रविजी, नैतिकता पढाउने हो कि पालना गर्ने ?

रविजी, नैतिकता पढाउने हो कि पालना गर्ने ?
सुन्नुहोस्

माघ ८ गते धेरै नेपालीको ध्यान वनस्थलीमा थियो, त्यो दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै थिए । त्यही दिन बिहान लामिछानेले प्रश्नहरू लिएर आउन उर्दी जारी गरेका थिए, कोही नछुटुन् कुनै प्रश्न नछुटोस् भन्ने उनको ध्येय थियो ।

त्यो दिन पंक्तिकार प्रश्न बोकेर रास्वपा पार्टी कार्यालय जान सकेन । कहिलेकाहीं प्रश्न नसोधे पनि जवाफ पाइन्छ भन्ने आश हुन्छ । त्यो दिन पंक्तिकारलाई पनि त्यही आशा थियो । तर पुरै पत्रकार सम्मेलन सुन्दा सुन्न चाहेको जवाफ आएन । सहभागी पत्रकारले पनि पंक्तिकारले जवाफ सुन्न चाहेको प्रश्नै सोधेनन् । 

संसदीय समितिदेखि सार्वजनिक कार्यक्रममा गृहमन्त्री र दलका नेतालाई नैतिक पाठ सिकाउने लामिछानेले त्यो दिन नैतिकता देखाउनै सकेनन् । अरूलाई नैतिकताको पाठ सिकाउनेले पहिले आफूले नैतिकता देखाउनुपथ्र्यो, त्यो देखाएनन् । त्यो दिन उनले भन्न सक्नुपथ्र्यो, ‘सहकारी घोटालामा मेरो नाम मुछियो, म पदमा रहँदा अनुसन्धानमा असर पर्न सक्छ ।

मलाई अनुसन्धान नसकिँदासम्म सांसदबाट निलम्बन गरियोस्, पार्टी नेतृत्व अहिलेबाटै छाडें । अनुसन्धान भएर निर्दोष ठहरिएपछि संसद् र पार्टी नेतृत्वमा फर्कन्छु ।’तर यी पंक्ति सुन्ने आशा मरिसकेको थिएन, पत्रकार सम्मेलनमा त पक्कै पत्रकार नै जालान् र, ‘तपाईं शक्तिमा हुँदा अनुसन्धान प्रभावित हुन्छ, निष्पक्ष अनुसन्धानका लागि पार्टी नेतृत्व र सांसद पद किन छाड्नुहुन्न ?’ भनेर प्रश्न सोध्लान् भन्ने लागेको थियो । तर कसले सोध्ने प्रश्न ! पंक्तिकारले सोच्यो, लामिछानेलाई पत्रकार सम्मेलन गर्ने बानी परेको छ । अर्को पत्रकार सम्मेलनमा भन्लान् नि भनी पर्खिएर बस्दा बस्दा दुई हप्ता बित्यो तर जवाफ आएन अनि यी पंक्ति लेख्नु पर्ने बाध्यता आइलाग्यो । 

लामिछानेलाई पत्रकार सम्मेलनको मात्रै हैन, माफी माग्ने बानी पनि लागिसकेको छ । त्यो दिन पनि उनले माफी मागे– ‘हामीले एक–अर्काविरूद्ध लड्ने होइन, बेथितिविरूद्ध लड्ने हो । तपाईंहरू कत्तिले अपेक्षा गरेजस्तो अघिल्लो प्रेस मिटजस्तो हुने जस्तो हुने हो कि, हेडलाइन पाइने भयो, गजब टिआरपी हुने भयो भनेर आउनुभयो होला, यसपालि तपाईंहरूलाई घाटा हुने भयो र अघिल्लो पटकको प्रेस मिटमा मैले आवेशवश पर्सनल अट्याक पनि गरेको छु । त्यसका लागि क्षमा चाहन्छु ।

त्यस्तो मेरो उद्देश्य होइन । कतिपय सवालमा डा. रामेश कोइरालाजस्तो साथीलाई पर्न गयो, यसपटक क्षमा गर्नुहोला । धर्म भुसाललाई, सम्भव सिरोहियालाई हुन गयो । मैले त्यसरी व्यक्तिगत तहमा नगएको भए पनि हुने । त्यसरी आज प्रस्तुत हुँदिन, भविष्यमा पनि त्यसरी प्रस्तुत हुने विचार गरेको छैन ।’ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले सहकारी घोटाला प्रकरणमा जोडिएका ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु जीबी राईसहित उनका साझेदारविरुद्ध छानबिन अघि बढाएको छ । टेलिभिजन सञ्चालनका क्रममा अध्यक्ष जिबी राईको व्यावसायिक साझेदार भएका रवि लामिछानेमा समेत पोखराको सूर्यदर्शन सहकारी, चितवनको सहारा चितवन सहकारी तथा बुटवलको सुप्रिम सहकारीबाट पैसा निकासा भएको विभिन्न प्रमाणहरूले देखाइसकेका छन् ।

टिभी चलाउन सूर्यदर्शन सहकारीबाट १० करोड बढी, सहारा चितवन सहकारीबाट ११ करोडभन्दा बढी र बुटवलको सुप्रिम सहकारीबाट १० करोडभन्दा बढी रकम लगिएको प्रमाण सार्वजनिक भइसकेका छन् । जतिबेला टेलिभिजनमा लामिछानेको १५ प्रतिशत शेयर थियो । तिनै प्रमाण बोकेर अहिले यी तीनैवटा सहकारीका बचतकर्ता रकम फिर्ताका लागि सघाउन लामिछानेलाई आग्रह गरिरहेका छन् ।

सहारा चितवन सहकारीका पीडितहरू त स्वयम् लामिछानेका मतदातासमेत भएकाले रकम फिर्ताका लागि घच्घच्याउने र दबाब दिने काम थप बढी नै भएको छ । लामिछाने चितवन पुग्नासाथ सहकारी पीडितले घेरा हाल्ने अवस्था बनिसकेको छ । ५ गते पनि लामिछाने भरतपुरस्थित रास्वपा पार्टी कार्यालय पुगेलगत्तै सहकारी पीडित जम्मा भएर आफ्नो डुब्न लागेको बचत उकासिदिन आग्रह गरे । तर लामिछानेले आफ्ना व्यावसायिक साझेदार जिबी राईको सन्दर्भमा प्रवेश नै नगरी सहकारीका बचतकर्ताको पैसा सरकारले फिर्ता गरिदिनुपर्ने जिकिर गरे । यति मात्र होइन उनले त सहकारीका लागि सरकारले अनुमति दिएकाले अनुमति दिएका इकाइको कारोबारको जिम्मा नै सरकारको भएको भन्न भ्याए । 

लामिछानेको यो जवाफ गैरजिम्मेवारीको पराकाष्ठा हो । देशभित्रका हरेक व्यापार व्यवसाय वा औपचारिक क्षेत्रको कारोबारका लागि सरकारले अनुमति दिन्छ । तर तिनले गर्ने घोटालाको जिम्मेवारी लिएर ठगिनेहरूलाई पैसा तिरेको देखिएको छैन । लामिछानेले भनेको जस्तो ठगीमा परेकाको पैसा तिरिदिने, ऋणमा परेकाको ऋण मिनाह गरिदिने त्यस्तो कल्पनाको रामराज्य यो होइन । सरकारले रकम फिर्ता दिने जवाफबाट बचतकर्ता विश्वस्त छैनन्, यहाँ त्यस्तो हुँदैन, हुने गरेको छैन ।

रास्वपा सभापति लामिछानेमाथि बचतकर्ताको चासो जिबी राईसँगको सम्पर्क र सम्बन्धमा पनि हो । बचतकर्तालाई लामिछाने अहिले पनि जिबी राईसँग सम्पर्कमा भएको शंका छ । र, यो पीडा लामिछानेले सुनाइदिऊन् भन्ने चाहनासमेत छ । तर बचतकर्ताको अर्बौं खाएर भाग्ने सहकारी सञ्चालकलाई पक्राउ गरेर थुन्दैमा पनि समस्या समाधान हुन्छ र ? यतिबेला सिआइबीले राई जोडिएको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी र चितवनको सहारा चितवन सहकारीको फाइल झिकाएर अनुसन्धान सुरु गरेपछि कतिपय बचकर्तालाई पैसा फिर्ता हुने र दोषी कारबाहीको दायरामा आउने आश पनि जागेको छ । तर राजनीतिक चलखेल र प्रभावका कारण बचत फिर्ता नहुने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ । यस्तो अवस्थामा आफैँ सांसद र पार्टी सभापतिसमेत रहेका लामिछानेले सबै जिम्मा सरकारकै हो भनेर पन्छिँदा उनको जिम्माचाँहि के हो त भन्ने प्रश्न बचतकर्ताले गरेका छन् । 

तर, गोरखा मिडिया नेटवर्क प्रालिको प्रवन्ध निर्देशक रहँदा सहकारी बचतकर्ताको रकम बिनाधितो लिएको र कम्पनी छोड्दा शेयरबापतको रकमसमेत बुझेको तर सहकारी डुबाएको आरोप खेपेका रास्वपा सभापति लामिछाने आफू निर्दोष रहेको सावित गर्न भाष्य नै बंग्याउने प्रयासमा छन् । माघ ९ गते मंगलबार काठमाडौंमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी पीडितलाई न्याय दिन नचाहेको बरु आफूलाई फसाउन खोजेको दाबी गरे । 

जबकि दृश्यमा देखिएको वास्तविकता त के हो भने सरकारले जिबी राईलाई पक्राउ गर्न खोजिरा’छ र त्यसका लागि डिफ्युजन नोटिस जारी गरेको छ । यतिसम्म कि राई नेपाल वा भारतमा रहेको र केही दिनमै पक्राउ पर्ने वा आत्मसमर्पण गर्नेसम्मको सम्भावनासमेत छ । सहकारीका वचतकर्ताको करोडौँ रकम हिनामिनामा मुछिएर पटकपटक जवाफ दिनुपर्ने अवस्थामा पुगेका लामिछानेले यसलाई विषयान्तर गरेर गृहमन्त्री श्रेष्ठले आफूलाई फसाउन खोजेको भनिरहँदा उनको अभिव्यक्ति खाली सहानुभूति बटुल्नेमा केन्द्रित देखिन्छ ।

त्यतिमात्र होइन उनले गरेका पटकपटकका विदेश यात्रामा राईलाई भेटेर हिसाब मिलाउने प्रयास गरेको आरोप लागिरा’छ । र, राई पक्राउ परेमा उनले लामिछानेको नाम मुछ्ने सम्भावना पनि बलियो छ । किनकि ग्यालेक्सी टेलिभिजनमा करोडौँ रकम डुब्दा लामिछानेले सहयोग नगरेको र अहिले राईलाई नै समातेर छानबिन गर्न चुनौती दिइरहँदा आफू मात्र फस्ने कच्चा खेल राईले पक्कै खेल्ने छैनन् ।

अरूलाई नैतिकताको पाठ सिकाउँदै गर्दा लामिछानेले आफूमाथि उठेका प्रश्नलाई चाहिँ अरूतिर देखाउने गरेका छन् । फरक र जवाफदेही राजनीति गर्छु भन्ने लामिछाने पुराना राजनीतिक दलजस्तै प्रश्न र नैतिक जिम्मेवारीबाट भाग्न खोजिरहेकै हुन् त ?
 

टिप्पणीहरू