जनता ढाँट्नेलाई केही हुन्न जरिवाना ?

राजधानीमा पनि भेटियो रविको थप रसिद

जनता ढाँट्नेलाई केही हुन्न जरिवाना ?

पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारी घोटाला प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गर्दै आएका रवि लामिछानेको काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडसँग पनि साइनो रहेको प्रमाण फेला परेको छ । कालीमाटीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मीबाट अध्यक्ष जीबी राई र रविले सवारी कर्जा शीर्षकमा दुई पटक पैसा लिएको तथ्य भेटिएको हो ।

०७८ वैशाख ९ गते सहकारीबाट उनीहरूले चार पांग्रे सवारी खरिदका लागि ४६ लाख ४८ हजार रुपैयाँँ कर्जा लिएका छन् । संस्थाको सदस्यता नम्बर ००१–०६९६०६ भएका उनीहरूले कर्जामा गोर्खा मिडिया नेटवर्कको नाम पनि उल्लेख गरेका छन् । त्यसैगरी, २०७८ साउन ५ गते पुनः चार पांग्रे सवारी कर्जाका नाममा ४६ लाख ९८ हजार रुपैयाँँ लिएको भौचर प्राप्त भएको छ । गोर्खा मिडियाको तत्कालीन प्रबन्ध निर्देशक र जीबी समूहको तत्कालीन व्यापारिक साझेदारसमेत रहेका उनले सहकारीमा नाम जोडिएपछि पत्रकार सम्मेलन गरेर सोको खण्डन गरेका थिए । यसबाट उनी कसरी तर्किएलान् ? हेर्न बाँकी छ । दोहोरो नागरिकतादेखि लिएर नागरिकको सूचना बेच्नेलगायत काण्डमा मुछिएका उनले सत्तासँग समर्थनको लेनदेनमा पटकपटक उन्मुक्ति पाउँदै आएका छन् । 

राजधानीको मुटुमै रहेको सहकारीले हजारौं बचतकर्तालाई माननीयको मिलेमतोमा ‘घर न घाट’ को बनाउँदासमेत हेरिरहने कि कारबाही प्रक्रिया अघि बढाउने भन्नेबारे त प्रधानमन्त्रीलाई नै थाहा होला । सोही स्वर्णलक्ष्मीले सर्वसाधारणलाई दिएको पीडा सुनाइसक्नुको छैन । हाउसकिपरको जागिरले गर्जो टार्दै आएकी एक महिलाको चित्कार सुनिदिने कोही पनि भएन । लडेर दाँत फुक्लँदासमेत उनले एक रुपैयाँँ पाइनन् । काठमाडौँ महानगरपालिका–८ घर भई सोल्टीमोडमा एउटा कोठा डेरा गरी बस्दै आएकी ४८ वर्षीया लक्ष्मी परियारको पीडा हृदयविदारक छ । सोल्टी होटलमा कार्यरत उनका छोरा कृष्ण पनि त्यहीँ जागिरे थिए । तर, सहकारीकै पछाडि लाग्नुपर्ने भएपछि जागिर छोडे । लक्ष्मीले स्वर्णलक्ष्मीमा बचत गरेको १५ वर्ष बितिसक्यो । उनलाई स्वर्णलक्ष्मीप्रति धेरै विश्वास थियो । विश्वासमा पर्दा आज बिचल्ली भएको छ ।

सहकारीमा लाखौं रुपैयाँँ भएकी उनले उपचार गर्न ऋण माग्दै हिँड्नुप¥यो । थानकोटको मातातीर्थमा भएको साढे चार आना जग्गा बेचेर त्यहाँबाट आएको ५४ लाख रुपैयाँँ बचत गरिन् । सञ्चयकोष, बोनसबापतको रकमसमेत स्वर्णलक्ष्मीमै राख्दै आएकी थिइन् । पत्यार गरिएको त्यही स्वर्णलक्ष्मीले उनको बिल्लीबाठ बनाइदिएको छ । सहकारीमा ९१ लाख २१ हजार ८३३ रुपैयाँँ भएकी उनी कोठा भाडासमेत तिर्न नसक्ने अवस्थामा पुगेकी छन् । सहकारी खुला भए पनि डेढ वर्षदेखि रकम फिर्ता दिइएको छैन । सहकारीले बचतकर्तालाई दुई अर्ब बढी दायित्व बुझाउनुपर्ने छ । तर, रविजस्ता पहँुचवालबाहेक सर्वसाधारणले एक रुपैयाँँ पनि पाएका छैनन् । उल्टै सहकारीले दिनको एक सय रुपैयाँँ बचत गरेमा मासिक पाँच हजार दिने भनी थप ठग्न खोजेको छ । १२ प्रतिशत ब्याजमा रकम बचत गरेकी उनलाई सहकारीले धेरै नै तनाव दिएको छ । 

अध्यक्ष जीबी राई फरार र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेपछि उनले सबै ढोका बन्द भएको महसुस गर्न थालेकी छन् । कहाँ जाने र के गर्ने ? अलपत्र छिन् । यो बीचमा उनलाई हार्टअट्याक पनि भयो । त्यसपछि शहीद गंगालाल राष्ट्रिय नेशनल हार्ट सेन्टर भर्ना भएकी उनको झण्डै दुई महिनाअगाडि लडेर अगाडिको दुइटा दाँत झ¥यो । तर, उपचार गर्ने पैसा भएन । पहिले नै श्रीमान् गुमाएकी उनलाई सहकारीले एक रुपैयाँँ पनि दिएन । पैसाका लागि दुनियाँ गुहारिन् तर कतैबाट सहयोग पाइनन् । छोरा कृष्णले बल्लतल्ल ऋण खोजेर आमाको दाँत हाले ।

कृष्ण आफ्नो समस्या लिएर दुईपटक रविकहाँ पुगे । पहिलोपटक कुमार रम्तेल जेल जानुअगावै रविलाई भेट्न बसुन्धरास्थित पार्टी कार्यालय गएका थिए । १५–२० सेकेण्डमा आफ्नो समस्या सुनाएर निस्किए । कृष्ण भन्छन्, ‘धेरै बेर कुरेर भेटेँ । त्यहाँ भएका उहाँका कार्यकर्ताहरूले भेट्न दिइरहेका थिएनन् । बल्लतल्ल मौका पाएँ, १५–२० सेकेण्डमा आफ्नो समस्या राखेर निस्किएँ । उहाँ व्यस्त मान्छे, हामीले समय खेर फालिदिनुहुन्न भन्ने लाग्यो ।’

रविले उक्त भेटमा उनको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका थिए । तर, झुलाए मात्रै । ६ महिनाअघि आमा लिएर वनस्थलीस्थित पार्टी कार्यालय पुगे । शुरुमा भेट्न दिइएन । कृष्णले नभेटेसम्म नफर्किने भन्दै अडान कसे । तीन घण्टाको पर्खाइपछि बल्ल मौका पाए । आफ्नो सबै गुनासो राखे । रविले तत्कालै कुमार रम्तेललाई फोन गरे । रोचक प्रसंग के छ भने, रम्तेलले कसैको पनि फोन उठाउँदैनथें । तर, रविको फोनबाट घण्टी जानेबित्तिकै उठाइहाले । रविसँग कुरा भएपछि रम्तेलले चिन्ता नगर्न भन्दै हौसला दिए । कृष्णका अनुसार त्यसपछि कहिले पनि फोन उठाएनन् । उनी सहकारी ठगीको मुद्दामा कारागार चलान भइसकेका छन् । डेढ वर्षदेखि लक्ष्मी र कृष्णले आश्वासनबाहेक केही पनि पाएका छैनन् । उनले रविका सामु घर चलाउनका लागि सहकारीबाट मासिक २५ हजार रुपैयाँँ दिने व्यवस्था मिलाइदिनसमेत आग्रह गरे । रविले ‘हुन्छ–हुन्छ’ भने तर कहिले हुन्छ ? अत्तोपत्तो छैन । 

दाँत भाँच्चिएर उपचारका लागि पैसा नभएपछि लक्ष्मीले ह्वाट्सएपमार्फत रविसमक्ष दुःखेसो राखिन् । एकपटक होइन, बारम्बार म्यासेज गरिन् । लक्ष्मीले लेखेकी छन्, ‘सर नमस्कार ! मेरो दाँत लडेर भाँचिएको छ र मानसिक स्वास्थ्य पनि जटिल हुँदै गएको छ । मेरो स्वर्णलक्ष्मी सहकारीमा ९० लाख रुपैयाँँ रहेको यहाँलाई जानकारी नै छ । अफिसमा दाँतको उपचार खर्चको लागि छोरा पैसा माग्न जाँदा उल्टै तीन हजार रुपैयाँँ जम्मा गर्नुस्, एक महिनापछि पाँच हजार लानुस् भन्छन् रे । मेरो दाँत भाँचिएको पनि आज एक हप्ता भइसक्यो ।

मसँग दाँत बनाउने त के घरभाडा तिर्ने पैसा पनि छैन अहिले । सोल्टी होटलमा कार्यरत मेरो संस्थाले मजदुरले पाउँदै आएको १० प्रतिशत सेवाशुल्क पनि काटिदिएको छ । छोराको पनि कुनै काम छैन, अहिले बेरोजगार छ । डाक्टरले तपाईंको दाँत इम्प्लान्ट गर्नुपर्छ, ३० हजार खर्च लाग्छ भन्नुभएको छ । आफ्नो समस्या राख्न तपाईंलाई फोन ग¥यो, उठ्दैन । मैले सबै पैसा आजै दिनुस् भनेको पनि छैन । कृपया यस्तो आकस्मिक अवस्थामा मेरो उपचारको लागि ३० हजार रुपैयाँँ व्यवस्था गरिदिनुहुन अनुरोध गर्दछु, सर !’

त्यसलगत्तै रविको सचिवालयको नम्बरबाट उनलाई ह्वाट्सएपमा फोन आएको थियो । ९८५१३६०५५५ नम्बरबाट फोन गर्ने ती व्यक्तिले सबै कुरा बुझेर ‘नआत्तिनु, हामी छौं’ भनी हौसला दिए । त्यसपछि न उनले फोन गरे न उठाए । रविको समर्थक नै रहेकी लक्ष्मीले सो घटनाबाट उनको असली अनुहार देखिन् । सहकारीले आफूलाई उठिबास लगाएको लक्ष्मी गुनासो गर्छिन् । आफूले खाईनखाई राखेको पैसा सहकारीले खाइदिँदासमेत एउटा जनप्रतिनिधिले त्यसलाई हलुका रूपमा लिँदा उनलाई आश्चर्य लाग्छ ।

कृष्ण भने सहकारीले मासिक खर्चका रूपमा केही रकम दिएपनि सहज हुने बताउँछन् । ‘हामीलाई पनि सहकारीमा समस्या आएको थाहा छ । हामीले पूरै पैसा चाहिन्छ भनेका पनि छैनौं तर मासिक अलिअलि खर्च दिए पनि केही राहत हुनेथियो’, उनले भने । सहकारीले पैसा नदिएपछि उनले हेटौंडास्थित सहकारी महाशाखामा उजुरी दिएका छन् । तर, महाशाखाले लाखौं बचतकर्ता डुबेको विषयलाई ‘केही होइन’ जस्तो गरेको उनको गुनासो छ । साथै, उनले सहकारीमा देखिएको रविको संलग्नता ‘दूधको दूध, पानीको पानी’ बनाउनुपर्ने माग राखे । तथ्यपूर्ण खण्डन गर्न नसक्नुले नै ‘दालमा केही कालो’ भएको उनको आशंका छ । हाल स्वर्णलक्ष्मीको व्यवस्थापन रम्तेलकै नाता पर्ने नवीन अछामीले सम्हालिरहेका छन् । 

उनी पनि बचतकर्तादेखि भागीभागी हिँडेका छन् । उनको रविसँग कुराकानी हुने गरेको बचतकर्ताको ठहर छ । बचतकर्ताका अनुसार भदौमा सहकारी महाशाखामा उजुरी दिन जाँदा अध्यक्षमा दीपक लामा थिए । त्यसको दुई दिनपछि नै जीबी राई भनी फेरिएको छ । सरकारको निकायसमेत सहकारीका सञ्चालकलाई जोगाउन लागिपरेको उनीहरूको आरोप छ । 
 

टिप्पणीहरू