प्रेम राईको नाम बेच्दै, चितुवा र गैंडा चलाउँदै

प्रेम राईको नाम बेच्दै, चितुवा र गैंडा चलाउँदै
सुन्नुहोस्

‘नपाउनेले के पायो एक्लै चपायो’ भन्ने उखानलाई सम्झाउँदै राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव शरद अधिकारीले भकाभक रकम सकेको बुझिएको छ । उनले केही दिनअघि हिम चितुवा फेला पर्‍यो भन्दै तामझाम देखाउन राष्ट्रिय प्रकृति संरक्षण कोषको ५ लाख रुपैयाँँ स्वाहा पारेका थिए् । हिमचितुवा जावलाखेलको चिडियाखानामा राख्ने कार्यक्रममा करिब ५ लाख रुपैयाँ खर्चिएका उनले केही महिनाअघि चितवन राष्ट्रिय निकुञ्जबाट एकजोडी गैंडा कोशी टप्पुमा स्थानान्तरण गर्दा करिब ३० लाख रुपैयाँ सोत्तर पारेका थिए । 

अर्नाको वासस्थान कोेशीमा भालेपोथी गैंडा स्थानान्तरण रमाइलो काम भए पनि यसै मनपरीको बहानामा फजुल खर्च गर्नु उचित थिएन । उनले कोषको वार्षिकोत्सवमा २५ लाख रुपैयाँभन्दा बढी खर्च गरेपछि फेहरिस्त बढेको हो । उता कोषमा २ सय ज्यालादारी र करारका कर्मचारीले भनेको बेला तलब खान पाएका छैनन् । यस्तो बेला हाकिम मितव्ययी हुनुपर्ने हो । उनले हिमचितुवासम्बन्धी एक मात्र विज्ञ मधु क्षेत्रीलाई गौरीशंकर संरक्षण क्षेत्र दोलखाबाट सरुवा गरी चितवन राष्ट्रिय निकुञ्जमा पुर्‍याएका छन् ।

चितुवा र हिउँ पनि नभएको ठाउँमा क्षेत्रीलाई सरुवा गर्ने अधिकारीको बुद्धि ठीक ठाउँमा नदेखिएको भन्दै आलोचना हुन थालेको छ । कतिपय आलोचकले क्षेत्रीलाई गैंडा र बाघ भएको ठाउँमा पठाएपछि गाइनोको डाक्टरलाई न्युरोको जिम्मेवारी दिएको भन्दै हाँसोमा उडाइरहेका छन् । त्यसैगरी, एक हप्ताअघि मात्रै घाँसे मैदानमा पाइने बाघ विज्ञ श्याम थापालाई घाँस नै नहुने र हिउँ नै हिउँ हुने दोलखाको गौरीशंकर क्षेत्रमा खटाएर अर्को काइते निर्णय गरेका छन् । 

यी दुवै निर्णयमार्फत उनले सदस्य–सचिव पदको अख्तियार दुरूपयोग गरेको आरोप लागेको छ । त्यसैगरी, अधिकारीले नियम मिचेर कर्मचारी बढुवा गरेका छन् । व्यवस्थापक/प्रवन्धकको शैक्षिक योग्यता स्नातकोत्तर र विषयविज्ञ हुनुपर्नेमा स्नातक उत्तीर्ण अनिल शाहलाई प्रबन्धक बनाइदिएपछि सबै छक्क छन् । त्यसैगरी, उनले लेखा अधिकृतमा स्नातक योग्यता तोकिए पनि प्रविणता प्रमाणपत्र उत्तीर्ण गरेकालाई हाकिम बनाएका छन् । 

उनी सरकार र दलहरू अनि संघीय गणतन्त्रलाई छिर्के हान्न खोज्ने पूर्वराजाका पक्षमा पनि घुसघुुस लागेका देखिन्छन् । स्रोतका अनुसार उनी हालै पूर्वराजा ज्ञानेन्द्र शाहको दर्शन गर्न गएका थिए । उनको समूहले पर्सा राष्ट्रिय निकुञ्जमा पूर्व राजासँग भेटघाट गरेको थियो । जबकि कोषको कुनै कार्यालय निकुञ्जमा छैन । कोषको गाडी र ड्राइभर श्रीमतीको प्रयोगमा खटाएको स्रोतको दाबी छ । अख्तियारले यसबारे प्रश्न गर्दा नियमानुसार उपलब्ध गराएको जवाफ दिएको बताइन्छ । तर, श्रीमतीले यस्तो सुविधा पाउने व्यवस्था कोषको कुन नियमावलीमा छ भनेर अख्तियारले खोजी नगरेको अवस्था छ । 

यत्तिका घटना हुँदा पनि माथिका तालुकदारको आँखा कमजोर भएपछि उनले ‘म अख्तियार प्रमुख प्रेम राईको जिल्ला संखुवासभावासी हुँ । अख्तियारमै लोकमानसिंह कार्की प्रमुख हुँदा पनि काम गरिसकेको मान्छे हुँ । आउँदो दिनमा अख्तियारकै प्रमुख आयुक्त हुने मान्छे हुँ । त्यसैले मलाई तिमेरु जस्तोले केही नाप्न सक्दैनौ’ भन्दै बेलाबेला मातहतका कर्मचारीबीच फुर्ती लगाउने गरेका छन् । तर, उनको फुर्ती झार्नुपर्नेमा कोषको संरक्षक प्रधानमन्त्री किन मौन छन् ? कोषका पीडित कर्मचारीले प्रश्न गर्न थालेका छन् । 

 

टिप्पणीहरू