प्रहरीका हाकिमहरू धमाधम अमेरिका पलायन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका डिआइजी अर्जुन चन्दले दिएको राजीनामापछि बजारमा अनेकथरी हल्ला चलेको बेला उनैका ब्याचका अधिकृतहरू अहिले अमेरिका गएर बसेको पाइएको छ । यसरी उतै घरजम गर्नेहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआइजीसम्मका सेवानिवृत्त अधिकृतहरूको संख्या बाक्लै देखिन्छ । यो लहरमा जगदीश पोखरेल, दुर्गा कुँवर, विनोद खड्का, सुविसचन्द्र श्रेष्ठलगायत छन् । कोही डिभी परेर, कोही प्रमोशन नभएर र परिवारका अन्य सदस्य अमेरिकामै ग्रिन कार्ड लिई बसेका कारण यो जनशक्ति अमेरिका पलायन भएको बताइन्छ ।
यसचोटी प्रदेशको कमाण्ड सम्हाल्ने इञ्चार्जको दौडमा चन्द्रकुबेर खापुङ, कुबेर कडायत, विकास खनालसँगै सुरेन्द्र मैनालीहरु थिए । घर जान लागेका विकास खनाललाई राष्ट्रपति रामचन्द्र पौडेलको धाप थियो । डिआइजी अर्जुन चन्दले प्रहरीमा हुँदा नाम चल्ने उपलब्धिमूलक काम गरेका पनि देखिँदैन । दुई महिना मात्रै कार्यकाल बाँकी रहेको र यो पनि त्रिभुवन विमान स्थलमा डल्लो परेर बस्नुपर्ने भएपछि घरायसी कारण दर्शाउँदै राजीनामा दिएका हुन् । हुन त प्रहरीमा राजीनामा दिनुपर्ने कारणअन्तर्गत घरायसी कारण भन्ने वाक्यांश फम्र्याटकै रूपमा आएको हुन्छ ।
एक व्यक्तिले निजामती कर्मचारी हुञ्जेलसम्म एयरपोर्टमा कहिल्यै सुधार हुँदैन र एयरपोर्ट सुधार्ने हो भने पूरै जिम्मेवारी प्रहरीलाई दिनुपर्छ भनी लेखेको फेसबुक स्टाटसमा सही कुरा भन्दै समर्थन जनाउँदा स्पष्टीकरण सोधिएपछि राजीनामा दिन बाध्य भएको बताइए पनि चन्दले राजीनामा दिनुको खास कारण भने त्यस्तो नरहेको दाबी स्रोतले गरेको छ । पछिल्लो कुटाकुट काण्डको प्रतिवेदन आएपछि चित्त नबुझेर राजीनामा दिएको अड्कलबाजी पनि कसैकसैले गरेका छन् ।
केही वर्षअघि मानव बेचविखन ब्युरोको कमाण्ड सम्हाल्न पुगेका प्रहरी अधिकृत अनुरागप्रसाद द्विवेदीको खराब आचरणका कारण कतिपय कुरा बिग्रिन शुरु भएको बताइन्छ । धीरजप्रताप सिंह आइजिपी हुँदा विचार र क्षमता शून्य भएका द्विवेदीलाई कमाण्डर बनाएर पठाएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालका पूर्व अंगरक्षक दानबहादुर मल्ल उनको ट्वाइसी थिए । त्यसबेला द्विवेदीले एयरपोर्टमा दिन दुई गुणा रात चार गुणा पैसाको बर्षा गराए । जसका कारण ब्युरोको उद्देश्यमाथि नै शंका उब्जिन पुग्यो भने प्रहरी संगठन पनि बदनाम हुन थाल्यो । त्यसबेला भिजिट वा पर्यटक भिसामा विदेश जानेहरू बालबच्चा च्याँच्याँ रुवाउँदै दूध चुसाउँदै आफू पनि रोएका, भुक्के चप्पल फटफट पड्काउँदै गरेका हुन्थे । त्यस्ता मान्छे राम्रो काम र दामको प्रलोभनमा दलालको फन्दामा परेकै हुन्थे । त्यस्तो मान्छे देखेपछि ब्युरोले फर्काएको पनि थियो ।
बाहिरबाट झट्ट सुन्दा र हेर्दा एकदमै मानवीय र सराहनीय काम प्रहरीले गरेजस्तो देखिए पनि भित्री अन्तर्य भने अर्कै हुन्थ्यो । ब्युरोले एयरपोर्टबाट मान्छे फर्काएपछि दलालहरूको बार्गेनिङ क्षमतामा वृद्धि हुने गरेको थियो । एयरपोर्टमा सुरक्षा टाइट छ, त्यसैले बढी घुस ख्वाउनुपर्छ भन्दै टुरिष्ट भिसामा जानेहरूसँग बढी रकम असुल्ने अवसर यसले सिर्जना गरेको थियो । यदि, साँच्चै ब्युरोले त्यसबखतदेखि नै आफ्नो पवित्र उद्देश्यअनुरूप काम गरेको भएदेखि टेकप्रसाद राई हुँदै अहिलेका जीवन श्रेष्ठको पालासम्म मानव बेचबिखनमा संलग्नहरू सयौं जना पक्राउ परिसकेका हुन्थे । त्यसबेला दैनिकजसो ३० देखि ५० जनाको पासपोर्ट राख्दै ब्युरोले पर्यटक भिसामा बेचिन लागेका व्यक्तिलाई फर्काउँथ्यो ।
त्यसरी ब्युरोले खोसेर राखेको पासपोर्टको बदला अर्को पासपोर्ट १५ दिनमै राहदानी विभागबाट नयाँ पासपोर्ट बनाएर अभ्यागमन विभागको च्यानलमार्फत सोझै जाने गर्थे । यसले मानव बेचविखनको सञ्जाल राहदानी विभाग, अध्यागमन विभाग, एयरपोर्टको सेक्युटिरी, मानवबेचविखन ब्युरो र वैदेशिक रोजगार विभाग सबैसँग जोडिएको देखिन्थ्यो । किनभने आजसम्म त्यसरी फर्काइएका मान्छेले मलाई किन विदेश जानबाट रोकियो भन्ने आवाज, उजुरी वा निवेदन कतै गरेको देखिँदैन ।
त्यसबेला सिआइबीको प्रमुख उत्तम सुवेदी थिए । सुवेदीले मान्छेलाई चल्लाजस्तो पक्रिने अनि हरियाली मात्रै देख्ने भनी थर्काउँदै द्विवेदीको टोलीलाई कारबाही गर्ने धम्की दिएका थिए । यी घटनावली हेर्दा अहिलेसम्मका सरकारले सुशासन चाहेको नभएर चाहेजस्तो देखाउन खोजेको प्रतित हुन्छ । सम्पत्ति शुद्धीकरण, वैदेशिक रोजगार, भन्सार, अध्यागमन र एयरपोर्टमा नेताले आफ्ना मान्छे पठाउने चलनले यो कुरालाई प्रष्ट गर्छ । किनभने अख्तियार प्रमुख नवीन घिमिरेजस्ता पिए तातोपानी भन्सार प्रमुखमा सरुवा भएर किन जान्छ ? प्रष्टै छ ।
टिप्पणीहरू