विप्लवका सामु ओलीको वर्णन

बैठकबाटै माधव नेपालले उपेन्द्र यादवलाई फोन गरेर सोध्नुभयो– विप्लवलाई संयोजक बनाउने प्रस्तावमा तपार्ईंंको के छ धारणा ? मधेस सरकारले विश्वासको मत लिने कार्यक्रमका लागि उतै रहेका उपेन्द्रले फोनबाटै ‘हुन्छ’ भनेपछि आइतबार बिहानको बैठकले नेत्रविक्रम चन्द विप्लवलाई समाजवादी मोर्चाको संयोजक बनाउने निर्णय गर्‍यो   ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा कांग्रेस र एमालेलाई ‘दबाब’ बढाउन रणनीतिक हिसाबले अघि सारेको भनिएको मोर्चाको नेतृत्व अब संसदबाहिरको दल नेकपाका महासचिव विप्लवले गर्नेछन् । 

सरकारको नेतृत्वकर्ता माओवादी केन्द्र, सत्ता साझेदार एकीकृत समाजवादी र जसपासहित संसद बाहिर रहेको विप्लव नेतृत्वको नेकपा सहभागी मोर्चाको नेतृत्व आलोपालो गर्ने प्रावधानअनुसार दुई कार्यकाल संयोजक रहिसकेका माधवले नै विप्लवलाई संयोजक बनाउने प्रस्ताव बैठकमा राख्नुभयो । र, लगत्तै आफैँले फोन गरेर उपेन्द्रको सहमति लिनुभएको हो ।

विप्लव नेतृत्वको नेकपा मौजुदा राजनीतिक प्रणाली र संविधानकै विपक्षमा छ । गत आमनिर्वाचन बहिष्कार गरेको उक्त दलको संसदमा उपस्थिति छैन । तर, त्यही दलका महासचिवले आइतबारदेखि प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवसहित सत्ताधारी दलका शीर्ष नेता सदस्य रहेको मोर्चाको कमाण्ड लिएका छन् ।

बैठकले दक्षिणपन्थी शक्तिहरूले टाउको उठाइरहेका बेला त्यसलाई ‘काउण्टर’ दिन मोर्चालाई थप सक्रिय बनाउने प्रस्ताव पनि अनुमोदन गरेको छ । त्यसका लागि शहर केन्द्रित गतिविधि बढाउनुपर्ने निश्कर्ष निकाल्दै जिल्ला र स्थानीय तहसम्मै कार्यक्रम विस्तार गर्ने निर्णय पनि भएको छ । सहभागी एक नेताका अनुसार मुख्य शहरहरूमा यसअघि नै सन्देश सभा सम्पन्न भैसकेकाले मोर्चाले अब साना शहरमा कार्यक्रम केन्द्रित गर्नेछ । 

बैठकमा बालकुमारी घटना र जाँचबुझ आयोगको प्रतिवेदनको प्रसँग पनि निस्किएको थियो । रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने तयारीमा रहेका दुई युवकको ज्यान जानेगरी पुस १३ मा भएको घटना छानबिनका लागि सरकारले गठन गरेको जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई ‘दोषी’ देखाएर प्रतिवेदन बुझाएको रिपोर्टिङ प्रधानमन्त्रीले बैठकमा राख्नुभयो ।

मन्त्रीकै कारण उक्त घटना घटेको प्रतिवेदनको सार प्रधानमन्त्रीकै मुखबाट सुनेपछि अन्य नेताले थप टिप्पणी गरेनन् । तर, ‘दोषी’ करार गरिएका मन्त्रीमाथि के हुन्छ भन्ने कुरा न प्रधानमन्त्रीले बताउनुभयो न मोर्चाका अन्य नेताले सोधखोज गरे । बैठकमा सरकारबारे पनि लामै चर्चा भयो । राष्ट्रियसभा निर्वाचनमा कोशीको परिणामले सत्ता गठबन्धनमा गडबडीको आशंका भैरहेका बेला प्रधानमन्त्रीले त्यस्तो अवस्था नरहेको पटक–पटक दोहो¥याउनुभएको थियो । नेतालाई आश्वस्त पार्दै भन्नुभयो – सरकार संकटमा छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठकसम्म कुरिदिन आग्रह गरेकाले मन्त्रिमण्डल हेरफेर अहिलेका लागि रोकिएको हो । 

शान्ति प्रक्रिया टुंगोमा पु¥याउन परेका अप्ठेराबारे पनि बैठकमा चर्चा चलेको थियो । प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित टिआरसी विधेयक संसदबाट पास गर्न एमाले अध्यक्ष केपी ओली बाधक रहेको रिपोर्टिङ गरेपछि केहीबेर त्यसैउपर छलफल केन्द्रित भयो । एमालेलाई समेत सहमतिमा लिएर विधेयक पारित गर्ने सरकारको प्राथमिकता सुनाउँदै प्रधानमन्त्रीले ‘ओलीले सत्ता बार्गेनिङको विषय बनाएकाले’ सम्भव नभएको ब्रिफिङ गर्नुभयो । तैपनि, सरकारले सहमति जुटाउने प्रयास गरिरहेको उहाँको भनाइ बैठकमा सहभागी नेताले सुनाए । 

एमाले सहमतिमा नआए बहुमतले विधेयक पारित गर्दा आउनसक्ने सम्भावित चुनौतीबारे पनि छलफल भएको थियो । एक नेताका अनुसार सामान्य बहुमतले विधेयक पास गर्न सकिने भए पनि कार्यान्वयनमा एमालेले बखेडा झिक्नसक्ने चिन्ता प्रधानमन्त्रीमा देखिन्थ्यो । संसदले पास गर्ने कानुनका आधारमा सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन हुने र त्यसले पीडितहरूलाई मेलमिलाप गराउने अवस्थामा एमालेले एउटा पक्षलाई उचालेर अप्ठेरो पार्न सक्नेतर्फ प्रधानमन्त्रीलाई सचेत गराएको ती नेताले बताए ।

यता, संयोजक तोकिएकोमा मख्ख विप्लवले भने बैठकमा खासै कुरा नगरेको बताइन्छ । बरु उनका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ महँगो गाडी चढेर सुरक्षासहित बैठकमा पुगेको कुरा बाहिर निस्किएपछि नेताले खासखुश गरे । बताइएअनुसार पूर्वमन्त्रीसमेत रहेका प्रकाण्ड शानदार पजेरोमा पिएसओ लिएर बैठकमा गएका थिए ।

तत्कालीन एकीकृत माओवादीबाट छुट्टिएर मोहन बैद्यको नेतृत्वमा नेकपा–माओवादी गठन गरेको केही समयमै त्यहाँ पनि बिद्रोह गरेर विप्लव र प्रकाण्ड भूमिगत भएका हुन् । त्यसपछि केही समय ‘जनयुद्ध–२’ का चलाएका उनीहरू केपी ओली प्रधानमन्त्री भएका बेला राज्यसँग सहमति गरेर खुला राजनीतिमा आएका थिए । तर, वर्षौँ संसदीय राजनीति गरेका नेताको तुलनामा प्रकाण्डले शानदार गाडी चढेको विषयले समाजवादी मोर्चामा चर्चा पाएको हो ।
 

टिप्पणीहरू