अधिराजकुमारका ड्राइभरको त सम्पत्ति अकुत...

अधिराजकुमारका ड्राइभरको त सम्पत्ति अकुत...
सुन्नुहोस्

आफ्नो नाममा सम्पत्ति राख्न मिलेन । ‘मिलाउँला–मिलाउँला’ भन्दाभन्दै अकालमै जिन्दगी भष्म भयो । त्यसपछि ‘डुमै राजा’ भनेजस्तो सम्पत्तिमाथि कस्तो रजाइँ चल्दोरहेछ भन्ने प्रसंग हो यो । 

जसको सम्पत्ति चलाउन पाएर आज विनोद चौधरी संसारका अर्बपतिको सूचीमा दर्ज हुने अवस्थामा पुगे, अर्थात् ०५८ जेठ १९ गते दरबार हत्याकाण्डमा दिवंगत राजपरिवारका सदस्यहरूको सम्पत्तिमा चलेको रजाइँअन्तर्गत विनोद त ‘डलर अर्बपति’ भए, मामुली ट्रक चलाउने ड्राइभर सीताराम तिम्सिनाले पनि कम्ता मोज गरेनन् ।

उनीसँग पनि अर्बमाथिकै सम्पत्ति छ, तर डलर हैन, रूपैयाँको । दरबार हत्याकाण्डमा ज्यान गुमाएका अधिराजकुमार धीरेन्द्र शाहको चालक भएर केही समय काम गरेका थिए । कलंकीस्थित सीता पेट्रोल पम्प, रविभवन लाम्पाटीमा रहेको दरबार व्याङ्क्वेट, एभरेष्ट ग्यास, पूर्व रुटमा चल्ने रात्रि बस कम्पनी ‘महालक्ष्मी डिलक्स’सहितका व्यवसायमा संलग्न सीतारामको आर्थिकस्रोत खोज्दै जाँदा धीरेन्द्रसँगको कनेक्सन भेटिने जानकारहरू बताउँछन् ।

ट्रक ड्राइभरका रूपमा काभ्रेबाट हेटौंडा पुगेका उनले मालसामानको ढुवानीकै क्रममा तत्कालिन अधिराजकुमार धीरेन्द्रसँग निकट सम्बन्ध राखेका थिए । शुरुमा ‘सीता क्याब’ नामक कम्पनी खोलेर ट्याक्सी सेवा सञ्चालन गरे । त्यसको आम्दानी नाफामा परिणत हुँदै गएपछि पेट्रोल पम्प र नाइट बस चलाउन थाले । हुँदाहुँदै अब अर्ब घटीको कामभन्दा तल झर्ने अवस्थामा छैनन् । 

दिवंगत राजा–महाराजाका सम्पत्तिलाई नेपाल ट्रष्टअन्तर्गत राखिँदा सीताराम र चौधरीजस्ताले चलाएको रकम सुरक्षित रहन पुग्यो । किनभने, सबैलाई थाहा भएर पनि ती सम्पत्ति पूर्वराजपरिवारकै हो भन्ने कुराको लिखित प्रमाण भेटिँदैन । पञ्चायतकालमा समेत अवैध मानिने मूर्ति, लागु औषध, बहुमूल्य धातुको आयात–निर्यातजस्ता कारोबारबाट आर्जित रकम लुकाउने क्रममा सीतारामजस्ता ज्यालादारी काम गर्ने मानिसहरू लाभान्वित भएका हुन् । कतिसम्म भने, जन्माएका छोराछोरी पाल्न नसकेर अरुलाई दिनुपर्ने स्थितिमा थिए । तर, अदृश्य आर्थिक आर्जनपछि कारोबार फस्टाएर धनाढ्य बनेका उनले एउटा छोरालाई अमेरिका पठाएका छन् । 

त्यसो त दिवंगत राष्ट्रिय व्यक्तित्वहरूका नाममा पैसा कमाउने धन्दा पनि चल्ने गरेकै छ । हालसम्मको रेकर्डमा सबभन्दा बढी प्रधानमन्त्री बन्नुभएका स्व. गिरिजाप्रसाद कोइरालाको नाममा जिपी फाउण्डेशन बनाएर छोरी सुजाताले खडा गरेको आर्थिक साम्राज्यको पक्ष अलग्गै छ । पर्यटन मन्त्रालयले वर्षमै तीन करोड उक्त फाउण्डेशनका निम्ति दिएको छ ।

मण्डिखाटार हाइटको घर बेचेर सुकेधारास्थित ६ आना जग्गामा रहेको घर तीन करोडमा किनिन् । त्यो पनि बेचेर बूढानीलकण्ठको डाँडामा दुई रोपनी जमिनमा घर बनाएकी छन् । फाउण्डेशनको २ वटा गाडी बेचिसकेकी उनले त्यो घरसमेत बेच्न खोजेको बुझिएको छ । फाउण्डेशनकै नाममा प्रचण्ड, केपी ओलीहरू प्रधानमन्त्री हुँदा पैसा माग्न जाने गरेकी थिइन् । पछिल्लो समय त केपी ओलीले ‘भो, पुग्यो अब’ भनेर फर्काउनुपरेको थियो । 

टिप्पणीहरू