उनका मात्रै कुरा सुन्ने हो र श्रीमान् ?
अब मर्नु कि मार्नुको विकल्प छैन । राज्यका कुनै निकायले कारबाही गर्दैनन् । न्याय पनि दिँदैनन् । हामी निमुखाहरूको निम्ति बोलिदिने को ? उच्च अदालतमा फाइल पुगेको छ । त्यहाँ पनि जिल्लाको जस्तै आदेश दिएर सदर भैदियो भने आत्मदाह गरेर मरिदिन्छु । मेरा दुर्ई सन्तानलाई पनि त्यहीँ लगेर बुझाइदिन्छु । पैसाका लागि वडाध्यक्ष, न्यायाधीश, प्रहरीका केही मान्छे बिक्ने अनि हामीमाथि अन्याय गर्ने ? कुनै बेला सहयोग गरेको नाममा वडाध्यक्षले काखमा राखेर रेट्न मिल्छ ? न्यायाधीशले उनीहरूको कुरा मात्रै सुन्ने हो ?
वडाध्यक्षको त्यो गल्तीका कारण हामी सुकुम्बासी भएका छौं । सरोकारवाला विना वडाले व्यक्तिको घरबाटो सिफारिस दिएका कारण हामी सडकमा पुग्यौं । तत्कालीन वडाध्यक्ष निराजन जंगम यसका मुख्य कारक हुन् । उनले जग्गाधनी नआउँदै सरकारी कर्मचारीको परिचयपत्र देखाएका भरमा सिफारिस दिए । जग्गाधनी प्यारालाइसिस भएको बहाना बनाए । उनले स्थानीय भएकै कारण एक पटक बुझ्ने प्रयत्न पनि गरेनन् । स्थानीय र एउटै कमिटीमा रहेर काम गरेको व्यक्तिलाई त त्यसो गरे भने अरूको हालत के होला ?
उनी कसरी फसे वा अञ्जानमा कसरी सिफारिस दिए ? त्यो त जानकारी छैन । पछि मैले गल्ती गरेँ, सहयोग गर्छुसम्म त भने तर केही गरेनन् । उनको त्यो गल्तीका कारण आज म दुर्ई वर्षदेखि अड्डा, अदालत धाउन बाध्य भएको छु । साना केटाकेटी छन् । ऋण छ । त्यसको ब्याज तिर्न कठिन छ । साथीहरूको फोन आउँदा पनि पैसा माग्नलाई गरेको हो कि ? भनेजस्तो लाग्छ । वडा कार्यालयको गलत सिफारिसका कारण ठगहरूले मेरो सम्पत्ति आफ्नो बनाएका छन् । जब थाहा भएर हामी कानुनी प्रक्रियामा जाँदै थियौँ, उसले यता, जग्गा फिर्ता दियो, उता हामीविरुद्ध फेरि मुद्दा दर्ता ग¥यो ।
न्यायका लागि वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन, जिल्ला अदालत, गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय र दलका नेताको घर–घर पुगें । तिनै वडाध्यक्ष धुलिखेलको उपप्रमुख भएका छन् । राष्ट्रिय अनुसन्धानको कर्मचारी प्रविन लामाबाट थप ठगियौं । मेरा ससुरा बाको नाम देवबहादुर मिजार हो । श्रीमान् झम्कबहादुर काभ्रे गाविस ७, हाल धुलिखेल ८ मा स्थायी बसोबास छ । सानुबाबु लामाको छोरा, काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका ९ बस्ने वर्ष ३३ का प्रविन लामाले धुलिखेल ८ का वडाध्यक्ष निराजन जंगम, ९ का वडाध्यक्ष दलबहादुर तामाङ, जिल्ला न्यायाधीश मोहनराज भट्टराईलगायतलाई प्रभावमा पारेर हाम्रो नाममा भएको जमिन आफ्नो बनाए ।
०७१ साल चैत २ गते ससुरा देवबहादुर मिजारले र.नै.२९१४ (क) को राजीनामाबाट ललितपुर जिल्ला टीकाथली घर भएका जितगोविन्द महर्जनलाई साविक काभ्रे गाविस–७ मा रहेको कित्ता नम्बर १७७२ को क्षेत्रफल १ रोपनी र कित्ता नम्बर १२९३ को १ रोपनी गरी घर व्यवहार चलाउनका लागि १ लाख रुपैयाँमा लिएर २ लाख रुपैयाँको कागजसमेत गरी फिर्ता गर्ने शर्तमा पारित गरिदिएका रहेछन् । छोरा बुहारी ब्यापार व्यवसाय गर्ने सिलसिलामा घरबाहिर भएकाले उक्त विषयमा जानकारी पनि थिएन ।
दुर्ई रोपनी जमिन आफ्नो बनाउन प्रविन लामाले हाम्रो घरमा पुगेर ससुरालाई ५ हजार रुपैयाँको रक्सी खुवाइ ६० लाखमा जग्गा खरिद गर्ने योजना बनाएछन् । छोरा बुहारी कसैलाई जानकारी नदिनु, जग्गा पास गरेको ३५ दिन कटेपछि तपाईंको खातामा रकम जम्मा गरिदिन्छु भनी सक्कलै नागरिकता, बैंकको खाता नम्बर लगेका रहेछन् । त्यसपछि प्रविन लामाले जितगोविन्दलाई तिर्नुपर्ने रकमसमेत तिरेर श्रीमती मुना बोम्जन लामाका नाममा पास गराएछन् । त्यो कुरा देवबहादुर मिजारलाई थाहा रहेनछ ।
प्रविन लामा २०७८ भदौ २ गते धुलिखेल नगरपालिका वडा नम्बर ८ मा घरबाटो सिफारिस लिन पुगे, वडाध्यक्ष जंगमले शुरुमा असम्बन्धित व्यक्तिलाई सिफारिस दिन मानेका थिएनन् । पछि प्रविन लामाले के भनेर प्रभावित बनाए उनीहरू नै जानुन् । त्यही सिफारिसको भरमा प्रविन लामाले पास गराए । साक्षीका रूपमा ससुरालाई राखे । अंशियारहरू झम्कबहादुर मिजार, कविता मिजार, अमिता मिजारलाई जानकारी नै दिएनन् । जग्गा खरिद गरेर पनि प्रविनले रकम दिएनन् । उल्टो म्यादभित्र मुद्दा पर्छ भन्ने डरले सक्कल कागजात नियन्त्रणमा लिएर राखे ।
जग्गा लिए । पैसा पनि दिएनन् । हामीले उनको लागेको भन्दा पनि थप रकम दिएर जग्गा फिर्ता गरायौं । श्रीमती मुना बोम्जन लामाले केही जग्गा हाम्रो नाममा र केही जग्गा हामीलाई ऋण सापटी दिने रवीन्द्र जंगमका नाममा पास गर्ने सहमति भयो । त्यहीअनुसार मालपोत कार्यालयमा गएर जग्गा फिर्ता भयो । केही दिनपछि तिनै प्रविनले भुम्लु गाउँपालिका–८ का अध्यक्ष दलबहादुर लामालाई समेत प्रभावमा पारेर गलत सिफारिस लिए । श्रीमतीसँग राम्रो सम्बन्ध नभएको, बच्चाहरू आफूले हेरेको र आफूले कमाएको रकमबाट किनेको जग्गा श्रीमतीले अंशसमेत नरहने गरी बिक्री गरेकाले चार भागको तीन भाग फिर्ता पाउन भन्दै लिखत बदरको मुद्दा दर्ता गरे ।
जिल्ला अदालतले उनको हकभोग कायम गर्दै मुना बोम्जन लामाको नाममा शुरुमा पास गरी फिर्ता गरिएको जग्गाबाट तीन भाग अंश र ऋणसमेत तिर्नुपर्ने गरी फैसला सुनायो । धुलिखेलमा रहेको सारथि सहकारीबाट ४० लाख ऋण लिएको कागज बनाएका प्रविन लामाले अर्काे जग्गा रोक्का देखाएर ऋण लिएको कागज बनाएका थिए । अदालतले सोही ऋणसमेत तिर्नु भन्दै बिक्री गरेको जग्गाबाट अंश पुग्ने ठहर गरिदिएको छ ।
जितगोविन्द महर्जन प्यारालाइसिस भएर बसेको भन्दै दिएको सिफारिस गलत थियो । एक त उनी बिरामी भएर बसेका थिएनन् । अर्काेतर्फ बाटो नै नभएको जग्गामा बाटो छ भनेर सिफारिस गरे । त्यसअघि पनि जंगम बाटो भएकालाई नभएको र नभएकोलाई भएको भन्दै सिफारिस गरिरहन्थे । उजुरी परेकाहरूको हकमा पछि सच्याउँदै चन्दा उठाएर अख्तियारको कारबाहीबाट जोगिन राजश्व लगेर बुझाउने गरेका थिए ।
निराजन जंगमले सिफारिस गरेको घर जग्गा बाटोको छायाकपी वडा कार्यालयमा देखिँदैन । हुँदा–हुँदा भुम्लु गाउँपालिका–९ का अध्यक्ष दलबहादुर तामाङलेसमेत जिल्ला अदालत काभ्रेपलाञ्चोकलाई गलत विवरणको सिफारिस पठाएका थिए ।
स्वयं प्रविन लामा कहिल्यै श्रीमतीसँग अलग भएर बसेका थिएनन् र छैनन् पनि । उनको सन्तानसहितका परिवार धुलिखेल र हाल भक्तपुरमा बसोबास गरिरहेका छन् । जिल्ला अदालतले न्याय दिएन । प्रहरी कार्यालयमा भएको सहमतिसहितको कागजातका बारेमा पनि बुझ्न र सुन्न चाहेन । जिल्ला न्यायाधीश मोहनराज भट्टराई अहिले उच्चमा छन् । कानुनमा कागज बोल्छ भन्नुहुन्थ्यो न्यायाधीशले । प्रविन लामाको कागज नबोल्दा पनि न्यायचाहिँ मलाई हुन सकेन ।
काभ्रेपलाञ्चोक जिल्लामा दैनिक आत्महत्याका खबर सुनिएको छ । कतै जाँदा पनि न्याय पाउन सकिएन भने मर्नुको विकल्प छैन । प्रविन लामाले उल्टै मलाई चेक बाउन्सको मुद्दा दर्ता गरेको रहेछ । मैले ऊसँग लिएको ऋण सापटी गरेर फिर्ता गरेको देख्नेहरू धेरै छन् । पैसा लिने, चेक पनि बाउन्स गर्ने ? अझ जग्गा पनि खाने ? यस्ता अन्यायी सरकारी कर्मचारीबाट आमनागरिकले कसरी न्याय पाउन सक्लान् ?
– कविता मिजार, धुलिखेल, ८ काभ्रे
टिप्पणीहरू