‘बा’ अकस्मात् कारबाहीबाट ब्याक

‘बा’ अकस्मात् कारबाहीबाट ब्याक

कारबाही गरे दाहिने हातहरू लाखापाखा लाग्ने डर, नगरौँ पार्टी बदनाम भैरहने पीर– महिलाको मामिलासँगै गुण्डागर्दीलाई प्रश्रय दिँदै आएको र घरेलु हिंसासमेत मच्चाएको आरोप लागेका केही युवा नेतालाई कारबाही गर्ने अठोटमा रहनुभएका एमाले अध्यक्ष केपी ओलीलाई परेको अप्ठ्यारो हो यो ।

सचिवालय बैठकमै उहाँले चरित्रहीन गतिविधिमा लागेका सबैलाई कारबाही गर्ने भन्नुभएको थियो । तर, कारबाही गर्दै जाँदा ‘आई लभ यु केपी बा’ भनेर सडकमा नारा लगाउनेहरू नै डामिने स्थिति देखा परेपछि ओलीले मनस्थिति बदलेको एमाले वृत्तमा चर्चा हुँदै छ । कुनैबेला ओलीका ‘प्रिय’ कहलिएका भक्तपुरका महेश बस्नेत धादिङकी ४ चोटिसम्म बिहे गरिसकेकी एक विवाहित महिलासँग धुलिखेलको एउटा होटलमा साढे तीन वर्षअगाडि भेट भएदेखि निरन्तर अनैतिक सम्बन्धमा रहेको पार्टीमा मौखिक उजुरी परेको थियो । त्यसतर्फ संकेत गर्दै ओलीले सचिवालय बैठकबाटै ‘चरित्रहीनहरूलाई कारबाही गर्ने’ उद्घोष गर्नुभयो । त्यसबेला नेताले ठाडै नगरी कुनै विधि बनाएर कारबाही गर्नसमेत सुझाएका थिए । तर, उहाँ भन्नुहुन्थ्यो– हैन, यस्तालाई तुरुन्त हटाउने हो ।

उक्त घटना सार्वजनिक भएपछि भने ओली कारबाही नगर्ने मुडमा पुगेको बताइन्छ । असन्तुष्टहरूलाई पाखा लगाएर एकलौटी गरेका महेशको युवा संघमा एकल पकड छ । त्यसकारण उनलाई कारबाही गर्दा निम्तिने सम्भावित परिणाम हेरेर ओली ‘ब्याक’ भएको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकटहरूको अनुमान छ । ‘उनलाई कारबाही गर्दा भोलि आफूलाई एस्कर्टिङ गर्न देशभर हिँड्ने मान्छे हुँदैन भन्ने ठानिएको हुन सक्छ’, व्यंग्य गर्दै एक नेताले भने । 

महेशमात्र होइन, युवा संघका पूर्वअध्यक्ष राजीव पहारी, अखिलका पूर्वअध्यक्ष तथा युवा नेता ऐन महर र पूर्वमन्त्री मोहन बानियाँ पनि यस्तै प्रकरणमा मुछिएका छन् । एक वर्षदेखि महिलासँगको सम्बन्धलाई लिएर विवादमा परेका ऐनलाई भने पार्टीको जिम्मेवारीबाट हटाइए पनि अरूमाथि कारबाही भएको छैन । यता, केन्द्रीय सदस्यबाट हटाइएका महरले गृहजिल्ला बझाङबाट कार्यकर्ता बटुलेर अध्यक्षलाई दबाब दिन बालकोट डेलिगेशन जाने भनेका छन् ।

अस्ति आइतबार महासचिव शंकर पोखरेललाई भेटेर उनले आफूमाथि भएको अन्यायपूर्ण कारबाहीको निर्णय सच्याउन माग गर्दै अन्यथा ‘डेलिगेशन’ जान बाध्य हुने भनी घुक्र्याइसकेका छन् । तर, शंकरले भने अध्यक्षकहाँ ‘डेलिगेशन’ गएर पार नलाग्ने सल्लाह दिएर फर्काइदिएको चर्चा छ । ‘तपाईंलाई पार्टीबाट निकालेको हैन, अहिले चुपचाप बस्नुस्, सबै सेटल भएपछि आफैँ मिल्छ’ भन्दै शंकरले आफू तल परिसकेपछि ‘धेरै फुरफुर नगर्न’ चेतावनी दिएको भनिँदै छ । 

प्रचण्ड–माधवलाई ‘देखाइदिन’ संसद विघटन गर्ने, छँदाखाँदाको आफ्नै सरकार ढाल्ने ओलीलाई त्यस्तो चुनौतीले फरक नपर्ने त निश्चितै छ, उल्टै ऐनलाई आफ्नै कदम प्रतुत्पादक हुने देखिन्छ । ओलीको मौखिक आदेश चल्ने पार्टीमा बरु बालकोट पुगेर अध्यक्षको मन जिते उनको पनि जित हुनसक्छ । यसअघि युवा संघको कञ्चनपुर जिल्ला अधिवेशनका क्रममा भएको कुटाकुटको घटनामा कारबाहीमा परेकाहरूले अध्यक्षको मन जितेरै पार्टीमा फर्किएको नजिरले त्यही भन्छ । त्यसबेला महेश बस्नेत प्रमुख अतिथि रहेको जिल्ला सम्मेलन उद्घाटनका क्रममा दुई पक्षबीच कुटाकुट भएको थियो । घटनाको छानबिन गर्न उपाध्यक्ष युवराज ज्ञवाली नेतृत्वको कार्यदल गठन गरियो ।

कार्यदलले डेढ दर्जनजति युवालाई कारबाही गर्न सिफारिस गरेअनुसार निर्णय भयो । तर, केही समयमा कमला बोहोरालगायतले अध्यक्षलाई भेटेर छुट्टै रिपोर्टिङ गरे । त्यसपछि अध्यक्ष ओलीले ‘ए मैले त एक पक्षको मात्र कुरा सुनेर निर्णय गरेको रहेछु, अब कारबाही फिर्ता हुन्छ’ भन्नुभयो र सोहीअनुरुप निर्णय पनि भयो । अध्यक्षलाई खुशी बनाउन सके यति सजिलो पार्टीमा ऐनको ताउरमाउरले काम नगर्ने उनी समर्थक अनेरास्ववियुका नेता बताउँछन् । 

घटनाक्रम केलाउने हो भने एमालेमा अध्यक्ष ओलीको आलोचना गर्नु, उहाँसँग आँखा जुधाएर प्रश्न गर्नु भनेको आफैँ सिद्धिनु हो । आधा दर्जन उपाध्यक्ष र त्यति नै संख्याका सचिवहरू छन्, तर उनीहरू किनाराका साक्षी भएर बस्नुपरेको अवस्था छ । ओली कतिसम्म एकलौटी गर्नुहुन्थ्यो भने, उहाँकै भित्रिया भन्नेहरूसमेत प्रतिनिधिसभा विघटनको निर्णय मिडियाबाट थाहा पाएको अहिले पनि बताउने गर्छन् ।

बाहिर अध्यक्ष ओलीको आलोचना गर्नेलाई झम्टिहाल्ने एक जना नेताले अनौपचारिक कुराकानीमा कसम खाँदै सुनाए– ‘मैले पनि बानेश्वरमा चिया पिउँदा पिउँदै थाहा पाएको हुँ । एकरत्ति पनि सुइँको थिएन ।’ ओली चरित्रको विश्लेषण गर्दै उनै नेताले एउटा पुरानो घटना स्मरण गरे – ओली पहिलोपल्ट अध्यक्ष चुनिएर आएको रापतापको बेला थियो ।

विद्या भण्डारी त्यसबेला पार्टीमा हुनुहुन्थ्यो । एउटा बैठकमा उहाँले बल्खुबाट पार्टी कार्यालय धुम्बाराही सारेको चित्त बुझेको छैन भन्नुभयो । जवाफमा ओलीले आफूलाई भूकम्प आएकै मन नपरेको र घर ढलेको त झनै चित्त नबुझेको बताउनुभयो । उनी चिन्ता गर्छन्– यस्तो खरो मान्छे रहेसम्म कसरी पार्टी उँभो लाग्ला र !

टिप्पणीहरू