कमरेडहरूको व्यवहार परिवर्तन कहिले ?

कमरेडहरूको व्यवहार परिवर्तन कहिले ?
सुन्नुहोस्

– मेगराज खड्का

माक्र्सवाद, लेनिनवाद, माओवाद वा अन्य विभिन्न वादी विचारधारा कम्युनिष्ट पार्टी र कार्यकर्ताले मान्दै आएका छन् । उनीहरू आफूले बोक्ने पार्टीको विचार अन्य पार्टीको भन्दा क्रान्तिकारी, जनमुखी र वैज्ञानिक भनेर दाबी पनि गर्छन् ।

माओवाद, माक्र्सवादलगायत अन्य वादको धरातल के हो ? सबैले बृहत अध्ययन पनि गरेका हुँदैनन् । सिद्धान्ततः यस्ता अध्ययन आम मानिसको क्षेत्र र रुचिको विषय पनि नबन्ला तर राजनीतिक पार्टी र कार्यकर्ताको व्यवहारगत गुण भने सबैले बुझेका  हुन्छन् । पार्टीको किताबी सिद्धान्तभन्दा व्यवहारगत राजनीतिक अभ्यासलाई नै जनताले सही वा गलत छुट्याउने अस्त्र भनेर चुनाव वा अन्य बेला प्रयोग गर्छन् । कम्युनिष्ट राजनीतिक नेतृत्व भनेर जसरी जनयुद्धताका तत्कालीन माओवादीलाई चिनिन्थ्यो र भोगिन्थ्यो, त्यो अहिले पाउनै मुश्किल छ ।

पहिले रक्सी फाल्ने कम्युनिष्टले अहिले रक्सीकै डिलर तथा उद्योग खोलेका छन््, मन्दिरमा कालो बोका चढाएका छन् ।
 

सामान्यतया आममानिसले बुझेको कम्युनिष्ट सिद्धान्त भनेको कम्युनिष्टहरू क्रान्तिकारी र परिवर्तनकारी शक्ति हुन्, सामाजिक, साँस्कृतिक कुरीति आफू गर्दैनन् र गर्नेका विरुद्ध पनि लड्छन्, जनअधिकारको पक्षमा जस्तोसुकै क्षति व्यहोरेर पनि संघर्ष गर्छन्, व्यक्तिगत फाइदा नहेरेर सामूहिक जीवन पद्धतिमा विश्वास र अभ्यास गर्छन्, हरेक क्षेत्रबाट पछि परेका वा पारिएका व्यक्ति तथा समुदायलाई मूलधारमा ल्याउँछन् र त्यसको परिवर्तन आफैँबाट शुरु गर्छन् भन्ने हो । त्यति मात्र होइन, समग्रतामा कम्युनिष्टको सामाजिक, साँस्कृतिक, आर्थिक, राजनीतिक र धार्मिक संस्कार पनि फरक हुन्छ । तर आम मानिसको सामान्य जानकारीमा रहेका कम्युनिष्ट नेता–कार्यकर्तामा हुनुपर्ने गुण २१ औँ शताब्दीको वैज्ञानिक समाजवादको नारा लगाउने पार्टीको मूल नेतृत्वमा पनि व्यवहारत अन्य पार्टीको भन्दा खासै फरक भूमिकामा देखिँदैन । 

जनयुद्धको माओवादी र संघीयताको कम्युनिष्ट पार्टी

नेपालको राजनीतिक वृत्तमा माओवादी जनयुद्धको एउटा सफल एजेण्डा भनेको संघीय संरचनामा देशलाई लैजानु हो । त्यसबाहेक समाजको सामाजिक, साँस्कृतिक तथा आर्थिक रूपान्तरणको मुद्दा भने खासै फेरिएको पाइँदैन । द्वन्द्वकाल र हिजोआज शान्तिकालको समाज एकदमै फरक छ । फरक भन्नुको मतलब राम्रो भनेको चाहिँ पटक्कै होइन, बरु बिग्रेर गएको छ । जति द्वन्द्वकालमा समाज विकृतिबाट जोगिएको थियो, अहिले त्यस्तो केही देखिँदैन । 

द्वन्द्वकालमा दुर्ई पक्षबीच हुने झडप वा राजनीतिक आस्थाका आधारमा मृत्युका घटना त धेरै थिए तर सामाजिक स्तरबाट हुने हत्या, हिंसा, बलात्कार, चोरी, डकैती, बोक्सी आरोप र रुढिवादी धार्मिक संस्कार पूरै अन्त्यजस्तो देखिन्थ्यो । त्यसको मुख्य योगदान माओवादी जनयुद्धकाल नै थियो । यस्ता विकृत काम गर्नेलाई माओवादीले जनकारबाही गर्छ भन्ने त्रास थियो त्यसकै कारण नै समाज सुध्रिएको थियो । तर, जसै जनताका घरमा खाँदै, जंगल र ओढारमा बास बस्दै गरेको माओवादी सिंहदरबारमा पस्यो अनि यी गतिविधि दोहोरिन थालेका छन् । 

कम्युनिष्ट अरूभन्दा कसरी फरक ?

बेला–बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित जिल्लास्तरका नेताहरूले पनि भाषणका क्रममा भन्ने गर्छन्– हामी कम्युनिष्टको अन्य संसदीय दलभन्दा सामाजिक व्यवहार र एजेण्डा फरक छ । तर, साँच्चिकै व्यवहारगत रूपमा हेर्दा कम्युनिष्ट र कांग्रेससहित अन्य दलमा आबद्ध कार्यकर्ताको व्यवहार एउटै छ । केही कम्युनिष्ट नेताले शपथ खाँदा ईश्वरको नाम कटाएर देश र जनताको नाममा बोल्नेबाहेक अधिकांश नेता–कार्यकर्ता उही ईश्वरकै नाम जप्ने दिशामा छन् । जनयुद्धकालमा गाउँ–गाउँमा रक्सी खोज्दै फाल्ने कम्युनिष्टले अहिले आफैँ रक्सी खाने त छँदै छ रक्सीकै डिलर राखेर व्यवसाय गर्नेदेखि रक्सी उद्योगसमेत गाउँ–गाउँमा खोलिरहेका छन् ।

त्यस्तै अन्य पार्टीका कार्यकर्ता र जनता जस्तै कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताको पनि जन्म तथा मृत्यु संस्कारमा कुनै फरक छैन । त्यसबाहेकका अन्य सामाजिक तथा साँस्कृतिक मुद्दा झन् जोडतोडसाथ उठिरहेका छन्् । केही वर्षअघि प्रचण्डले नै भँैसी पूजा गरेको निकै चर्चाको विषय बनेको थियो भने माओवादी नेताहरू मन्त्री तथा अन्य राजकीय पद पाएर सरकारी निवास सर्दा कालो बोका काटेर कार्यालय सारेकोसमेत धेरै उदाहरण छन् । जनवादी विवाहको वैवाहिक संस्कार अँगाल्ने माओवादी नेता–कार्यकर्ताले जनवादी विवाह त के बालविवाह र बहुविवाहका मुद्दामा समेत निकै आलोचना खेप्नुपरिरहेको छ । जनयुद्धमा मृत्यु हुँदा जंगलमा खाल्डो खनी लाश गाडेर लालसलाम गर्दै अर्को युद्धमोर्चामा सहभागी हुने सहयोद्धाहरूसमेत अहिले कपाल फालेर १३ दिने संस्कार गरिरहेको पाउँछौँ । 

बुर्जुवा शिक्षा भन्दै पढाइ छाडेर जंगल हिँडेकाहरू अहिले छोराछोरीका उमेरसँग भर्ना भएर पढिरहेको पाउँछौँ । त्यति मात्र होइन, निजी बोर्डिङ स्कुलको विरोध गर्दै खारेजी अभियान चलाएको माओवादी नेता–कार्यकर्ताबाटै अहिले निजी स्कूल खोल्ने, आफ्ना छोराछोरीलाई सरकारी छाडेर त्यसमै पढाउने पनि गरेको पाउँछौँ । त्यसका साथै अध्ययन तथा स्वास्थ्य उपचारको सिलसिलामा विदेशका महँगा महँगा संस्थामा जानेमा पनि कम्युनिष्ट नै पछिल्लो समय बढी देखिएका छन् । द्वन्द्वकालमा मन्दिर भत्काउँदै हिँड्ने माओवादी जनप्रतिनिधिले नै अहिले मन्दिर निर्माणका लागि लाखौं रकम छुट्याएको त झनै नौलो कुरा भएन । 

कम्युनिष्टलाई व्यवहारगत सुझाव

कम्युनिष्ट पार्टीले अरूभन्दा फरक पार्टी हो र हामीसँग फरक नेतृत्व छ भनेर देखाउनका लागि पूरै सम्भव नभए पनि केही हदसम्म चाहिँ पक्कै गर्नुपर्ने देखिन्छ । सिद्धान्तमा जस्तोसुकै राम्रो दस्तावेज भए पनि गाउँमा रहेका नेता–कार्यकर्ताको व्यवहारमा परिवर्तन छैन भने सच्चा क्रान्तिकारी हुन सकिँदैन । कम्युनिष्ट नेता–कार्यकर्ता र शुभेच्छुक हुन केही मापदण्ड पक्कै पनि बनाउनुपर्छ । यस्ता मापदण्ड सकेसम्म पार्टीको उच्च नेतृत्वदेखि जनतासम्म र यदि त्यो सम्भव नभएमा कम्तीमा केही सीमा बनाएर अनिवार्य लागू गर्नुपर्छ । अहिले मनोमानी रूपमा कसैले गर्ने र कसैले नगर्ने भएको हुँदा कम्युनिष्ट नेता–कार्यकर्तामा व्यवहारगत खिचडी देखिएको हुन्छ । त्यसकारण माथि उल्लेख गरिएका विषयमा गम्भीर रूपमा समीक्षा गर्न आवश्यक छ ।

यी विषयमा कम्तीमा पनि केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति वा सबै आम शुभेच्छुक जनतामा कुनसम्म अनिवार्य लागू गर्न सकिन्छ त्यसमा नैतिकताको प्रश्न उठाउँदै कडाइसाथ लागू गर्नुपर्छ । तब मात्र अन्य पार्टीभन्दा कम्युनिष्ट पार्टी फरक हुनेछ । सिद्धान्त र व्यवहारमा एकरूपता आउने छ । त्यसका साथै दैनिक व्यावहारिक जीवनमा आइपर्ने धेरै विषयमा नेता–कार्यकर्ता र शुभेच्छुकहरूमाथि स्पष्ट मापदण्ड हुन जरुरी छ । नत्र सिद्धान्त र व्यवहारको सीमा कहिल्यै भेटिँदैन र जनताबाट आलोचित भइरहनेछ ।

जनताको सामाजिक, आर्थिक र साँस्कृतिक रूपान्तरका लागि भन्दै लामो जनयुद्ध गरेका कम्युनिष्टका लागि यी कुरा सुनिश्चितता गर्नु भने पहिलो शर्त नै हो । जबसम्म सिद्धान्तअनुसार कुनै पनि पार्टीको नेतृत्व, कार्यकर्ता र शुभेच्छुकको जीवनशैली र व्यवहार परिवर्तनमा कुनै मापदण्ड बन्दैन तबसम्म सच्चा देशभक्त, क्रान्तिकारी वा जनमुखीको निरन्तरता हुन सक्दैन । त्यसका लागि अन्य ठाउँका भन्दा जनयुद्धका आधार इलाका मानिएका रुकुम–रोल्पाकै कम्युनिष्टबाट यसको व्यवहारगत परिवर्तन र नैतिकताको बन्धन बनाउनु आवश्यक छ । 
 

टिप्पणीहरू