माल्दिभ्सको टापु र कोलम्बोको होटल कसरी किनियो ?

विनोद चौधरीमाथि प्रश्नको बाढी

माल्दिभ्सको टापु र कोलम्बोको होटल कसरी किनियो ?
सुन्नुहोस्

विवादास्पद व्यापारी तथा कांग्रेस सांसद विनोद चौधरी फेरि एकपटक चर्चामा छन् । उनले लिएको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा प्रकरणमा कान्छा भाइ अरूणलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले थुनेको छ ।

कर छलीलगायत सैयौं काण्डमा जोडिँदै आएका विनोदले वाइवाइ चाउचाउमा गरेको भनिएको लगानीको मुख्य स्रोत पनि विवादमा छ । ०५८ को राजदबार हत्याकाण्डअघि उनको आन्तरिक र बाह्य लगानीको स्रोतबारे धेरैले भित्रभित्रै चर्चा गरे पनि सार्वजनिक रूपमा खासै प्रश्न उठाएका थिएनन् । तर, हत्याकाण्डमा तत्कालीन राजारानी, युवराज, अधिराजकुमारलगायत  (ज्ञानेन्द्रको परिवारबाहेक) १० जना शाही नातेदार मारिएसँगै चौधरीको व्यवसायले दिन दुई गुणा, रात चौगुणाको हिसाबाले छलाङ मारेको उनैको आत्मकथाले धेरै कुरा बताउँछ । 

नबिल बैंकमा बंगलादेशको एनबी इन्टरनेशनलका नाममा गरिएको विवादास्पद सेयर लगानी, माल्दिभ्समा किनिएको आइल्याण्ड (टापु) र श्रीलंकाको राजधानी कोलम्बोका होटलको खरिद स्रोतबारे सरकारी निकाय कसैले सोधपुछ गरेको देखिँदैन । स्रोत भन्छ, ‘यसको सत्यतथ्य तत्कालीन राजा वीरेन्द्रका एडिसी जर्नेल शान्तकुमार मल्ललगायतलाई राम्रैसँग थाहा छ ।’ यसबारे जानकारी लिन मल्लसँग सम्पर्कका लागि गरिएको प्रयास सफल हुन सकेन । बुढ्यौली उमेरमा रहेका मल्ल यी र यस्ता कैयन तथ्य बाहिर नआओेस् भनी घरभित्रै सीमित भएको राप्रपाका केही शीर्ष नेताहरु बताउँछन् । ‘माल्दिभ्सको आइल्याण्ड र कोलम्बोको होटलबारे ताराबहादुर थापा र यी मल्ल जर्साब राम्रैसँग जानकार छन् ।

त्यो बेला काठमाडौंका सम्भ्रान्तहरूको भेटमा रानी ऐश्वर्यले माल्दिभ्समा किनेको आइल्याण्डमा मौका मिले घुमाउन लैजाने वचन दिएको एक जना गल्कोटे मल्ल परिवारकी बुहारीले जनआस्थालाई बताइन् ।ताराबहादुरका छोरा सागर हाल दुई तारे जर्नेल र उपत्यका पृतनापति छन् । पत्नी प्रणिता र उनले समेत रानी ऐश्वर्यको सम्पत्तिमा केही व्यापारीले लखनौ लुट मच्चाएको बारे सोधीखोजी गरिएमा केही सूचना राज्यलाई उपलब्ध गराउन सक्छन् । 

दरबार हत्याकाण्ड नहुँदै राजा वीरेन्द्रको पैसा त्यो बेला क्याप्टेन रविन्द्र प्रधानले कस्मिक एअरमा लगानी गरेको बताइन्छ । रानी ऐश्वर्यसँगै, अधिराजकुमार धीरेन्द्र र प्रेक्षाको पैसा विनोद चौधरीले चलाएको भन्ने राजदरबारका नातेदारहरू अहिले पनि प्रशस्त छन् । ढाँटेको कुरो काटे पनि मिल्दैन भनेझैँ चौधरीको आफ्नै आत्मवृत्तान्तमा निर्वाण वनस्पति घ्यू, जस्तापाता, वाइवाइ चाउचाउलगायतमा गरिएको लगानीको स्रोतबारे शंकास्पद संकेत पाइन्छ । संयोगवश् धीरेन्द्र दम्पत्तिसहित वीरेन्द्रको वंश नै विविध दुर्घटनामा नाश भइसकेको अवस्था छ । दरबार हत्याकाण्डपछि राजा वीरेन्द्रको नाममा रहेका सबै सम्पत्ति नेपाल ट्रष्टमा गइसकेको छ । तर, माल्दिभ्स र श्रीलंकामा त्यतिबेला किनिएका ती टापु र होटलबारे राज्यले खोजतलास गर्न सकेको छैन । 

राष्ट्रवादी मानिएका राजा, रानीले विदेशमा आफ्नै नामबाट सम्पत्ति जोड्ने कुरा आएन । त्यसैले विश्वासिलो पात्र खडा गर्नै प¥यो । नेपाल सरकारको तर्फबाट श्रीलंका र माल्दिभ्स सरकारलाई सोधनी भएको खण्डमा पनि वास्तविकता खुल्ने नै छ । नेपाल ट्रष्टले त्यसका लागि गृह मन्त्रालयलाई पत्र लेख्नुपर्ने हुन्छ ।

राजा वीरेन्द्रको सम्पत्ति संकलन गरिए पनि मरेर गएका रानीलगायत अन्यको सम्पत्ति खोइ ? भनेर नयाँ बहस थाल्नुपर्ने एक जना पूर्व गृहसचिवले बताए । उनी भन्छन्, ‘पूर्वमन्त्री तथा राजदूत डा. भेषबहादुर थापाको हालै प्रकाशित पुस्तकमा रानी ऐश्वर्यबारे राम्रै वर्णन गरिएको छ । जसमा अमेरिकाजाँदा ऐश्वर्यले गरेको डेढ लाख डलरसम्म नगद किनमेल गरेको उल्लेख छ । राजपरिवारका तत्कालीन सदस्यले विदेशमा किनेका महँगा सम्पत्तिको स्रोत खोज्नु सरकारको परम दायित्व हो । 

टिप्पणीहरू