हामी माओवादीहरु नराम्ररी बिग्रिसकेछौं

हामी माओवादीहरु नराम्ररी बिग्रिसकेछौं
सुन्नुहोस्

विभिन्न निकायमा राजनीतिक नियुिक्त गर्दा पूर्वका राई, लिम्बू, र रोल्पा, रुकुमका मगर रोज्ने वा जनार्दन शर्माका मान्छे खोज्ने प्रवृत्तिविरुद्ध आपत्ति जनाउँदै सुदूरपश्चिम घर भएका जनसाँस्कृतिक महासंघका ८ जनाले सामुहिक राजीनामा दिएमध्येका हुन् बिक्रम कुँवर (प्रतीक) । महासंघले साँस्कृतिक संस्थानको महप्रबन्धकका लागि पहिलो नम्बरमा नाम सिफारिस गरेको थियो तर त्यसमा टिपेक्स लाग्यो र पश्चिम रुकुम घर भएका किरणबाबू पुन नियुक्त गरिए । कर्णाली प्रदेशबाट ८ जनाले नियुक्ति खाँदा सुदूरपश्चिम प्रदेशलाई ‘शून्य’ पारिएकोप्रति आपत्ति हो पथिकहरूको । उनले माओवादीका हरेक संघ/संगठनमा बसेर काम गरेका छन् । ०५७ सालबाट अखिल क्रान्तिकारीको इकाइ कमिटी हुँदै माओवादीमा होमिएका उनी जिल्ला सचिव पनि बने । ०५८ सालयता पार्टीमा पूर्णकालीन सदस्य छन्, तर लाभ र राजनीतिक नियुक्ति ‘चैते कमरेड’हरूले उठाइरहेको गुनासो सुनाउँछन् । केही समय विद्यार्थी र युवा इञ्चार्ज रहेका उनी बैतडी जिल्ला सहइञ्चार्जको भूमिकामा रहेर प्रदेश कमिटीको सचिवालयमा छन् । 

– हरि गजुरेल 

० जनसाँस्कृतिक महासंघका ८ जना पदाधिकारीले एकै पटक राजीनामा दिनुपर्ने स्थिति किन आयो ? 

– केन्द्रीयता ठीक भएन भनेर मुलुकलाई विकेन्द्रीकरण (संघीयता) मा लगियो तर यत्रो क्रान्तिपछि पनि केन्द्रमा शासन गर्नेहरूको दृष्टिकोणमा परिवर्तन आएन । एक से एक साहित्यकार, सिर्जनाकारहरू हुँदाहुँदै सुदूरपश्चिमबाट प्रतिनिधित्व शून्य गराइनु दुःखद र बिडम्बनापूर्ण छ । केन्द्रमा बस्नेहरूलाई सामूहिक राजीनामा दिएर च्यालेञ्ज गरेका हौं । 

० यो त पदकै लागि राजनीतिमा लागिएजस्तो भएन र ? 

– यदि, निर्णय लागू हुन्न भने त्यो संगठनको के औचित्य ? संगठनलाई बेवारिस छोडेर, बाइपास गरेर निर्णय गरिन्छ भने त्यस्तोमा बस्नुको औचित्य रहँदैन भनेर राजीनामा दिएका हौं । 

० तपाईंलाई नेपाल प्रज्ञा प्रतिष्ठानको सभा र साँस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्तिका लागि महासंघले सिफारिस गरेकोमा किन टिपेक्स लाग्यो ? 

– सामूहिक राजीनामा यस्तै कारणले आएको हो । तलबाट संगठनले सिफारिस गर्ने, माथिबाट हुकुमी शैलीमा अमूक पात्रहरूलाई नेताको दौरा समातेको आडमा नियुक्त गरिँदा जीवन समर्पित गरेकाहरूको योगदानको अवमूल्यन भयो कि भएन ? म मात्र होइन, सिंगो सुदूरपश्चिम प्रदेशलाई उपेक्षा गरिएको छ । आज क्षेत्र, भूगोल नहेरी सन्तुलन किन बिगारिँदैछ ? यही उपेक्षा सहन नसकेर सुदूरपश्चिम भूगोल भएका दुई उपाध्यक्ष डम्बर रोकाया र म, एक सचिव सहित, पाँच केन्द्रीय सदस्य गरी आठ पदाधिकारीले सामूहिक राजीनामा दिएका हौं । पार्टीभित्रै रहेर संघर्ष गर्ने हो । संगठनमा इतिहास बोकेका साथीहरू हुँदाहुँदै उपेक्षा गर्ने एक पछाडि अर्काे निर्णय गलत छ । सच्याउनु पर्छ । 

० कम्युनिष्टको वर्गीय पक्षधरता हुनुपर्ने हो तर कम्युनिष्टसरकारका पछिल्ला नियु्क्तिमा कि त राई, लिम्बूहरूले वा त जनार्दन शर्माका खास भनिएकाहरूले मात्र नियुक्ति पाएको गुनासो सुनिन्छ । जात र क्षेत्रमै किन अड्किरहेको होला नेतृत्व ? 

 – सरकारले गरेको नियुक्तिहरू हेर्दा तपाईंले जिज्ञासा राखेजस्तै गरी आम मान्छे, बृत्तमा बहस चल्न थालेको छ । एउटा नेताको फेरो समाउने, उसको योगदान, लगानी केही नहेर्ने परिपाटी मौलाउँदैछ । यो बूढी मरीभन्दा पनि काल पल्क्यो भन्ने चिन्ता हो । यो भन्दा गलत के हुनसक्छ ? भौगोलिक सन्तुलनको हिसाबले हेर्ने हो भने कुनै शीर्षस्थ नेताको एउटै प्रदेशबाट सात आठ जनाले नियुक्ति खाएका छन्, अर्काे प्रदेशबाट शून्य ! 

० जस्तो ? 

– कर्णाली प्रदेशबाट मात्र ७ जनालाई नियुक्ति दिइएको छ । प्रज्ञा प्रतिष्ठानमा मधुसूदन गिरी र बखत हमाल (सुवर्ण)–संगीत नाट्यमा प्राज्ञ) पनि त्यहींकै, टीका पुनसहित आइतबारमात्र नियुक्ति उल्टिएको पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक लक्ष्मी पुन पश्चिम रुकुमबाट, साँस्कृतिक संस्थानको महाप्रवन्धक किरणबाबु पुन अलावा भुपेन्द्रकुमार खड्का – फिल्ड सेन्सर बोर्ड सदस्य कर्णालीकैं । के अर्काे प्रदेशमा मान्छे नभएका हुन् ? हामीले के परिवर्तन ल्यायौं, के क्रान्ति ग¥यौं ? प्रश्न आफैंतिर सोझिन जरुरी छ । के कर्णालीवारी, सुदूरपश्चिमको भूभाग नेपाल होइन ? गणतान्त्रिक संघीय सरकारमा सुदूरपश्चिमको कुनै योगदान छैन, रगत बगेको छैन ?जनयुद्धमा सुदूरपश्चिम तेश्रो पिलर थिएन ? जनमुक्ति सेनामा सबैभन्दा बढी भर्ना गर्ने प्रदेश हो सुदूरपश्चिम । तर, आज अवसरमा त्यही सुदूरपश्चिम प्रदेशलाई लत्याइँदैं छ । 

० यसरी क्षेत्रीयता र जातीयता च्याप्ने प्रवृत्तिले कालान्तरमा माओवादी पार्टीलाई कहाँ पु¥याउला त ? 

– यस्तै गर्नु थियो भने हामीले हिजो बगाएको रगतको के अर्थ ? क्रान्तिकारीहरू आशावादी हुन्छन् तर पेलेको पेल्यै गर्ने हो भने राम्रो नतिजा ल्याउँदैन । विचारमा परिपक्व नभएका मान्छेहरू यही र यस्तै व्यवहारका कारण पलायन हुँदा रहेछन् । यसले पतनको बाटो ल्याउँछ, सिध्याउँछ । 

० विभिन्न एकेडेमीमा १० जना राईले भरियो । त्यही समयमा मन्त्री सुदन किरातीले दोस्रो पटक निर्णय सच्याउने वचनबद्धता व्यक्त गर्नुभएको रहेछ । कार्यान्वयन भएन है !

– त्यो समय प्रज्ञा सभामा सिफारिस गरिएको थियो, मलाई । अहिले साँस्कृतिक संस्थानको महाप्रवन्धक नियुक्तिका लागि पनि महासंघले सिफारिस गरेकै हो । पहिलो नम्बरमा मेरो, दोश्रोमा राकेश किरातीजीको वरियताको हिसाबले म उपाध्यक्ष । अहिले नियुक्त किरण पुन सदस्यमात्र हुन् । आन्दोलनको हिसाबले तुलना गर्ने हो भने पनि मेरो भूमिका धेरै छ । ठीक गर्दै छु कि गलत भन्ने कुरा आफैं र सल्लाहकारहरूले बुझ्नु पर्ने हो । हामी त सानो कार्यकर्ता, कसले सुन्छ र ? 

० हिजो पार्टीलाई उठाउन गाउँ–गाउँबाट उठ, आमा–दिदी–बहिनी हो कति बस्छौ दासी भईजस्ता गीत लेख्ने–गाउने मञ्जुल, रामेश, रायन, गोविन्द थापाजस्ता सर्जकका गीत बज्न छाडे । पार्टीका कार्यक्रममा छम्मा छम्मादेखि अरेली काँडैले च्वास्सै जस्ता गीत घन्कने, तिनमै नेताहरू नाच्ने, मन कुटुक्क दुख्दैन ।

– नेताले एक घण्टा भाषण गरेको भन्दा एउटा गायकले मञ्चमा तीन मीनेटको गीत गायो भने त्यो प्रभावकारी हुन्छ । यस्ता सर्जकलाई संरक्षण गर्न नसक्नु दुःखद पक्ष हो । जनयुद्धताका कलाकारको कम्पनी बटालियन नै बनाउने भनेको देशैभरमा सुदूरपश्चिम मात्र हो । ती कम्पनीहरू आज बिलाउँदै गए । उहाँहरूको व्यवस्थापन, संरक्षणतर्फ खै नेतृत्वको ध्यान ? 

० हिजो गीत लेखेर, गाएर जनतालाई कम्युनिष्ट बनाउन योगदान गर्ने मणि थापा र माइला लामाहरू किन अटाएनन् पार्टीमा ?

– हेडक्वार्टरसँग उहाँहरूको के कुरामा विमती थियो र अटाउन सक्नुभएन ! एकता, ध्रुवीकरणको विषयमा अहिले माओवादी पार्टीभित्रै टिम बनेको छ । संवाद जारी छ । नेतृत्व सच्चिनुपर्छ, आफू सच्चिएर अगाडि बढेको खण्डमा मात्र अरुलाई प्रश्न गर्न सकिन्छ । एउटाले अर्काेलाई दोषारोपण गर्ने, आफैं छुटफुट र बिखण्डन हुने, विरोधीले फाइदा लिने बेथिती भइरहेको छ । हामी बिग्रिएका छौं । भएका परिवर्तलाई उल्टाउने गरी प्रतिगामीहरूले टाउको उठाउने स्थिति बनेको छ । 

० सुदूरपश्चिममा माओवादीको पोजिसन कस्तो छ ? 

– संयुक्त सरकार छ । दुई मन्त्री र एक राज्यमन्त्री छन् । बाजुरा र बैतडीबाहेक प्रदेशमा पनि प्रतिनिधित्व छ । बैतडीमा सात सय मतले पराजित भयौं । 

० गाउँफर्क अभियानपछि माओवादी कत्तिको जुर्मुरायो त ? 

– माओवादीहरू चुनावको बेलामात्र होइन अघि पछि पनि गाउँ ठाउँमा आउँदा रहेछन् भन्ने हिसाबले सकारात्मक सन्देश प्रवाह भएको छ । तीन महिने अभियानलाई निरन्तरता दिनुपर्छ । 

० ५० को दशकको त्यो भर्भराउँदो माओवादी आज किन स्खलित हुँदै गयो ? 

– हाम्रो बानी व्यवहार, कार्यशैली, कार्यक्रम, नीति तुलना गर्ने हो भने युद्धकालीन माओवादी र अहिलेको माओवादीमा धेरै फरक हुने कुरा भइहाल्यो। 
 

टिप्पणीहरू