सेनाका हाकिमहरुलाई ठूलै सजायँ

सेनाका हाकिमहरुलाई ठूलै सजायँ

नेपाली सेनामा ‘जस्तो खायो, त्यस्तै निकाल्नुपर्ने’ फैसलाले तरंग मच्चिएको छ । दार्चुला–टिंकर सडक निर्माणका क्रममा आर्थिक घोटाला मच्चाउने अधिकृतका दर्जा घटुवादेखि जति हिनामिना गरेको हो, त्यसबाट केही रकम एकमुष्ट तिराउने गरी सैनिक विशेष अदालतले तलको आदेश सदर र हेरफेर गरेपछि त्यस्तो अवस्था आइलागेको हो ।

द्वन्द्वकालमा ४९ माओवादी बन्दी बेपत्ता बनाएबापत बेनामी कमाएको महाराजगञ्जस्थित भैरवनाथ ब्यारेकका गणपति तथा पश्चिम पृतना हेडक्वार्टरका लेफ्टिनेन्ट कर्णेल हरिबहादुर बोहरासमेतको हकमा पुस १२ गते समरी जनरल अदालतले सम्पत्तिसम्बन्धी कसुरबापत गरेको फैसलाअनुसार एक करोड ९४ लाख ६१ हजार ४ सय ३३ रूपैयाँ विकास निर्माण महानिर्देशनालयमार्फत राजश्व दाखिला भएको छ । उक्त मुद्दामा प्रतिवादी बनाइएका प्राविधिक मेजर रूपेन्द्र थापा र क्याप्टेन शालिग्राम नेपालहरूले समरी जनरल अदालतको आदेशमा चित्त बुझाएनन् र पुनरावेदन गर्दै सैनिक विशेष अदालत पुगे ।

त्यहाँबाट पुस १२ गते भएको फैसलामा प्रमुख आरोपित हरिबहादुर बोहरा र रूपेन्द्र थापालाई दोषी ठहर गरी एक–एक दर्जा घटुवा भयो । तर, शालिग्रामको हकमा समरीको आदेश उल्ट्याएर सफाई दिइयो । यस्तो घटनाकै बीच लेफ्टिनेन्ट कर्णेल देवभक्तमाडी श्रेष्ठ, मेजर प्रकाशकुमार कुँवर, विवेक श्रेष्ठ, पाइलट मेजर योगेशजंग थापा, प्राविधिक मेजर अनिता मालाकार र प्राविधिक क्याप्टेन डा.अलका मजगैयाँले राजीनामा दिएका छन् । बाटो काजमा घोटालाको प्रमुख दोषी मानिएका हरिबहादुर पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीका भाञ्जा हुन् । लमजुङ, बेसिशहरका बासिन्दा उनी समरीको आदेशविरुद्ध विशेषमा पुनरावेदन गर्न गएनन् । फलतः लेफ्टिनेन्ट कर्णेलबाट मेजरमा झरेका छन् । 

उता, स्टाफ कलेजमा तेस्रो (चार्ली–सी) नतिजा ल्याएर पनि हायर कमाण्ड तालिम गर्ने र बढुवासमेत पाउने भाग्यमानीहरू पनि देखा परेका छन् । सामान्यतया ब्राभो (बी), अर्थात् दोस्रो हुँदैमा हायर कमाण्ड कोर्ष गर्न पाइने सुविधा हुँदैन । तर, तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको नाता पर्ने भएकै कारण उपत्यका पृतनामा कार्यरत शिशिरचन्द्र केसी (लमजुङ, सुन्दरबजार) ले मौका पाए । आमा बितेर कोर्ष छुटेको नाममा उनलाई त्यस्तो मौका दिइएको थियो । पछि पूर्णचन्द्र थापाले नियम फेरेर भाइ, भतिजा लक्ष्मण थापाहरूलाई पनि सी ग्रेड हुँदाहुँदै हायर कमाण्ड गर्न दिँदै ब्रिगेडियरसम्म बनाए । तिनै केसीलाई अहिलेका प्रधानसेनापति प्रभुराम शर्माले मानार्थ दुई तारे जर्नेलमा उकालिदिएका  छन् । 

उता, कर्णेल रामचन्द्र खत्री अस्तिसम्म दिल्लीमा सैनिक सहचारी थिए । एनडिसी नगरेका कारण उनले पनि एक तारे जर्नेल भएको दुई–तीन महिनामै मानार्थ बढुवाको सिफारिश भेटेका छन् । शिशिर अहिले एमटी गणको कर्णेल कमाण्डेण्ट छन् । उता प्रधानसेनापति प्रभुराम शर्मा उपचारका लागि दिल्ली जाँदा खत्रीले राम्रै हेरविचार गर्ने मौका पाएकै हुन् । उनले सैनिक भर्ना, प्रहरीको असई, इन्स्पेक्टर, खरिदारका गाइडहरू बेचेर करोडौं कमाएको चर्चा जंगी अड्डामा हुने गरेको छ । उनले कप्तान हुँदादेखि नै यो काम थालेका हुन् । अर्कातिर, जंगी अड्डाभित्रको रेष्टुरेण्टमा कार्की व्यांक्वेट हावी भएको छ । भूकम्पपछि राजेन्द्र क्षेत्रीले अफिस राखेको ठाउँमा पहिला सिद्धार्थ कटेजले रेष्टुरेन्ट चलाएको थियो । त्यही काम अहिले कार्की व्यांक्वेटले पाएको छ । 

त्यस्तै, पुस २१ गतेदेखि लागु हुने गरी कलाकार भरतचन्द्र गुरुङलाई मानार्थ उपरथी दिइएको छ । सँगै, इन्द्रबक्स गणको विशेष अधिकृत कर्णेल कमाण्डेण्ट पनि बनाइएको छ । पाकिस्तानबाट सैनिक सहचारी फुल कर्णेल अमृतकाजी गुरुङ फिर्ता भएपछि भेषबहादुर केसी त्यहाँ जाने भएका छन् । त्यस्तै, अमेरिकाका लागि सैनिक सहचारीमा सैनिक इन्टेलिजेन्स निर्देशनालयका फुल कर्णेल पूर्णप्रसाद ढकाल पुस १९ गते प्रस्थान गरेका छन् । वीरेन्द्र अस्पतालको प्राविधिक महासेनानी (फुल कर्णेल) रमा सुब्बा (डाइटिसियन) को पहिलो पाँच वर्षे पदावधि समाप्त हुने पुस २९ बाटै लागु हुने गरी तीन वर्ष पदावधि थप भएको छ । उनी सशस्त्रका पूर्व डिआइजी देवेन्द्र सुब्बाकी पत्नी हुन् । छोरा पाउनेबित्तिकै निसास्सिएर निधन भएपछि जुम्ल्याहा सन्तान भए । अहिले दुबैलाई सेन्ट जेभियर्समा पढाइएको छ । 

उता, ६ नं. बाहिनी अड्डा, बैरेनीमा मेजर योगेन्द्र धमलाले माथिल्लो दर्जाका कमाण्डरको आदेश पालना नगरी बाहिर निस्केर मादक पदार्थ सेवनसहित बबाल गर्दा लफडामा परेका छन् । उनलाई चेतावनी दिने गरी प्रधानसेनापतिबाट निर्णय सदर भएको छ । 
 

टिप्पणीहरू