कपाली तमसुकबाट झण्डै बैंक कब्जा

कपाली तमसुकबाट झण्डै बैंक कब्जा
सुन्नुहोस्

बिचौलिया दिपक भट्ट र मारवाडी व्यवसायी शंकर अग्रवालका शंकास्पद कारोबारहरू अन्य व्यवसायमा गरिएको र गर्न खोजिएको प्रमाणसमेत भेटिएका छन् । भट्ट र अग्रवालका त्यस्ता कारोबारबारे जनआस्थाले पछिल्ला दुई अंकमा सप्रमाण नालिबेली प्रकाशन गरिसकेको छ । उनीहरूले विभिन्न कम्पनीमा गरिएको अवैध लगानीको स्रोत लुकाउन तीन तहमा फरक कारोबार गरेको तथ्य खुलेको छ । भट्टले सोझै रकम नलिएर आफ्नो कम्पनीको खातामा अन्यत्रबाट तानेका हुन् । उनको खातामा जम्मा भएको साढे ६७ करोड रुपैयाँँ अग्रवालले आफ्नो जगदम्बा स्टिल्स कम्पनीको लागि हिमालयन बैंकबाट लिइएको ओभरड्राफ्ट कर्जा सुविधाको चल्ती खाताबाट ट्रान्सफर गरेका थिए । तीमध्ये अढाई करोड भने आफ्नो व्यक्तिगत खाताबाट भट्टलाई दिएका हुन् । भट्टले रकम जम्मा गरेको दिनमै विभिन्न तीन वटा चेकबाट फिर्ता गरेबाट घटना थप रहस्यमय बन्न पुगेको छ । 

उनीहरूबीच पछिल्लो समय हिमालयन बैंकमा रहेको पाकिस्तानी हबिब बैंकको १२ प्रतिशत सेयर रवि लामिछाने स्टाइलमा भित्रभित्रै किनबेचको प्रयास गरिएको अर्को तथ्य पनि उजागर भएको छ । लिमिटेड कम्पनीको सेयर किनबेचको कानुनी प्रक्रियालाई छाडेर अर्बौं रुपैयाँँको कारोबार कपाली तमसुकमा गरिएकाले बैंकको उक्त सेयर हत्याउने योजना महिनौंदेखि राष्ट्र बैंकमा थन्किएको छ । पाकिस्तानी बैंकको संस्थापक सेयर भट्ट र अग्रवालको स्रोत नखुलेको शंकास्पद रकम लगानी गरिएको हिमालयन रिइन्सुरेन्स कम्पनीले खरिद गर्न लागेको तर स्वीकृतिका लागि पठाइएको फाइल केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा महिनौंदेखि बेवारिस अवस्थामा छ । 

राष्ट्र बैंकको निर्देशानुसार व्यावसायिक कम्पनीको नाममा स्वीकृत ओभरड्राफ्ट खाताबाट व्यक्तिलाई सापटी वा कर्जा दिन पाइँदैन । तर, शंकर र भट्टले उक्त नियमको ठाडै उल्लंघन गरी इन्फिनिटी होल्डिङ्स प्रालिका दीपकले जगदम्बा स्टिल्स कम्पनीका मालिक अग्रवालको ओभरड्राफ्ट खाताबाट हिमालयन रिइन्स्युरेन्स कम्पनीमा लगानी गरेका हुन् । शंकरले हिमालयन बैंकस्थित चल्ती खाताबाट ११ करोड ५० लाख रुपैयाँँका दरले दुई पटक दिएका छन् । त्यस्तै कुमारी बैंकस्थित व्यक्तिगत नागरिक बचत खाताबाट २ करोड ५० लाख रकमान्तर गरेपछि भट्टले ती रकम क्रमशः नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीमा लगानी गरेका थिए । त्यस्तै ४५ करोड रुपैयाँँ जगदम्बा स्टिल्सको चल्ती खाताबाट सोझै दीपक भट्टलाई दिइएको भेटिएको छ । यसक्रममा भट्टले ४५ करोड पहिले आफ्नो स्वामित्वको इन्फिनिटी होल्डिङ्सको खातामा ट्रान्सफर गराएको र सोही खाताको उक्त रकम इन्फिनिटीको तर्फबाट हिमालय रिइन्स्योरेन्स कम्पनीमा संस्थापक सेयर लगानीकर्ताको आवरणमा प्रयोग गरेको देखिन्छ । 

सोही कम्पनीले हिमालयन बैंकको संस्थापक सेयर खरिद गरेको निवेदन केन्द्रीय बैंकमा लगिएको छ । तर, राष्ट्र बैंकका अधिकारीहरू संस्थापक सेयर खरिद बिक्रीको कानुनी प्रक्रिया विद्यमान रहेकाले कपाली तमसुकले कुनै अर्थ नराख्ने बताउँछन् । पहिले हिमालयन बैंकका संस्थापक सेयर होल्डरले मात्र त्यस्तो सेयर खरिद गर्ने अधिकार राख्छन् । त्यसको निम्ति उनीहरूलाई सेयर बिक्रीको सूचना जारी गरिनुपर्ने हुन्छ । संस्थापक कसैले पनि सेयर खरिद नगरेमा सार्वजनिक रूपमा आह्वान गरिनुपर्छ, गुपचुप ढंगले अमुक व्यक्ति वा कम्पनीलाई बिक्री गर्न पाईंदैन । त्यसरी गरिने खरिद कारोबार पनि बैंकबाटै भएको देखिनुपर्छ । कपाली तमसुकको आधारमा सेयर खरिद बिक्री गरेको र बैंकमा कारोबार शंकास्पद ढंगले गरिएको रवि लामिछानेको काण्ड अघिल्लो महिना छताछुल्ल भइसकेको छ ।

गत वर्ष बिचौलिया भट्ट र अग्रवालले ६७ करोड ५० लाखको कारोबार विभिन्न तहमा रकमान्तर गर्नु र रहस्यमय तरिकाले एउटै दिन फिर्ता गर्नुको कारण पनि हिमालयन बैंकको १२ प्रतिशत सेयर कारोबारबाट सहजै अनुमान लगाउन सकिन्छ । यस्तै शंकास्पद कारोबार गरिएपनि धितोपत्र दलालको लाइसेन्स हिमालयन ब्रोकेज कम्पनी र इन्फिनिटी सेक्युरिटिजले पाइसकेका छन् । धितोपत्र बजारको लाइसेन्सको निम्ति हिमालयन स्टक एक्सचेञ्ज र हिमालयन कमोडिटी एण्ड डेरिभेटिभ एक्सचेञ्जलाई अन्तिम चरणमा पुर्‍याइएको छ । ती सबै कम्पनीमा जगदम्ब स्टिल्स प्रालिका शंकरलाल अग्रवाल र इन्फिनिटी होल्डिङ्सका दिपक भट्टको शंकास्पद र अस्वाभाविक लगानी रहेको तथ्य खुलिसकेको छ । 

यसअघि हिमालयन रिइन्स्योरेन्समा भट्टको एकल स्वामित्वको इन्फिनिटी होल्डिङ्सको ४५ करोड रुपैयाँँको स्रोत उनै अग्रवाललाई देखाइएको छ । भट्टको शंकास्पद लगानी साढे ६७ करोडको फिट एण्ड प्रपर टेष्ट हालसम्म भएको छैन । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र गार्जियन माइक्रो लाइफ इन्स्योरेन्समा हालिएको भट्टको २२ करोड ५० लाख रुपैयाँँको स्रोत पनि उनै अग्रवाल हुन् । 
 

टिप्पणीहरू