सिटौलामाथि छँदै छ खतरा

सिटौलामाथि छँदै छ खतरा
सुन्नुहोस्

गत बुधबार रातिसम्म ‘रात रहे अग्राख पलाउँछ’ भनेझैं कतै दक्षिणको खेलो चलेर राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका कृष्णप्रसाद सिटौला पराजित हुने त हैनन ? सत्तारुढ गठबन्धनका नेताबीच यो कोणबाट पनि चर्चा भएको थियो ।

एकथरि काँग्रेस नेताको चाहना हो, गृहसहित सिटौलालाई उपप्रधानमन्त्री बनाउने । र, राष्ट्रियसभाको अध्यक्षचाहिँ आनन्द ढुंगानालाई दिने । तर, सिटौला जनताबाट अनुमोदित भएर आउने समय सकिएका कारण राजनीतिक जीवनको अन्तिम जिम्मेवारीस्वरुप राष्ट्रियसभाको अध्यक्ष नै हुने चाहना राखिरहेका छन् । भनिन्छ, उनी देउवा र प्रचण्डकै सल्लाहमा उम्मेदवार बनाइएका हुन्  र विजयी पनि भइसकेका छन् । 

सिटौलालाई कुनै पनि बहानामा धोका नदिन र साझा उम्मेदवारकै रुपमा लिइदिनका निम्ति प्रचण्ड आफैंले शेखरसँग कुरा गर्नुभएको चर्चा कांग्रेस नेताबीच ११ गतेको चुनावअघि चल्ने गरेको थियो । प्रचण्डले भन्नुभएको थियो, ‘उहाँलाई नरोक्नुस्, अनुमोदित नभएका मान्छे नभनिदिनुस् ।’

अर्कातिर सिटौला वा नेपाली काँग्रेसबाट नै राष्ट्रियसभाको अध्यक्ष बनाइने कुरामा गठबन्धन दलबीच औपचारिक सहमति जुटिसकेको छैन । माओवादी केन्द्रका एक पदाधिकारीले बताएअनुसार प्रचण्ड प्रधानमन्त्री भएका कारण संवैधानिक परिषदमा माओवादीसँग एउटा सीट छ । अर्को वर्ष सरकारको नेतृत्व छोड्दा उक्त परिषदमा माओवादी शून्य हुन्छ । त्यसैले संवैधानिक परिषद्को सदस्य हुने एकजना व्यक्ति माओवादी केन्द्रबाट चाहिन्छ र हालकी उपाध्यक्ष उर्मिला अर्याललाई बढुवा दिने भन्ने कुरामा अडान राख्ने ती नेताको दाबी छ । अर्कातिर, पार्टीको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि आफूसँग राष्ट्रियसभा अध्यक्षका विषयमा देउवाले एक वर्ष पहिल्यै बचन दिएको भन्ने गर्नुभएको छ । 

तर, यी तमाम परिस्थितिबीच पनि काँग्रेसभित्र राष्ट्रियसभा अध्यक्ष पाइसकियो भन्ने बुझाई छ । उता राष्ट्रियसभा अध्यक्षका रुपमा ६ वर्ष काम गरेपछि सार्वजनिक जीवनबाटै बिदा हुने सिटौलाको सुर छ । फागुनमा काँग्रेसको महासमिति बैठक सकिएलगत्तै हुने मन्त्रिपरिषद् हेरफेरमा पूर्णबहादुर खड्कालाई रक्षाबाट गृहमा ल्याएर अर्थमा वर्षमान पुनलाई लैजाने तयारी चलिरहेको चर्चा पनि छ । यदि त्यसो भएन भने गृहमा रमेश लेखक वा ज्ञानेन्द्रबहादुर कार्कीको सम्भावना हुनसक्छ । प्रधानमन्त्री प्रचण्डको चाहना भने आफूबाहेक कोही पनि नराखौं, सिंगो टिम नै फेरौं भन्ने छ ।

निर्वाचनमा झापाबाट सिटौलालाई हराउन राजेन्द्र लिङ्देनसँग मेलमिलाप गर्नुहुने केपी ओली झापाबाटै ‘बिग सिक्स’ मा अर्को व्यक्ति आउने कुरासँग भयभित हुनुहुन्छ । सिटौला गृहजिल्ला जाँदा–आउँदा ‘सम्माननीय’ का हैसियतले पुलिस, प्रशासन पछि लाग्ने नै भए । त्यसैले सिटौलालाई हराउनका निम्ति एमालेले आफ्नो उम्मेदवारलाई ब्याक गराई राप्रपाका उद्धव पौडेललाई भोट हाल्ने सहमति गरेको चर्चा पनि चुनाव अघि व्यापक भएको थियो ।

ओखलढुंगाबाट जसपाका एकजना मतदाता हुन् । ताप्लेजुङका एक स्वतन्त्र एमाले प्रवेश गर्दैछन् भनियो । शेखरले आफू पक्षधरको मत यताउता पारे भने मात्रै सिटौला रोकिने अवस्थामा थिए । कोशी प्रदेशमा राप्रपा र एमाले मिल्दा ८ सय ३४ ले गठबन्धन अगाडि देखिन्थ्यो । त्यस्तो अवस्थामा सिटौलालाई हराउन ४ सय १८ मत चाहिन्थ्यो । एमालेले टिकट दिएका भोजपुरका पर्शुराम अधिकारीलाई सोमबार पछाडि हटाएर रवि लामिछानेका ससुरालाई समर्थन गर्ने निर्णय गरिएको हो ।

उम्मेदवारी निस्क्रिय पारिएका अधिकारी माओवादी हुँदै एमाले भएका कारण कतिपय एमालेले उनको सट्टा सिटौलालाई मतदान गर्ने बताए । तर लगत्तै एमालेभित्र ‘राप्रपालाई दिनुभन्दा त कांग्रेस नै ठीक’ भन्नेहरु पनि देखिए । यद्यपि, रातभरिमा दक्षिण जाग्यो र शेखरपक्षीय मत राप्रपालाई गयो भने सिटौला पराजित हुने सानो खतराबीच गत साता राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भयो । अन्ततः सिटौला पनि विजयी भए ।

टिप्पणीहरू