चौधरीले जब रुवाए डेभिड र प्रेक्षालाई

चौधरीले जब रुवाए डेभिड र प्रेक्षालाई
सुन्नुहोस्

बाँसबारीस्थित तत्कालीन छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हत्याएको प्रमाण छरपष्ट भएपछि विनोद चौधरीले गरेका अन्य धेरै खेलोफड्कोका खबर एकपछि अर्को सतहमा आएको छ ।

जुनसुकै उद्योग स्थापना र व्यवसाय सञ्चालनको श्रीगणेश नै ठगीको उद्देश्यबाट गर्ने विनोदबारे कुनै समय वाईवाई कारखानामा काम गरी लामो समयदेखि अमेरिकामा रहेका एक जना नेपालीले बताए, ‘उनको परिचय नै धोकेबाज हो । राजश्व छल्ने, विदेशी मुद्रा कारोबारमा लटरपटर पार्ने र भ्याएसम्म सरकारी जग्गा मिच्ने उद्देश्यले ग्रसित चौधरीका तीन जना छोरामा समेत उक्त वंशाणुगत गुण छिरेको छ ।’ती नेपालीले भने, ‘वाईवाई चाउचाउको सैंबुस्थित पहिलो कारखाना र कम्पनी नै उसको होइन । डेभिड भन्ने अमेरिकी लगानीकर्ताले त्यतिबेला बैंककबाट काठमाडौँ आएर खोलेका हुन् ।’

तत्कालीन समयमा नेपालमा वैदेशिक लगानीको निम्ति सहज अवस्था थिएन । विदेशीले उद्योग, कलकारखाना खोल्न र प्रत्यक्ष विदेशी लगानी गर्न निकै लामो र झन्झटिलो प्रक्रिया थियो । त्यही प्रक्रियालाई सहज बनाउन डेभिड र उनीसँग निकट राजदरबारका केही नातेदारले चौधरीलाई अघि सारेका थिए । आन्तरिक सहमतिमा डेभिडले गरेको ठूलो लगानीलाई उतिबेलै आफूले तोडेपछि चौधरीको धनी हुने सपनाको थालनी भएको देखी जान्नेहरू धेरै छन् । स्रोतले भन्यो, ‘डेभिड त्यतिबेला ललितपुरको सैंबुस्थित कारखाना परिसरमा बनाइएको गोलघरमा बस्थे । चाउचाउ उत्पादन हुनु अघिदेखि निरन्तर खटिए । चौधरीले धोका दिएपछि विरक्तिएर हिँडे । त्यतिबेलाका पाका स्थानीयले समेत डेभिड आएको र विरक्तिएर हिँडेको अहिले पनि बताउने गर्दछन् ।’

चाउचाउअघि चौधरीले तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहसँग मिलेर काठमाडौँको सतुंगलमा अपोलो जस्तापाता कारखाना खोले । कारखाना बसेको जग्गाको स्रेस्ता र कम्पनीको दर्ता शुरुमा धीरेन्द्रकै नाममा भएको बताइन्छ । मुलुकमा भर्खर प्रचलन बढेकाले त्यो बेला डिलरले पहिले पैसा बुझाएपछि दुई तीन महिना कुरेर मात्रै मागेको परिमाणमा जस्तापाता पाउँथे । त्यो बेलाको अवस्थाको चर्चा गर्दै चार दशकअघि चौधरी र दरबारनिकट ती व्यक्तिले भने, ‘एपोलोको त्यति क्रेज थियो । कम्पनीको जग्गा र कारखाना धीरेन्द्रको नाममा थियो । उनको निधनपछि सबै चौधरीको स्वामित्वमा गएको देखाइएको छ । शाहको परिवार हुँदाहुँदै कसरी चौधरीले लाट्लुट् पारे त्योचाहिँ रहस्यमय देखिन्छ ।’

चौधरीले कम्पनीको आम्दानी भन्दै धीरेन्द्रलाई ४० को दशकको आधासम्म प्रतिमहिना एक लाख रुपैयाँँ बुझाएको देखिन आएको छ । चौधरीले कम्पनीको नाफा खासै नभएको भन्दै लामो समय एक लाखमा झुलाएपछि धीरेन्द्रकी श्रीमती तथा तत्कालीन राजा वीरेन्द्रकी कान्छी साली प्रेक्षाले राष्ट्रिय वाणिज्य बैंकका तत्कालीन महाप्रबन्धक लक्ष्मणबहादुर हमाललगायतलाई वास्तविकता बुझ्न निवासमा बोलाएकी थिइन् । 

वाणिज्य बैंकबाट ऋण लिएको देखाएकाले उनले कारखानाको आम्दानी, हरहिसाब र बैंकको ऋणबारे सोधनी गरेको उक्त छलफलमा सहभागी एक जनाले जनआस्थालाई बताए । हमालले हिसाब किताबको फेहरिस्त सुनाएपछि चौधरीले आफूहरूलाई ठगेको भन्दै प्रेक्षा त्यतिबेला निर्मल निवाससँगैको भवनमा जंगिएकी थिइन् । तर, विनोदले उक्त कम्पनीमा ४९ प्रतिशत धीरेन्द्रको र ५१ प्रतिशत आफ्नो लगानी रहेको लेखेका छन् ।

उनको बदमासीबारे तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगमा उजुरी हालेर चौधरीलाई तह लगाउने भनी दरबारले तयारी गरिरहँदा पञ्चायती व्यवस्थाको अन्त्य भयो । २०४६ चैत २७ गते बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि उनले रातारात राजनीतिक रंग फेरेका कारण राजपरिवार अप्ठेरोमा परेकाले चौधरीले छाती फुलाएर हिँड्ने मौका पाएको दरबारनिकट स्रोतको भनाइ छ ।

चौधरीलाई पहिले दरबारका प्रभावशाली नातेदारहरूसँग नजिक हुन सबै चाँजापाँजो भने पटक पटक प्रधानमन्त्री भइसकेका सूर्यबहादुर थापाले मिलाइदिएका थिए । ०३६ सालको जनमत संग्रहताका चौधरी थापा हुँदै धीरेन्द्रसँग नजिक भएकाले उनलाई दिवंगत हुनुअघि स्वयं थापाले पनि भन्ने गरेका थिए, ‘मुसो बनेर छि¥यो, अहिले शेर भएको छ ।’


 

टिप्पणीहरू