कुर्सीको तापलाई यसरी काट्दै गयो करौंतीले

कुर्सीको तापलाई यसरी काट्दै गयो करौंतीले

तर्कको सहाराले तथ्यलाई छोपेर जितको क्षणिक आत्मसन्तुष्टि लिन त सकिएला तर सत्य सधैँ लुकाएर लुक्दैन । पार्टी विभाजन र त्यसयता एमालेले निरन्तर व्यहोरिरहेको पराजयको सन्दर्भ हो यो । तत्कालीन नेकपाको विभाजनसँगै केपी ओलीको सत्ता बहिर्गमनबाट शुरु भएको एमालेको ओरालो यात्रा अझै रोकिएको छैन । 

०७४ को चुनावमा माओवादी केन्द्रसँग गठबन्धन गरेर एमाले संसदको सबैभन्दा ठूलो दल बनेको थियो । चुनावलगत्तै दुई पार्टीको एकतापछि शक्तिशाली नेकपाको अध्यक्षका हैसियतमा ओली सत्तामा उक्लनुभयो । प्राप्त जनमत जोगाएर जनपक्षीय काम गरेको भए उहाँलाई पाँचै वर्ष सरकारको नेतृत्व गर्ने अभूतपूर्व अवसर थियो । तर, संसदको सबैभन्दा ठूलो दलको नेतासमेत रहनुभएका ओलीले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम उठाएपछि तीन वर्षमै बालुवाटारबाट बालकोट फर्किनुप¥यो ।

संसद विघटनपछि नेकपा फुटेर तीन टुक्रा मात्र भयो । नेकपाबाट छुट्टिएका माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेससँग मिलेर नयाँ गठबन्धन बनाए । एमाले राष्ट्रिय राजनीतिको अर्को कित्तामा उभियो । पार्टी फुटको पहिलो मार गत स्थानीय चुनावमा खेपेको एमालेको भागमा त्यसयता निरन्तर पराजय मात्रै परिरहेको छ । ०७४ सालको स्थानीय निर्वाचनमा २९६ स्थानीय तहमा प्रमुख जितेको उसले ०७९ चुनावमा त्यो शक्ति जोगाउन सकेन । आमचुनावमा पनि अर्को क्षति व्यहोर्नुप¥यो ।

०७४ को चुनावमा १२१ सीट जितेर संसदको सबैभन्दा ठूलो पार्टी बनेको एमाले ४२ सीट गुमाएर अहिले ७९ मा खुम्चिएको छ । दुई वर्षअघि राष्ट्रिय सभामा अध्यक्षसहित ठूलो दलको हैसियतमा रहेको एमाले अहिले चौथो दल एकीकृत समाजवादीभन्दा २ सिट बढी भएको कमजोर तेश्रोमा खुम्चिएको छ । फागुन २९ पछि अध्यक्ष पनि हातबाट फुत्कँदै छ । त्यसबाहेक पत्रकार महासंघ, नेपाल बार एशोसियसनजस्ता आफ्नो प्रभाव रहेको सामाजिक संगठनहरूमा पनि एमालेले नेतृत्व गुमाइरहेको छ । आमचुनाव मात्र होइन, संसदीय राजनीतिमा पनि एमालेका कदम असफल भैरहेका छन् ।

गत चुनावपछि प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेर सरकारमा ‘कम्ब्याक’ गर्ने अध्यक्ष ओलीको प्रयास थियो । तर, सफल भएन । कांग्रेसभित्र बिद्रोह गराएर कोशी प्रदेशको सत्तामा उक्लिने खेल पनि केही दिनमै तुहियो । राष्ट्रिय सभा चुनावमा ६ सिटका लागि कांग्रेस–माओवादी गठबन्धनसँग ‘हारगुहार’ गर्ने अवस्थामा पुग्नुले ओलीमा रहेको भय प्रष्ट हुन्छ । 

हारको श्रृंखला यतिमै कहाँ टुंगिन्छ र ! हिजो अदालतमा न्यायाधीशसमेत खोजी–खोजी आफ्नै मान्छेलाई बनाउने ओलीलाई आज संवैधानिक तथा राजनीतिक नियुक्तिमा कुनामा बसेर हात थाप्नुपर्ने अवस्था छ । संक्रमणकालीन न्यायसँगसम्बन्धित टिआरसी विधेयक पास गर्ने शर्तमा तीनवटा संसदीय समितिको सभापति हात पार्नुभएका उहाँले त्यसअनुसार विश्वसनीयता कायम गर्न नसकेपछि अब थप प्राप्ति नहुने निश्चित छ । नयाँको हावाहुरी चलिरहेको अहिलेको राजनीतिमा यही अवस्था रहिरहे सम्भवतः अर्को चुनावमा एमालेले थप नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । अनौपचारिक कुराकानीमा एमालेका धेरै नेता ओलीका कारण पार्टी ओरालो लागेको स्वीकार गर्छन् । अब गुमाउने ठाउँसमेत बाँकी नरहेको गुनासो गर्ने एकथरी नेताको चिन्ता छ– एउटा बिन्दुमा पुगेपछि थप सत्यानाश कसरी रोकिएला र ! 

गिरिबन्धुमा पनि हार 

तीन वर्ष शक्तिशाली प्रधानमन्त्रीको कुर्सीमा रहँदा ओलीले गरेका थुप्रै निर्णय विवादमा परे । त्यसमध्येको एक हो– झापास्थित गिरिबन्धु टि–इस्टेटको जग्गा सट्टाभर्नासम्बन्धी निर्णय । कृषि व्यवसाय र उद्योगका लागि हदबन्दी छुट पाएको ३४३ बिघा १९ कठ्ठा १२ धुर जग्गा सट्टापट्टा गर्न सरकारबाट बाहिरिने बेला हतारमा क्याबिनेटबाट नीतिगत निर्णय गरेर स्वीकृति दिइएको थियो । ओलीका दुई विश्वासपात्र पद्मा अर्याल र शिवमाया तुम्बाहाम्फे क्रमशः भूमिसुधार र कानुनमन्त्री रहेका बेला भएको उक्त निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले गैरकानुनी ठहर गरेको छ । आफ्नै गृहजिल्लाको जग्गा मिलाउन मन्त्री र सचिव अनुकूल बनाएर त्यत्रो मिहिनेत गर्दासमेत असफल भएपछि यो प्रकरणलाई ओलीको पराजयका रूपमा विश्लेषण गर्न सकिन्छ । 

कानुनका जानकारहरू यसलाई स्वार्थ समूहको प्रभावमा परेर तत्कालिन सरकारले गरेको ‘विधेयक सपिङ’ संवैधानिक इजलासको ब्याख्यामार्फत सच्चिएको अर्थमा विश्लेषण गर्छन् । ‘नेपालमा पहिला ‘बेञ्च सपिङ’ भनिन्थ्यो यो चाहिँ ‘विधेयक सपिङ’ भयो । यो खतरनाक कुरा हो । तर, अदालतले असफल बनाइदियो’, एक कानुनविद्ले भने, ‘कार्यकारी प्रधानमन्त्रीले गरेको निर्णय संविधान प्रतिकूल हुनु आफैँमा दुःखद कुरा हुँदै हो ।’ सँगसँगै नीतिगत निर्णयका नाममा आफ्नो रुचि र चासोका मामिलालाई क्याबिनेटमा लैजाने घातक प्रवृतिमाथि संवैधानिक व्याख्यामार्फत अंकुश लगाउन सकिन्छ भन्ने नजिरसमेत स्थापित भएको छ । 

साइनबोर्ड छ, शक्ति छैन 

राष्ट्रिय राजनीतिमा एकपछि अर्को क्षति व्यहोरेको एमाले नेतृत्वले आत्मसमीक्षा गरेको देखिँदैन । बरु, तीन वर्षअघि सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिसकेको प्रतिनिधिसभा विघटनको कदमको बचाउमा उभिने र नेकपा विभाजनको औचित्य पुष्टि गराउने प्रयास जारी छ । नेकपाको फुटलाई अध्यक्ष ओलीले पार्टी जोगाएको भाष्य बनाइएको छ । त्यसो त, एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काउने अदालतको फैसलाको समर्थनमा अध्यक्ष ओलीलाई ‘आई लभ यु केपी बा’ भन्नेहरूले दीपावली नै गरेका थिए ।

माइतीघरमा नाराजुलुस गरेको महेश बस्नेतको टोलीले पार्टी कार्यालयमा धमाधम पुरानो एमालेको साइनबोर्ड राखेको थियो । अहिले पनि उनीहरू ‘प्रचण्डले कब्जा गर्न लागेको पार्टी ओलीले जोगाएको’ भन्दै अदालतको फैसलाप्रति गर्व गर्ने गर्छन् । एमालेकै अर्कोथरी नेताहरू भने ओलीले पार्टी जोगाएको ति तर्कसँग सहमत छैनन् । एक पदाधिकारीले प्रश्न गरे – ओलीले जोगाएको भए आज एमाले कहाँ छ ? । उनी भन्छन् – पार्टी जोगाउनु भनेको साइनबोर्ड राख्नु र चुनावमा माओवादी र एकीकृत समाजवादीको भन्दा धेरै सिट जित्नु मात्र होइन ! हुन पनि हो, आन्दोलनको भावनाअनुसार शक्ति निर्माण गर्दै परिवर्तनको पक्षमा उभिने संकल्प नै मरिसकेपछि साइनबोर्ड हुनु र नहुनुको के अर्थ ? ‘साइनबोर्ड छ, पार्टीमा ओलीको एकछत्र शक्ति पनि छ तर हातमा केही छैन, अनि अध्यक्षका कारण पार्टी जोगियो भन्ने तर्क कसरी गर्न मिल्ला र ?’, ती नेताको थप प्रश्न छ । नेकपा एमालेलाई कुनै समय सबैभन्दा व्यवस्थित संगठन र जुझारु कार्यकर्ता भएको पार्टी भनिन्थ्यो ।

आन्तरिक लोकतन्त्रको अभ्यास पनि लोभलाग्दो थियो । तर, अहिले उसका गतिविधि हेर्दा अध्यक्ष ओलीको प्राइभेट कम्पनीजस्तो देखिन्छ । त्यहाँ विचारको विमर्श होइन, अध्यक्षको प्रवचन चल्छ । जहाँ पनि अध्यक्षबाहेक अरूको कुरा सुनाइँदैन, सुनिँदैन । मध्यपहाडी लोकमार्ग यात्राका क्रममा देखिएको एउटा दृश्य त्यही थियो । 

स्वस्थानीमा सतीदेवीको अंग–प्रत्यंग झर्दै गएको सन्दर्भ जोडेर एमालेका एक जना सचिवले अध्यक्षको कार्यशैलीमाथि व्यंग गरे, ‘ओरालो यात्राको निरन्तरता जारी छ । समयमै आँखा खोल्दा अध्यक्ष र पार्टीको कल्याण हुन्छ ।’ एउटा उखान छ –ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्छ । कुनैबेलाका शक्तिशाली ओली अहिले त्यस्तै अवस्थामा हुनुहुन्छ ।

दुर्गा प्रसाईंजस्ता मामुली मान्छेले ‘म प्रधानमन्त्री भएँ भने सबैभन्दा पहिला ओलीलाई जेल हाल्छु’ भनेर सडकबाट लल्कारिरहेको छ । रमाइलो कुरा चैं, पार्टीको सदस्यता नै नलिएका प्रसाईंलाई सिधै केन्द्रीय सदस्य बनाएर त्यो आँट आउने ठाउँमा पु¥याएको ओलीले नै हो । ओलीलाई हजुरबा भनेर कुनै समय चाकडी गर्नेलाई तीनै प्रसाईं अहिले ‘एमाले, सकेरै छोड्छु’ भन्दै हिंडेको देखिन्छ । कतिसम्म भने, हालै विमानस्थलमा जम्काभेट हुँदा प्रसाईंले ‘हजुरबा’ लाई ‘हेर्दै जानुहोला अरू के–के बाहिर ल्याउँछु’ भनेर खुला च्यालेञ्ज गरेको जानकार स्रोतले बताएको छ ।

गैरराजनीतिक चरित्रका पात्र टिप्दै हिंड्दाको परिणाम भोगिरहेको एमालेमा अहिले पनि राजनीतिक आधार नभएकाहरूको बोलवाला देखिन्छ । युवराज खतिवडा, कोमल वली, अञ्जन शाक्यहरू अध्यक्षका रोजाइमा पर्दा कम्युनिष्ट आन्दोलनमै लागेर कपाल फुलाएकाहरू किनारामा परेका छन् । यसलाई ओली छनोटको असफलता भन्छन्, एमाले नेताहरू ।  

टिप्पणीहरू