयर किनबेचको कनेक्सन जोशीको खातामा ट्रान्जेक्सनसँग हुन सक्ने अनुसन्धानमा संलग्न सरकारी अधिकारीहरूको बुझाइ छ । फर्जी कागजात र विवरण जुटाएर ग्यालेक्सीको सेयर किनबेच गरिएको घटनालाई जोशीको व्यक्तिगत बचत खाताबाट भएका करोडौंका शंकास्पद कारोबारसँग भिडाउनुपर्ने विज्ञहरू बताउँछन् । पत्रकार सम्मेलनमा लामिछानेले उक्त रकम आफ्नो बैंक खातामा जम्मा नभएको बताएका थिए । तर, उनले कम्पनी रजिष्ट्रार कार्यालयमा बुझाएको नोटरी प्रमाणित घरायसी तमसुकलाई हेर्दा उक्त कारोबार चेक, बैंक खाताभन्दा नगदमा भएको आशंकालाई बल मिलेको छ ।

अर्कोतर्फ लामिछाने र राईसँग जोडिएका पूर्वडिआइजी छविलालका केही कारोबारले शंका उब्जाइदिएको छ । जोशीको कारोबार अस्वाभाविक रहेको भन्दै यसअघि विनोद चौधरीको नबिल बैंकले राष्ट्र बैंकस्थित वित्तीय जानकारी इकाइलाई जानकारी गराएको थियो । ‘निजको व्यक्तिगत बचत खातामा अस्वाभाविक र शंकास्पद कारोबार देखिएपछि हामीले जानकारी गराएका हौं,’ नबिल स्रोत भन्छ, ‘त्यस्ता कारोबारसँगको कनेक्सन हेर्ने र विश्लेषण गर्ने जिम्मा हाम्रो होइन । सम्पत्ति शुद्धीकरण, एफआईयु र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हो ।’ 

प्राप्त विवरणअनुसार जोशीको नबिल बैंकस्थित व्यक्तिगत बचत खाता नम्बर १७१००१७५१२३५६ मा सन् २०२१ जुन ३० तारिखका दिन ९० लाख रूपैयाँ जम्मा भएको देखिन्छ । उक्त रकम एनआईसी एशिया बैंक लिमिटेडमा रहेको दिनेश दर्शनधारीको व्यक्तिगत बचत खाता नम्बर ३९१४२२६९८३५२४००१ बाट जम्मा भएको थियो । सोही रकम जोशीले आफ्नो खाताबाट एनआईसी एशिया बैंकमा रहेको पुजन तुलाधर सिकर्मीको बचत खाता ३९८७०२२२२८७५२४०१ मा भोलिपल्टै जुलाई १ का दिन ट्रान्सफर गर्नुले पनि कारोबार शंकास्पद देखिएको हो । ठूलो परिमाणको रकम एकाध दिनमा विभिन्न व्यक्तिको खातामा सार्नुले घटनालाई झन् रहस्यमय बनाएको छ । 

नबिल बैंक स्रोत भन्छ, ‘त्यसको तीन दिनपछि दर्शनधारी र सुवर्ण महर्जनको व्यक्तिगत बचत खाताबाट दुई वटा चेकमार्फत जोशीको सोही खातामा एक करोड ८० लाख जम्मा भएको छ । तर, सो रकम एक दिनपछि पुजन तुलाधर सिकर्मीको खातामा फिर्ता भएको देखिन आएको छ । अहिले सोही रकम बराबरको लफडा बाहिर आउनुले बाघ कराउनु र बाख्रा हराउनु मात्रै नभएको हो कि भन्ने लाग्छ ।’ 

जोशीसँग त्यति ठूलो रकमको लेनदेन गर्ने व्यक्तिहरू एउटै कम्पनीका हर्ताकर्ता हुन् । दर्शनधारी कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र मोबिल्याण्ड ग्रुप अफ कम्पनीका अध्यक्ष र सुवर्ण महर्जन उक्त कम्पनीका निर्देशक हुन् । सिकर्मी भने सो सहकारीका प्रबन्धक हुन् । मोबिल्याण्ड ग्रुप अफ कम्पनीमा जोशीको समेत सेयर लगानी भएको बताइन्छ । तर, सुवर्णले आफ्नो कम्पनीमा जोशीको संलग्नता नरहेको बताए । उक्त कारोबारबारे जिज्ञासा राख्नेबित्तिकै सिकर्मी जंगिए । महर्जनले त्यो जग्गा कारोबारको रकम हुनसक्ने उल्लेख गरे । भने, ‘सिकर्मीको जग्गा डिआइजीले किनेका हुन् । सिकर्मीले मेरो कम्पनीबाट ऋण लिएका थिए । त्यसैले सोही रकम तीनतिर कारोबार भएको हुनसक्छ । जोशी यसअघि जिबी राई जस्तै नेटवर्किङ व्यवसाय कम्पनी खोलेर त्यसको संरक्षकको भूमिकामा संलग्न भएको पाइएको थियो ।

उनै जोशीको नबिल बैंकमा रहेको व्यक्तिगत बचत खातामा सन् २०१८ र २०१९ सम्म कारोबार सामान्य नै रहेको देखिन्छ । तर, रविसँगको सामिप्यता र ग्यालेक्सीमा साझेदारीपछि खातामा रकम जम्मा हुने क्रम बढेको छ । सन् २०२० पछिका वर्षमा उनको कारोबार शंकास्पद देखिएको बैंकका अधिकारीहरू बताउँछन् । ‘रवि लामिछानेसँग ग्यालेक्सी टेलिभिजनमा साझेदारी भएपछिका कारोबार शंकास्पद छ । काकताली मात्रै हो कि, यथार्थ बिस्तृत अनुसन्धानबाटै पुष्टि होला,’ राष्ट्र बैंकको उच्च स्रोतको भनाई छ ।

नबिलबाट प्राप्त विवरणअनुसार जोशीको खातामा कोरोना महामारीअघि तीन करोड ४४ लाख ८२० रूपैयाँ ३६ पैसा थियो । सन् २०२० मा १ करोड २४ लाख पाँच हजार २५८ रूपैयाँ २० पैसा झिकेपछि १ करोड ७४ लाख २७ हजार ५६५ रूपैयाँ २६ पैसा बाँकी रह्यो । अर्को वर्ष २०२१ मा ६ करोड ४ लाख २६ हजार ३६८ रूपैयाँ ९० पैसा र सन् २०२२ मा ७ करोड ९ लाख ८७ हजार ८९६ रूपैयाँ ८९ पैसा बढ्यो । 

ब्युरो स्रोत भन्छ, ‘प्रहरीका पूर्व डिआइजीले पदमा रहँदा बचत गर्ने उद्देश्यले खोलिएको व्यक्तिगत बचत खातामा एकपछि अर्को कारोबार अस्वाभाविक र शंकास्पद देखिनुलाई त्यतिकै नजरअन्दाज गर्न सकिँदैन ।’ सम्पत्ति शुद्धीकरण र सिआइबी स्रोतको एउटै बुझाइ छ, ‘पदको दुरूपयोग गरेर प्राप्त रकम सहकारी संस्थामा जम्मा गरेको हुनुपर्छ । उक्त रकम मोबिल्याण्ड ग्रुप अफ कम्पनी खडा गरेर सम्पत्ति शुद्धीकरण गराएको पनि हुनसक्छ ।’

जोशीसँगको शंकास्पद कारोबारमा संलग्न व्यक्तिहरू उनीनिकट कम्पनी र सहकारीको मुख्य पदको जिम्मेवारीमा छन् । प्राप्त विवरणअनुसार पुजन तुलाधर दर्शन सहकारीको प्रबन्धक र दर्शनधारी सोही संस्थाका अध्यक्ष हुन् । यसले पनि सहकारी संस्थाको रकम जोशीको खातामा जम्मा गरेको हुनसक्ने प्रवल सम्भावना छ । सोही रकम जोशीले लामिछानेसँगको साझेदारीमा ग्यालेक्सी टेलिभिजनमा लगानी गरेको अर्को आशंका छ ।

उनले नेचर हब्र्स नेष्ट प्रालि र केएनके कलेजमा समेत ठूलै रकम लगानी गरेको देखिन आएको छ । उनका बैंक स्टेटमेन्ट र साझेदारीमा खोलिएका तथा रकम लेनदेनमा संलग्नहरूको केवाईसी विवरण, बैंक स्टेमेन्ट भिडाएर अनुसन्धान गरेको अवस्थामा रविको पछिल्लो १ करोड ८० लाखसहितको वास्तविकता छर्लंग हुने सम्भावना पनि उत्तिकै छ । 

टिप्पणीहरू