भारतीय दूतावास देब्रे भएपछि
फौजी जागिर र राज्यको बर्दी लगाइसकेपछि सबै कुरा व्यक्तिगत हुँदैनन् भन्ने तथ्य बिर्सिंदा एकजना एआइजीले पाउनुसम्म दुःख पाए ।
सशस्त्र प्रहरीमा पहिला सीमा सुरक्षा हेर्ने र अहिले कार्यविभाग सम्हालेका एआइजी बंशी दाहाल दिल्ली पुगेर गरेको एउटा निजी कामको परिणाम काठमाडौं फर्किएर भोग्न बाध्य भएका छन् । छोरीलाई कलेज भर्ना गर्न दिल्ली पुग्नु उनको व्यक्तिगत मामिला थियो, त्यसमा जागिरको नाता लाग्दैन ।
तर, त्यही मौकामा एकजना भारतीय जर्नेलसँग भेट भयो । त्यो कुरा नेपालका निम्ति चासोको विषय बनेन । तर, भारतीय पक्षले यसैमा घोर आपत्ति जनायो । एउटा देशको सुरक्षा निकायमा जागिर खाएर विशिष्ट श्रेणीको अधिकृत भइसकेपछि अर्को देशमा गएर त्यहाँको सुरक्षा निकायमा त्यत्तिकै दर्जाका व्यक्तिलाई भेट्दा फौजी प्रचलनमा अन्यथा मानिन्छ ।
यस्तै प्रकरणमा झण्डै आईजिपी भैसकेका प्रविण श्रेष्ठले जागिर गुमाएर यसको मूल्य समेत चुकाइसकेको अवस्था छ । फेब्रुअरी ३ (माघ २०) मा काठमाडौंस्थित हायात होटलमा भारतीय सेना दिवसको अवसर पारेर आयोजित जलपान कार्यक्रमका निम्ति सशस्त्रका सबै एआइजीले निम्तो पाउँदा बंशीले नपाएपछि यो कुरा बाहिर आएको हो । उनले आफ्ना आइजी राजु अर्याललाई त एकजना जर्नेलबाट सहयोग मिलेकोसम्म भन्न भ्याएका रहेछन् । तर, भारत गएर त्यहाँको जर्नेल भेट्नुअघि लैनचौरस्थित दूतावाससँग एक बचन पनि सोधेका रहेनछन् । यसपछि झस्किएको दूतावासले बंशीप्रति रिस फेरेको बताइन्छ ।
निम्तो कार्ड नआएपछि बंशीको चासो बढ्ने नै भयो । ‘त्यत्रो सीमा सुरक्षामा लामो समय बसेका उनी त्यस्तै परे नारायणदत्त पौडेललाई छिर्के हानेर आइजी बन्ने ल्याकत राख्छन् । दूतावासले निम्तो छुट्याउँदा अरुको नजरमा यो त भारतनिकट हैन रहेछ भन्ने पर्छ नै ! सोल्टीमा भारतीय दूतावासका कर्णेललाई नशाका सुरमा झम्टिँदा ताराध्वज पाण्डेले आउनै लागेको सेनापति पद गुमाउनुप¥यो ।’ एवं प्रकारले सोधखोज बढ्दै गएपछि कार्यक्रमकै दिन बिहान बल्लबल्ल निम्तो आइपुग्यो ।
अर्कातिर कार्य अवधी पूरा भएका कर्णालीका डिआईजी प्रदीप पाल र बागमतिका लक्ष्मण सिंहलाई सशस्त्र मुख्यालयले फिर्ता गरेको छ । सशस्त्रमा आठ बाहिनी र १६ डिआइजीमात्रै हुँदा प्रत्येक डिआइजीका भागमा दुई–दुई बाहिनी पर्ने अवस्था छ । त्यसमध्ये सुरेश श्रेष्ठ मिशनमा गएका कारण स्टाफ कलेजको कमाण्ड खालि छ । एसएसपीले हेरिरहेका छन् ।
उता, कपिलवस्तुको चाकरचौडाका डिएसपी धीरेन्द्र साहले तस्करीमा सघाएको सूचना पाएपछि सशस्त्रले छानवीन गर्दा आफूलाई पत्रकार भन्ने एकजना व्यक्तिकै बदनियत भेटिएको छ । ती पत्रकारले साढे दुई करोड हिनामिनामा जेल परेर छुटेका एक मुस्लिमसँग मिलेमतो गरी डिएसपीलाई ‘काम मिलाइदेऊ’ भन्ने गरेका थिए । तर, नमानेर ती तस्करको सामान समातेबापत डिएसपीविरुद्ध हेडक्वार्टरमा कुरा लगाइएको थियो । यो कुरा पत्ता लागेपछि ६ महिनामात्रै बिओपीमा बस्न पाइने अवधीमा धीरेन्द्रले थप ६ महिनाको ‘पुरस्कार’ पाएका छन् ।
टिप्पणीहरू