सबै एकनाशका भैदिए हुने नि संसारमा

सबै एकनाशका भैदिए हुने नि संसारमा

सन्तान जन्मिँदा घर परिवार, छरछिमेक मात्र होइन, गाउँभर हल्ला हुन्थ्यो । विशेष खुशियालीको माहोल छाउँथ्यो । तर, तिलबहादुर कार्कीको जन्म यस्तो अपवाद रह्यो कि घरमा चिन्ताको माहोल थपियो । कारण हो– जन्मँदै अपांग, दुई पैताला विपरीत दिशातिर फर्किएका, खुट्टा र हातमा १२–१२ वटा औँला ।

पाँच दशकअघि झापाको मध्यम वर्गीय परिवारमा जन्मिएका थिए तिल । उनी बाँच्छन् भन्ने आश परिवार/आफन्त/छरछिमेकीले गरेनन् । तर, यी सब सोचको विपरीत स्वास्थ्य राम्रो हुँदै गयो, उनी जीवितै हुन्छन् भन्ने परिवारको विश्वास बढ्दै गयो । गाउँलेहरू अघिपछि धेरै थरी कुरा काट्थे । शारीरिक रूपमा अपांग जन्मिएका कारण बाटो घाटोमा समाजले उनी र मेरी आमालाई देख्दा ‘अलच्छिना’को ट्याग लगाउँथ्यो । साइत गरेर हिँडेकाहरू बाटोमा देख्दा साइत बिग्रियो भनेर फर्कन्थे । मुखभरिको गाली फर्काउँथे । शारीरिक रूपमा अपांग जन्मनुमा के दोष ? अपांग सन्तान जन्माएको भन्दै आमाले घरमै समेत बास पाइनन् । कैयौँ रात गोठमा गाईभैँसीसँगै बिते । यसमा आमा हर्कमायाको के दोष ? हुन त हजुरबा पञ्चायतका अध्यक्ष थिए । तैपनि आमा र उनीमाथि मानवीय व्यवहार थिएन ।

अपांग बन्ने रहर कसलाई हुन्छ र ?  राज्य र राज्यका निकायमा बस्नेहरूले गरेको व्यवहार सम्झँदा भक्कानिन मन लाग्छ ।

सबै एकैनासका कहाँ हुन्छन् र कोही दयाको भावले हेर्थे कोही मायालु आँखाले । आखिर दया र माया भन्ने चिज पनि आकाश र जमिन जत्तिकै रहेछ । केही भन्थे ‘विचरालाई पूर्वजन्मको श्राप लागेछ ।’ मुटु चिमोट्ने यस्ता बज्र धेरै पटक कानमै ठोक्किएर गए तर दिमागबाट मेटिएनन्, ती आवाज । स्कूल जाने उमेरको भइसक्दा आमाले एकाबिहानै मकै भटमास भुटेर झोलामा राखिदिइन् । शरीरमा नयाँ कपडा थियो । र, पुगे, दुर्गा माध्यमिक विद्यालय । त्यहाँ साथीभाइले धेरै गिज्याउँथे, मजाकमा उडाउँथे । शारीरिक रूपमा अक्षमलाई आज त हेयका दृष्टिले हेरिन्छ भने कल्पना गरौं त ५ दशक अगाडिको स्थिति ? अक्षमताका कारण स्कुल जान निकै सास्ती खेप्नुपथ्र्याे । केहीले शरीरमा पिसाब फेरिदिन्थे । यी सबै दुव्र्यवहार भोगे पनि मर्ने प्रयास पनि गरे, उडुस मार्ने औषधि खाए तर मर्न सकेनन् । घर छाडेर हिँडाउँदा आमालाई सुख होला कि भन्ने पनि लाग्यो !

०३८ साल पुसमा घर छाडेर निस्किए । १५ पुसको चिसोमा काठमाडौं बानेश्वर आइपुगे । भोकले लखतरान । होटलमा काम पाइएला कि भनेर भाडा माँझ्ने काम मागे तर साहुजीले ढोकाबाट घचेटे । गाउँमा हुँदा पशुपतिबारे सुनेकाले रुँदै पशुपतिसम्म पुगे । त्यहाँ एक जना सज्जनले मागेर जीवन निर्वाह गर्न सक्ने सल्लाह दिए । र, माग्न बस्ने ठाउँ देखाइदिए । पशुपति अगाडिको सडकमा खुट्टा देखाउँदै घरबाट लिएको बोरा थापेर माग्न बसे । त्यसरी सडकपेटीमा बसेर झण्डै २५ वर्षसम्म मागे । चुरोट, जाँड, रक्सीको लत थिएन । मागेको पैसा सबै जम्मा हुन्थ्यो । जम्मा भएको पैसा कहाँ राख्ने ! सिरानीमा च्यापेर सुत्थे । एक दिन घस्रँदै जयवागेश्वरी पुगे । त्यहाँ खुकुरीले केही गहिरो गरेर खने र मागेर आएको रकम जंगलको खाल्डोमा राख्न थाले । यो क्रम चल्यो २५ वर्षसम्म । ०६३ सालको एक दिन गौशाला प्रहरी चौकीमा पुगे, अरु समय पनि त्यहाँ गइरहन्थे । त्यहाँका प्रहरीसँग खाल्डो खनेर पैसा निकाल्न सहयोग मागे । भने, ‘मैले मागेको पैसा खाल्डोमा गाडेको छु । एक्लै निकाल्न सक्दिनँ, तपाईंहरूले निकाल्दिनुपर्‍यो । यो पैसाले मजस्तै मान्छेलाई आश्रय दिने काम गर्छु ।’ 

प्रहरी खाल्डोमा पुग्यो र पैसा निकाल्न थाल्यो । त्यहाँ सिक्का धेरै थिए । अधिकांश नोट कुहिसकेका । ती पूरै सिक्का गन्न प्रहरीलाई ३ दिन लाग्यो । सिक्का प्रहरीले बैंकमा दिएर नयाँ नोट ल्याइदिए र अगाडि राखिदिए– ५ लाख ५१ हजार २५ रूपैयाँ । पैसाको बिटो देख्दा बेहोस भएर ढले । होशमा आउँदा त्रिवि शिक्षण अस्पतालको बेडमा थिए । यो रकम आफ्नो व्यक्तिगत लाभका लागि खर्च गर्न सक्थे । त्यो बेलाको पैसाले जग्गा जमिन जोड्न सक्थे । त्यही जग्गा जमिनमा लगानी गरेर ब्रोकरको काम गरेको भए अहिले काठमाडौंमा ३/४ वटा घर बन्थ्यो होला तर आफूजस्तै असहाय बालबालिकालाई सम्झिए । तिनको सहारा बन्ने प्रण गरे र ०६३ सालमै असहायहरूको सहायता गर्ने हेतुले संस्था जन्माए ज्वाइन्ट डिसएबल युनिटी आवाज सेन्टर ।

संस्था जन्माएपछि विभिन्न जिल्लामा पुगेर बच्चा जम्मा ११ जना बच्चा बोकेर काठमाडौं छिरे । संंस्था स्थापना भएको केही महिनामै भीख मागेर जम्मा भएको ५ लाख रकम सकियो । ती बालबच्चालाई भोकै राख्नु भएन । शिक्षाबाट वञ्चित गर्नुभएन । पसल पसलमा गएर मुठीदान अभियान चलाए । दुई तीन ठाउँ परिवर्तन गरेर अहिले संस्था गोकर्णमा सञ्चालित छ । १० वर्षका लागि ६ रोपनी जग्गा भाडामा लिएर ५७ बालबालिकाको लालनपालन र शिक्षादीक्षा गर्दै आएका छन् । यी बालबालिकाको शिक्षादीक्षा, लालनपालन र कार्यालय सञ्चालनमा मात्र मासिक ७ लाख हाराहारी खर्च हुन्छ । यही संस्थाबाट प्लस टु सकेर ७ जना विद्यार्थी निस्किसकेका छन् । कोही रोजगारीका लागि कोरिया पुगेका छन् । ५७ अपांगता भएका, द्वन्द्वपीडित, कारागारका बच्चा र ०७२ सालको भूकम्पमा अभिभावक गुमाएका छन् । यो सफलता त सबैले देखे तर यसनिम्ति कति पापड पेल्नुपर्‍यो ? क–कसको दुर्वचन सहनुपर्‍यो ? त्योचाहिँ मनको कुनामा छ ।

आर्थिक सहयोगको खोजीमा कहाँ–कहाँ मात्र पुगेनन् ? क–कसलाई मात्र गुहारेनन् ? नगरपालिका, महानगरपालिका, शिक्षा, स्वास्थ्य, समाजकल्याण मन्त्रालय, कर्पाेरेट हाउसदेखि नाम चलेका विद्यालयसम्म । तर, हुँदैन कोही नभन्ने । सहयोग कसैले नगर्ने । अपांग बन्ने रहर कसलाई हुन्छ र ? जानी–जानी को अपांग बनेको हुन्छ ? के थाहा आजको सग्लो मान्छे भोलि अपांग बन्न पनि सक्छ । राज्य र राज्यका निकायमा बस्नेहरूले गरेको व्यवहार सम्झँदा भक्कानिन मन लाग्छ भन्छन् । सरकारी निकायमा सहयोगका लागि धाउँदा धाउँदा ६ जोर चप्पल फाटे, कहीँ कतैबाट कौडी सहयोग मिलेन । उसो त उनी आफैं दीर्घरोगी । लामो समयदेखि मधुमेह र उच्च रक्तचापको औषधि खाइरहेका । यति हुँदा पनि बालबालिकाको भविष्यका लागि सबैसामु हारगुहार गरिरहेकै थिए । तर, सुन्नुपर्ने, देख्नुपर्ने राज्यले देखेन ।

५७ बालबालिकाको १६ वर्षसम्म रेखदेख गरेमध्ये १० जनालाई जागिर खाने योग्य बनाए । यहाँ टिक्न दिएनन् । संस्थाको वार्षिक भाडा मात्र तीन लाख ६० हजार, वैशाखमा तिर्नु छ । यो खर्च जुटाउन नसकेपछि, राज्यले नहेरेपछि बाध्य भएर उनी अमेरिकातिर लागेका छन् । त्यहाँ भाँडा माझेरै भए पनि यहाँका बच्चाको शिक्षा दीक्षा, रेखदेख गर्न सकिएला कि भन्छन् ! मेरो अनुपस्थितिमा यी बच्चा सडकमा नपुगुन् । यी बच्चाको बिल्लीबाठ नहोस् । कामना गर्र्दैछन् ।

टिप्पणीहरू