सेनाको ब्यारेकमा बाख्राको स्वाद
व्यारेकभित्र खसीले छोपेर बाख्राको मासु भित्रियो, कुट्न ठिक्क पारिएका ठेकेदार भने ठाउँको ठाउँ गायव ।सेनाको भौतिक संरचना निर्माणसम्बन्धी काम हेर्ने स्थपति विभागका लेफ्टिनेन्ट कर्णेल निश्चयजंग रायमाझी यौनकाण्ड लागेर हिरासतमा बसे । अनि, नाटकीय शैलीमा मुक्ति पाएजस्तो व्यारेकमा बाख्रा भित्र्याउने ठेकेदारले पनि त्यही शैलीमा उन्मुक्ति पाएका छन् ।
निश्चयजंगले नै पल्काएका ठेकेदारले सुर्खेत पृतनामा यस्तो गरेको घटना भर्खरैको हो । उनी सुर्खेतमा छन् तर कहिल्यै व्यारेकभित्र खाँदैनन् । ठेकेदारले बाहिरै व्यवस्था गर्ने ‘मीठो–मसिनो’ मा आफू रमाउने भएपछि सिपाहीलाई बाख्रा खुवाउन बाटो खुल्ने नै भयो । गत माघे संक्रान्तिको अघिल्लो दिन उत्तरपश्चिम पृतनामा ठेकेदारले व्यारेकभित्र २–३ वटा खसीसँगै बोरामा बाख्राको मासु छिराउँदा छिराउँदै सिग्नल्सको ड्युटीले फेला पा¥यो । भेटिनेबित्तिकै ठेकेदारका कर्मचारी पनि समातिए ।
सिपाहीहरुले तत्काल डयुटी अफिसरलाई रिपोर्ट गरे । तर, त्यहाँबाट पृतनापति जर्नेल कृष्णदेव भट्टलाई भनेर वा नभनेर हो, ‘मिलाएर छाडिदेऊ’ भन्ने आदेश गयो । जर्नेल कृष्णदेव सेनाको खरिद–बिक्री हेर्ने सम्भाररथीमा बसेर गएका व्यक्ति हुन् । त्यसैले ठेकेदारहरुसँग उनको पनि बाक्लो हिमचिम रहेको आशंका छ । बाख्राको मासु फेला परेपछि सिपाहीहरु उत्तेजित भइरहेका थिए । उनीहरु ठेकेदारलाई पिट्न भनेर ठिक्क परेका थिए । तर, पिट्न दिइएनमात्रै हैन, छिनभरमै ती कर्मचारीलाई त्यहाँबाट गायव पारियो । ‘अबदेखि यस्तो नगर्ने, ल्याएको बाख्रा फिर्ता गरेर खसी ल्याउने’ भन्दै छूट दिइयो ।
सेनाको हरेक पृतनामा तोप, बम हान्ने आर्टिलरी, इञ्जिनियर्स र सिग्नल अर्थात् सञ्चारको युनिट तैनाथ हुन्छन् । त्यहीँभित्र इन्फेन्ट्री बटालियन पनि हुन्छ । ती सबैलाई रासन खुवाउने ठेकेदारचाहिँ प्रायः एउटै । सुर्खेत पृतनाअन्तर्गत १२–१३ हजारको फौज रहेको छ । सेनामा सबभन्दा बढी धनुषाको मध्यपृतनामा १६ हजारको फौज छ । त्यसपछि सुर्खेत नै हो । नियमअनुसार व्यारेकमा बस्ने प्रत्येक सैनिकलाई हप्तामा दुई छाक खसीको मासु, अर्को दुई छाक कुखुराको मासु खुवाउनुपर्छ ।
खसीको पालामा बाख्रा र कुखुराका पालामा ४० रुपैयाँ केजीको मरेका कुखुरा मिसाइदिँदा ठेकेदार फाइदामा हुन्छन् । नत्र, उनले जर्नेलहरुलाई बुझाउनुपर्ने महिनावारी बुझाउन समस्या हुन्छ । त्यसरी मरेका कुखुर व्यारेकमा भित्र्याएबापत ती सामग्री सम्हाल्नुपर्ने क्वार्टर माष्टरलाई अलग्गै सुविधा दिने गरिएको छ । बाहिरैबाट तिनका घर वा डेरामा जिउँदो कुखुरा झरिसकेको हुन्छ । त्यसैले व्यारेकभित्र मरेको कुखुरा ल्याएकोबारे उनले मतलब गर्दैनन् । उत्तरपश्चिम पृतना सुर्खेतमा पहिल्यैदेखि शम्भु नामका ठेकेदारले राशन सप्लाई गर्दै आएको बताइन्छ ।
सेनाको व्यारेकमा बाहिर काटेको मासु खान पाइँदैन । त्यसैले गाडीमा तीनवटा खसी लैजाँदा डिकीमा बाहिरै काटिएको बाख्राको मासु हाल्ने गर्छन् । र, खसी काट्नेबित्तिकै बाख्राको मासु त्यसमा मिसाइन्छ । प्रत्येक माघबाट सेनाले राशनका लागि नयाँँ ठेक्का खोल्ने गरेको छ । संक्रान्तिकै दिन बाख्राको मासु भित्र्याउने त्यहाँका ठेकेदार फेरिनुपर्ने हो, तर फेरि पनि उनै शम्भुले काम पाएका छन् ।
उता, इटहरीस्थित पूर्वी पृतनामा चामल काण्डलाई चिनी र जिराले छोपछाप पारिएको छ । त्यहाँका क्वार्टर माष्टरमाथि चामलको बोरा हिनामिना गरेको आरोप लागेको हो । उनले व्यारेकभित्र सय बोरा चामल झारेको भनेर ३० बोरा गायब पारेका थिए । यो घटना मंसिर अन्तिम हप्ताको हो । पछि हर्क राई भन्नेले कुरा उठाएपछि उनलाई चिनी, जिरा दिएर थुम्थुम्याइएको थियो ।
टिप्पणीहरू