तीस वर्षेले पाइलैपिच्छे तनाव

तीस वर्षेले पाइलैपिच्छे तनाव

हाकिम र सिपाही : दुबैलाई चाहिएको छ, सुविधा । त्यस्तो नहुँदा ‘के गरौं–कसो गरौं’ भन्ने द्विविधा ! सशस्त्र प्रहरीको हकमा यस्तो भएको हो । विद्यमान ३० वर्षे सेवा अवधि हट्यो भने संगठनको आगामी नेतृत्व अहिलेका केही डिआइजी र एआइजीले सम्हाल्ने मौका पाउँछन् । अन्यथा, महानिरीक्षकको पूरै कार्यकाल सिध्याएर राजु अर्याल भूपू हुने बेलासम्म केही डिआइजी र एक जनाबाहेक भएभरका एआइजी पहिल्यै गइसकेका हुनेछन् ।

३० वर्षे रहँदा ०५१ का अभी खत्री र दुर्गा भट्टराईहरू अर्को वर्ष भदौ १६ गते घर जान्छन् । त्यसपछि ०५४ का कुलबहादुर नेम्वाङ र ०५६ का गणेश ठाडा, कमल गिरीहरूको पालो आउँछ । तर, ३० वर्षे हटाई उमेर हद र पदावधिका आधारमा अवकाश हुने व्यवस्था भयो भने अहिलेका डिआइजीहरू प्रायः एआइजी हुने र डिआइजीबाटै घर जानुपर्नेमध्येका एक–दुई जनाले आइजिपीमा मौका पाउने अवस्था छ ।

डिआइजीहरूका निम्तिमात्रै हैन, अहिलेका दुई एआइजीको हकमा पनि यो व्यवस्था उत्तिकै कामलाग्दो हुन सक्छ । किनभने, ३० वर्षे लागेर अहिलेका आइजी राजु घर जाँदासम्म वरिष्ठतम् एआइजी नारायणदत्त पौडेल १४–१५ महिना, ३० वर्षे हटेमा ३ वर्ष खाने स्थितिमा हुन्छन् । नत्र वंशी दाहाललाई पौडेलले मज्जैसँग छेक्ने र सेनाबाट आएका अन्तिम हाकिम (एआइजी) सीपी गौतम पनि २ वर्ष लाभान्वित हुने अवस्था पनि छँदै छ । 

उता, निवृत्तिभरण (पेन्सन) को व्यवस्थामाथि संशोधन नहुँदा सशस्त्रको तल्लो दर्जाका कर्मचारी मारमा परेका छन् । विशेषतः हवल्दार, वरिष्ठ हवल्दार दर्जाका कर्मचारीले जीवनभर जागिरमा घोटिनुपर्ने अवस्थाबाट मुक्ति पाउन पेन्सनको अवधि संशोधन जरुरी भएको हो । १६ वर्षपछि जागिर छाड्नेले अर्को चार वर्षपछि (२० वर्ष) पेन्सन पाउने व्यवस्था सेनामा छ ।

अहिलेको व्यवस्थाअनुसार २२ वर्षको उमेरमा जागिर खाएको एउटा सिपाही १६ वर्षमा ३८ वर्ष उमेरको हुन्छ । वैदेशिक रोजगारीतर्फ सेक्युरिटी गार्डमा विदेश जान ४० वर्ष उमेर नकटेको हुनुपर्छ । नत्र, नेपालले श्रम स्वीकृति दिँदैन । सेनाकैजस्तो अवस्था ल्याउन पाए हुन्थ्यो भन्ने सानो दर्जाका कर्मचारीको चाहना छ । 

उता, बढी कर्मचारीलाई छुट्टीमा छोडेर रासन खाएको आरोपमा एक जना हाकिम तानिएका छन् । तनहुँस्थित २३ नम्बर मनकामना गण भानुका एसपी कमलचन्द्र गैरेले ७० प्रतिशतभन्दा बढी, अर्थात् १ सय ७५ जनालाई एकैचोटि बिदा छोडेपछि त्यस्तो भएको हो । उनलाई त्यहाँबाट पश्चिम नवलपरासीस्थित बर्दघाट तालिम केन्द्रको तेस्रो हैसियतमा पठाइएको छ । 

 

टिप्पणीहरू