पात्र क्यानाडामा, खेताला परीक्षामा

पात्र क्यानाडामा, खेताला परीक्षामा
सुन्नुहोस्

ट्रायल दिने मान्छे क्यानाडामा छ । यहाँ खेतालाले परीक्षा दिन्छ र लाइसेन्स हात पार्छ । यस्तो रमिता देख्न पाइन्छ यातायात कार्यालय राधेराधेमा । 

मूलै धमिलो भएपछि धाराबाट सङ्लो पानी कसरी आओस् ? ठेक्का हत्याउन यातायात व्यवस्था विभागका कर्मचारीले एक जना व्यवसायीसँग गाडी नै उपहार लिएको विषयले भौतिक पूर्वाधार मन्त्रालय तातिरहेको बेला यातायात कार्यालय, जगातेमा एजेन्टले ‘सेटिङ’ मिलाई कार, जिप (बी)को ट्रायल पासनै नभएकाहरूको पास गर्ने, ट्रायल नै नदिएका, विदेशमा भएका र मृतकका नाममा समेत लाइसेन्स बनाउने गरेको उजुरी अख्तियारसम्म पुगेको छ । तर ‘भ्रष्टाचारको धनले सधैँभरि पोल्छ, यो सामाजिक अपराध हो ।’ भनेर प्रत्येक व्यक्तिको मोबाइलमा रिङ टोन बजाउने अख्तियारले त्यहाँ भएको भ्रष्टाचार छानबिनमा चासो देखाएको छैन । 

०८० असोज २३ गते वर्ग ‘बी’ अन्तर्गत सि.नं.. १२२ का पुरुषोत्तम सोडारी जो क्यानाडामा बसोबास गर्दै आएका छन्, को तर्फबाट खेताला उम्मेदवारले परीक्षा दिए र उत्तीर्ण पनि भए । सि. नं. २२१ की सरिता बुढाथोकीलाई नक्कली परीक्षार्थी खडा गरी लाइसेन्स दिने काम तमाम पारिएको हो । यसका अलावा मृतकका नाममा समेत त्यहाँबाट लाइसेन्स इस्यु भइरहेको कर्मचारीहरु बताउँछन् ।

यस्तो धन्दामा संलग्न कर्मचारी हुन् हालै नवौं तहमा बढुवा भएका श्यामकुमार श्रेष्ठ । सो कार्यालयमा दैनिक मोटरसाइकलका १५, हेभी गाडीका ५ देखि ७ सम्म खेताला उम्मेदवारले परीक्षा दिँदै आएको उजुरी अख्तियारसम्म पुगे पनि त्यहीँका एक कर्मचारीको नातेदार न्यायाधीश भएका कारण त्यस्ता फाइल तामेलीमा राखेर अल्झाइएको बताइन्छ ।

पुरुषोत्तम सोडारी जो क्यानाडामा बसोबास गर्दै आएका छन्, को तर्फबाट खेताला उम्मेदवारले परीक्षा दिए र उत्तीर्ण पनि भए । 

आजीवन यातायातमा जागिर खाएका अधिकृत छैटौंद्वय जीवन बस्नेत र विनोद बस्नेत अहिले सोही कार्यालयका हर्ताकर्ता हुन् । खोटाङ जन्मघर भएका बस्नेतले सोलुमा गाविस सचिव हुँदा नै भक्तपुर ठिमीमा घर बनाउन सफल भएको र बिनोद बस्नेत सोलुमै गाविस सचिव हुँदा बालकोटमा बंगला ठड्याएको सहकर्मीहरू बताउँछन् । राधेराधे यातायात कार्यालयमा घुस संकलन गर्न बस्नेत ग्रुप र ढकाल ग्रुप सक्रिय रहेको बताइन्छ ।

ढकाल थरका एक कर्मचारीका नातेदार सर्वाेच्च अदालतमा भएका कारण सो कार्यालयको भ्रष्टाचार मुद्दामा अख्तियारले हात नहालेको कर्मचारीकै बुझाइ छ । सो कार्यालयमा लिखित परीक्षा ३ सिफ्टसम्म चल्छ । खोटाङ नै घर भएका करारका कम्प्युटर अपरेटर लिखितमा उठेको घुस रकमको कलेक्टर हुन् भनिन्छ । त्यहाँ घुस रकमबाटै आकस्मिक कोष स्थापना गरिएको छ । प्रत्येक सिफ्टबाट दैनिक ३ हजार कोषमा जम्मा गरिन्छ । जुन रकम मन्त्रालयसम्म पुग्ने गरेको चर्चा छ । 

त्यहाँ मोटरसाइकल, कार, जीप र बसको ट्रायल हुन्छ । बाइक र गाडीबाट तीन हजार र ठूलो मेसिनबाट १२ हजार उठ्ने रकम बस्नेतले पेवा जसरी लिने गरेको आरोप त्यहाँका कर्मचारीले लगाएका छन् । स्टोरकिपर विनोद बस्नेतले टेण्डर छलेरै कोटेसनका भरमा ३० प्रतिशतसम्म कमिसन लिएर आफ्ना सप्लायर्सबाट सामान झिकाउने काम गर्दै आएका छन् ।

बजारमूल्यभन्दा बढीमा ल्याएको सामान संख्या बढी देखाएर किर्ते बिल बनाई हाकिम दण्डबहादुर, स्टोरकिपर विनोद र छैटौं तहका कर्मचारी जीवनले बाँड्छन् भनिन्छ । यसमा मुख्य पात्र इजीवे ट्रायल सेन्टरका कर्मचारी बाबुराम सापकोटा र अनिश श्रेष्ठ हुन् । आएका सेवाग्राहीलाई मोटरसाइकल र गाडीको नम्बर तोकेर ट्रायल दिन लगाउँछन् ।

०८० माघको पहिलो शुक्रवार सि नं. ४ का सेवाग्राहीलाई जे जे टुमा बायोमेट्रिक नगराई परीक्षा दिन लगाएको उनले आफ्ना साथी सर्कलमा बताउने गरेका छन् । हेभी गाडीमा उत्तीर्ण गराएबापत २० देखि ८० हजारसम्म असुल गरिन्छ । कारको १० हजार, बसको १५ हजार, बाइकमा आठ हजार उठाइन्छ । 
 

टिप्पणीहरू