विमानस्थलका सुरक्षा प्रमुख फुक्काफाल
9.86K shares
झण्डै १० महिनाअघि सरुवा भएर अन्तर्राष्ट्रिय विमानस्थलमा आएका डिआइजी अर्जुन चन्दले शुरुवाती दिनमा अध्यागमन पार गरिसकेपछि भिजिट भिसामा जाने यात्रुहरूलाई घण्टौंसम्म लाइन लगाएर ल्यापटपमा टाइप गर्दै लगत संकलन कार्यको थालनी गरेका थिए ।
जबकि अध्यागमनका कर्मचारीले मात्रै यात्रुको कागजात चेकजाँच गर्न पाउने अन्तर्राष्ट्रिय मान्यता छ । तर, उनी आफैंले यात्रुहरूको लगत संकलन गर्थे, जुन २० दिन पनि टिकेन । यदि, यो कार्य सही थियोे भने किन नियमित गरिएन ? गलत थियोे भने उनलाई किन कारबाही भएन ? प्रस्थान अनुमति पाइसकेका यात्रुलाई उनले घण्टौं लाइनमा उभ्याउँथे । कुनै पनि व्यक्ति बेचबिखनका लागि लैजान लागेको सूचना पाएमा अगाडिको कारबाही ‘मानव बेचबिखन व्यूरो’ ले गर्ने हो । तर, उनले वैदेशिक रोजगार व्यवसायीहरूसँग ब्यूरोको साँठगाँठ भत्काउँदै आफ्नो पोल्टामा ल्याए ।
सुदूरपश्चिम घर भएका चन्दले आफ्नै प्रदेशका वरिष्ठ सई देवबहादुर शाहीलाई घुमुवा कमाण्डर बनाएर वैदेशिक रोजगारीमा पठाउने र जाने व्यक्तिहरूसँग कुरा मिलाउँथे । यता, यात्रुहरूलाई दिएको हैरानीको बयान गरिसाध्य छैन । महत्वपूर्ण नाता प्रमाणित, विवाह दर्ता र माध्यमिक परीक्षा उत्तीर्णको प्रमाणपत्रजस्ता कागजात लुकाएर ‘दिएकै छैन’ भन्दै सताइन्थ्यो । कागजात अपुगजस्तो देखिने यात्रुहरूलाई टर्मिनलमा प्रवेश गर्नेबित्तिकै रोकिन्थ्यो, सम्पूर्ण कागजात खोसिन्थ्यो र मोलमोलाई शुरु हुन्थ्यो ।
प्रतिव्यक्ति २० देखि ३० हजार रूपैयाँसम्म लिइन्थ्यो । स्रोतका अनुसार म्यानपावर तथा ट्राभल्समार्फत आएका व्यक्तिको सूची पहिले नै प्रहरीसम्म पुगिसकेको हुन्थ्यो । उनीहरूलाई चेकजाँच गरेजस्तो गरेर छोडिन्थ्यो । यात्रुको प्रस्थान अनुमति अध्यागमन ऐनले दिएको स्वविवेकीय अधिकार भन्दै निजामती कर्मचारीले गत पुस १८ गते सेवा नै ठप्प पारेका थिए । त्यसलगत्तै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चन्दलाई आफ्नो अधिकार क्षेत्र ननाघ्न चेतावनी दिए । सो साँझदेखि नै प्रहरीबाट यात्रुको कागजात चेकजाँच बन्द गरिएको छ । गृहमन्त्रीको निर्देशनपछि उनी रोकिए तर त्यसअघि यात्रुहरूलाई दिएको दुःखको भर्पाइ कसले गर्छ ? उनको कारणले कतिपय यात्रु आफ्नो गन्तव्यमा पुग्न पाएनन् । त्यसको क्षतिपूर्ति कसले तिर्छ ? सई शाहीलगायत घुमुवा प्रहरी कर्मचारीको खाता कुन–कुन बैंकमा छ ? के–कति रकम छ ? कसरी अतिरिक्त रकम आउने गरेको थियोे ? कसको खातामा रकम सारियो र किन ? छानबिन हुनुपर्ने हो । तर, राज्य संयन्त्र लाचार भइदिँदा अन्तर्राष्ट्रिय स्तरमै नेपाली विमानस्थल बद्नाम भएको छ ।
अन्तर्राष्ट्रिय अभ्यास र प्रचलनलाई नियाल्ने हो भने प्रायःजसो विमानस्थलको बाहिरी र आम नागरिकको पहुँचसम्म निजी सुरक्षा गार्डको व्यवस्था भएको पाइन्छ । यात्रुलाई मानसिक उत्पीडनबाट जोगाउनका लागि यसो गरिएको हो । अन्तिम सुरक्षा जाँच र सीमापार अपराधका लागि प्रहरी परिचालन आवश्यक हुन्छ नै । ‘नागरिक उड्डयन ऐन, २०७३’ ले विमानस्थलमा छुट्टै ‘हवाई सुरक्षा संस्था’ को परिकल्पना गरेको छ ।
विमानस्थलमा अहिलेसम्म पनि प्राधिकरणको सुरक्षा गार्ड राखिएको छैन । सरकारले विमानस्थल व्यवस्थापन समिति र नागरिक उड्डयन प्राधिकरणको प्रत्यक्ष मातहत रहनेगरी नेपाल प्रहरी परिचालन गरेको छ । सञ्चालन र बन्दोबस्तीका लागि विमानस्थल सञ्चालन समिति छ । उक्त समितिको अध्यक्षमा महाप्रबन्धक प्रतापबाबु तिवारी छन् । त्यस्तै, बाहिरी घेराको सुरक्षाका लागि सेना, प्रहरी, अध्यागमन, भन्सार र अन्य हवाई सेवा कम्पनीहरू सदस्य छन् । विमानस्थलको धावनमार्गजस्तो संवेदनशील स्थानमा अति विशिष्ठ व्यक्तिहरूको सवारी साधन मात्रै जान पाउँछ, त्यो पनि अगुवा सवारीलाई पछ्याउँदै निश्चित गतिमा । यो अन्तर्राष्ट्रिय प्रचलन र विमानस्थल व्यवस्थापनको नियम हो । विमानस्थलमा प्रवेश गर्नुपरेमा टर्मिनल ड्युटीले स्वीकृति दिनुपर्छ । चाहे त्यो छोटो समयका लागि नै किन नहोस् । बिरामी यात्रुका लागि एम्बुलेन्स लैजानुपरेमा सम्पूर्ण विवरण भरेर पास लिनुपर्ने व्यवस्था छ ।
अत्यावश्यकबाहेकका सवारी साधन सामान्य यात्रुहरूको पहुँचस्थल ल्याण्डसाइडसम्म मात्र जान पाउँछ । विमानस्थल प्रमुख अर्थात सञ्चालक समितिका अध्यक्ष तिवारी आफैं पनि आवश्यक पर्दा लाइफ ज्याकेट लगाएर यातायात व्यवस्था शाखाले उपलब्ध गराएको साधनमा धावनमार्ग वरिपरि जाने गर्छन् । रोचक प्रसँग त के भने, महाप्रबन्धकको प्रत्यक्ष मातहत र निगरानीमा रहेका हवाई सुरक्षा गार्ड प्रमुख डिआईजी चन्दको गाडी नै जतिबेला पनि धावनमार्गमै हुन्छ । अन्तर्राष्ट्रिय अभ्यास र विमानस्थलको सुरक्षा योजनालाई कुल्चिँदै उनको सवारी साधन कहिले आन्तरिक टर्मिनलस्थित आइरन गेटबाट त कहिले आयल निगमको डिपोमा प्रवेश गर्ने गेटबाट धावनमार्गमा गइरहेको देखिन्छ ।
आखिर उनले धावनमार्गसम्म नलगी नहुनेचाँहि के रहेछ ? कथं उक्त सवारी साधनमा चोरीपैठारीको सुन कसैले हालिदियो भने क–कसको भागमा पर्छ ? विमानबाट प्यासेञ्जर बोकेर अध्यागमनको गेटसम्म आउने बसको ठ्याक्कै पछिल्तिर डिआइजीको गाडीले किन एम्बुस थापिरहन्छ ? यस्तो काममा पहिले पनि एसएसपी रविराज श्रेष्ठ र हाल राष्ट्रपतिको जोडले गण्डकी पुगेका डिआइजी विकास खनाल मुछिएको हैन ?
9.86K shares
टिप्पणीहरू