यस्तोमा न केटा ठीक, न केटी ठीक

यस्तोमा न केटा ठीक, न केटी ठीक

एमाले हुँदा युवा संघको विवादमा निकै सुनिन्थ्यो, दिलु पन्त र निरु पालहरुको नाम । दिलु माधव नेपालतिरकी, निरु ओलीतिरकी । अहिलेको पार्टी विभाजनमा उनीहरु आ–आफ्नै पूर्वकित्तामा छन् । दिलुचाहिँ एकीकृत समाजवादीको पोलिट्व्युरो सदस्य र युवा संघकी इञ्चार्ज हुन् । एमालेमा केही युवा नेताका चारित्रिक मामिला छरपष्ट भैरहँदा दिलुहरु हिजोदेखिकै घटनाक्रमबारे के भन्छन् ? जनआस्थाको भेटमा उनले घटना विशेषबारे खुलेर बोल्न चाहिनन् । तर, प्रवृत्तिगत रुपमा एमाले समस्याग्रस्त रहेको दाबी गरिन् ।

- हरि गजुरेल

० एमालेमा महेश बस्नेतसहितका युवा नेताहरुको एकपछि अर्को गर्दै चारित्रिक काण्डहरु बजारमा आइरहेका छन् । यसलाई कसरी हेर्नुभएको छ?

– ‘नजाने गाउँको बाटै नसोध्नु’ भनेजस्तो हामीले एमालेको बाटो छाडिसक्यौं । हाम्रा साथी महेशजीहरु आज के गर्दै हुनुहुन्छ भन्ने कुराको त्यति चासो, सरोकार राखिँदैन । त्यसमाथि व्यक्तिगत मामिलामा त झन् हामीलाई मतलब हुने कुरा पनि भएन ।

० त्यस्तो काम उहाँले गर्नुभयो भन्ने त मान्नुहुन्छ नि !

– नदेखेको, नजानेको कुरामा केही टिप्पणी गर्दिनँ । तर, यदि कोही महिलासँग कसैले विवाहेत्तर सम्बन्ध राखेको हो भने त्यस्तो कामलाई एमालेमात्रै हैन, जुनसुकै पार्टीमा पनि जायज मान्न सकिँदैन । यस्तो कुरामा न केटा मान्छेलाई ठीक भन्न सकिन्छ, न केटी मान्छेलाई नै ।  

० काँग्रेसमा बरु खासै सुनिन्न, कम्युनिष्टहरुमै किन यस्ता काण्डहरु आइरहेका होलान् ?

– ‘जे रोप्यो, त्यही फल्छ’ भनेजस्तो हो । एमालेमा जे कुराको विकास भइरहेको थियो, त्यो गलत थियो भनेर विद्रोह ग¥यौं । त्यहाँ विकास भएका यावत गलत प्रवृत्तिभित्र यस्ता चारित्रिक मामिला पनि थिए । तर, नेतृत्वको आड पाएर आर्थिक, सांस्कृतिक विषयका विसंगत गतिविधि हिजो प्रशस्तै हुन्थे ।  अहिले ती कुरा सतहमा आएकोमात्रै हो । राजनीतिक पार्टी व्यक्तिको नियन्त्रणमा जाने र सामूहिकताको अन्त्य हुने कुराले यस्तै यस्तै घटनाक्र विकास हुने गर्दछन् । त्यस्ता विभिन्न काण्डका साक्षी त हामी पनि भयौं । 

० के–के कुराको साक्षी हुनुभयो ?

– हामीले राजनीतिक, सैद्धान्तिक बहसका साथ विद्रोह गरेका हौं । हिजो एउटै पार्टी, एउटै संगठन भएर काम गर्दा सबैले सबैका राम्रा–नराम्रा कुरा देख्न पायौं । आज ती दिन सम्झिएर व्यक्तिका कुराहरुमा बढी जानु उचित हुँदैन । अहिले नाम आइरहेका साथीहरुका ती खबर सही या गलत के हुन् भन्नेबारे म कुनै पक्षबाट पनि दावी गर्न सक्दिनँ । तर, ती पात्रहरुभन्दा मूलमै समस्या हो । मूल ठीक नहुँदा एमाले कम्युनिष्ट आदर्शबाट च्युत भएको छ । कम्युनिष्ट पार्टीका रुपमा विसर्जनप्रायः स्थितिमा छ । त्यसैले एमालेको समस्या तलभन्दा माथि नै बढी हो । 

ओलीका खास मान्छे भनिनेहरुमाथि नै किन यस्तो भइरहेको होला ?

– त्यहाँ उहाँहरुमात्रै हुनुहुन्न । ओलीको व्यक्तिवाद विरोधी, हिजो हामीसँगसँगै प्रतिगमनविरोधी झण्डा उठाएका साथीहरु पनि हुनुहुन्छ । ती साथीहरु भूमिका र चर्चामा हुनुहुन्नँ । जो भूमिकामा रहे, ती गलत थिए भन्ने कुरा त हामीले हिजोदेखि नै भन्दै आएको हो । कमरेड ओलीले ज–जसलाई बोकेर राजनीति चलाउँदै हुनुहुन्थ्यो, उनीहरुका कारण एकदिन उहाँको राजनीति दुर्घटनामा पर्छ भनेर हामीले धेरै पहिलादेखि भन्दै आएको हो । अहिले त केही साथीका विषयमा बजारमा चर्चा मात्रै भइरहेका छन् । उहाँहरुभन्दा माथिल्लो तहमै भएका समस्याहरु बाहिर आइसकेका छैनन् ।

० आज बाहिर आएका कुरा हिजो पनि थिए ? 

– जसरी केपी कमरेडमा व्यक्तिवादी अहंकारको विकास हुँदै थियो, महेश कमरेडहरुको त्यस्तै अहंकारी कार्यशैलीबाट हामी पहिल्यै पीडित थियौं । अहिले आइरहेका मामिलालाई एकातिर राखौं, पछि अलग्गै बहस गरौंला । तर, राजनीतिक रुपमा भन्नुपर्दा हिजो एमालेभित्र हाम्रा कुरामा नियम, विधि लागु हुने । हाम्रा कार्यशैलीमा प्रश्न उठ्ने । हामीले उठाएका कुरामा बहस नहुने । हामीले नराम्रोलाई नराम्रोभन्दा अपहेलित हुनुपर्नेजस्ता घट्नाहरु थिए । त्यसैले अरु जनसंगठनभन्दा युवा संघभित्र विवाद बढी थियो । जो–जो कमरेडहरुले युवा संघ र अखिलमा केपी कमरेडको आशीर्वाद पाउनुभयो, उहाँहरुका हकमा सबै कुरा माफ थिए । त्यसैले उहाँहरुले जे–जे मन लाग्छ, त्यही त्यही गर्दै जानुभयो । राजनीतिमा मन लागेका जति सबै कुरा गरिँदैनन् वा गर्न गर्नुहुँदैन । पैसाको धेरै ठूलो अभाव भयो भन्दैमा मैले अनैतिक र अनुचित काम गर्नुहुँदैन । त्यसो गर्दा ममात्रै हैन, पार्टी र सिंगो आन्दोलनमाथि प्रश्न उठ्छ भन्ने कुरा साथीहरुले ख्याल गर्नुभएन । यसबाट ओली कमरेड बदनाम हुँदै जानुभयो । कर्ता अरु नै थिए, बदनामी उहाँले भोग्नुभयो । त्यस्ता मान्छेहरुलाई समयमै ठीक पार्नुभएन । 

० ओलीसँगै नजिक भएका मान्छे नै किन यस्तो मामिलामा फसिरहेका होलान् ?

– को मान्छे कस्तो रुची र उद्देश्यसहित राजनीतिमा लागेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । उसले आफ्नो रुची र उद्देश्य पूरा गर्नका निम्ति कस्तो नेताको साथ पाएको छ वा भर परेको छ भन्ने पनि उत्तिकै महत्वपूर्ण हुन्छ । जसले कमरेड केपीको साथ पाए वा भर पाए उनीहरु सही उद्देश्यका छैनन् भनेर हामीले पहिल्यैदेखि भन्दै आएको हो । आजका प्रसंगहरु तिनै गलत रुची र उद्देश्यका उपज हुन सक्छन् । पार्टीमा गैरराजनीतिक मानिसको भीड जम्मा पार्ने काम भयो । उनीहरुलाई राजनीतिक रुपमा प्रशिक्षित गरिएन । सयौं मोटरसाइकलमा लाखौं रुपैयाँको तेल हालेर नेताका पछाडि दौडाएको भरमा स्याबासी पाइने चलनको विकास भयो । विद्यार्थी र युवाका नाममा मान्छेका अनुहार जम्मा पारिए । उनीहरुलाई राजनीतिक, सांगठानिक चेतना, संस्कृति र संस्कार सिकाइएन । फलस्वरुप त्यस्ता मान्छेहरुको भीडबाट राजनीतिक विषयको उठान नहुने नै भयो । अहिलेका घटना त्यस्तै प्रवृत्तिका कारण विकास भइरहेका हुन् । म चाहन्छु कि, उहाँहरुका विषयमा जे–जे सुनिँदैछन्, ती गलत भइदिउन् । तर, वास्तविक कुरा के हो भने, उहाँहरुलाई केपी कमरेडले यति धेरै पुल्पुल्याइदिनुभयो कि, जे गरे पनि केही हुँदैन भन्ने भयो । फलस्वरुप, कुरा सामान्य थियो वा बजारमा चर्चा गरिएजस्तो भयंकर विषय थिएन भने पनि तिनको चर्चा र व्याख्या भयानक किसिमबाट भएका हुनसक्छन् । त्यसैले नाम मुछिएका साथीहरुको मात्रै कुरा हैन, केपी कमरेडकै कार्यशैली सबभन्दा गलत हो । आज देशका केही आशलाग्दा युवाहरुमाथि गम्भीर प्रश्न उठेको मात्रै छ । यदि यही कार्यशैली उहाँले कायम राख्नुभयो भने भोलि सिंगो पार्टी भड्खालोमा नपर्ला भन्न सकिँदैन । 

० पार्टी नफुट्दै युवा संघमा निरु पाल र तपाईंका कारण झगडा चर्किने गरेको भनिन्थ्यो । यो कुरा कति सत्य हो ?

– ती संघर्ष प्रवृत्तिगत थिए, व्यक्तिगत थिएनन् । मैले यो समाज बुझ्दा वा ‘क, ख, ग’ पढ्न थाल्दादेखि जस्तो कम्युनिष्ट चेतना पाएँ, आज पनि त्यही रफ्तारमा हिँडिरहेकी छु । आज पार्टी सदस्य, भोलि सांसद, पर्सि मन्त्री– यस्ता लोभ मैले राखिनँ । मभन्दा पछि आउनुभएका थुप्रै साथी सांसद, मन्त्री भइसक्नु भएको छ । जो क्षमताले हुनुभयो, उहाँहरुलाई सलाम गर्छु । तर, त्यसरी थोरै साथीहरु मात्रै आउनुभयो । बढीजसो साथीहरु क्षमताले भन्दा चाकडी, चाप्लुसी र ‘बा–आमा’ भन्दै अगाडि बढ्नुभयो । हिजो एमालेको युवा संघमा हामीले काम गरिरहँदा यिनै दुई प्रवृत्तिबीच टकराव हुने गरेको थियो । त्यसमा म एकातिर भएँ होला, निरुजी अर्कोतिर । फरक यत्ति हो । हिजो हामीलाई संघर्षमा साथ दिनुभएका वा साथसाथै रहनुभएका थुप्रै साथीहरु आज पनि एमालेमै हुनुहुन्छ । तर, उहाँहरुमाथि हिजोका दिन सम्झिँदै किनारामा राख्ने, ‘छिःछि, दुरदुर’ गर्ने काम भइरहेका छन् । 

० हिजो तपाईंहरुसँग भएर पनि कतिपय मान्छे आज किन समाजवादीमा गएनन् होला ?

– केही आश गरिएका नेताहरुमा अन्तिममा दास प्रवृत्ति देखा परेपछि विभाजन पक्षीय धारले ठूलो क्षति व्यहो¥यो । कतिपय साथी विभाजन सफल हुँदैन र अर्को पार्टी बन्छ भन्ने हिम्मतबाट हारेर उतै रहनुभयो । फलस्वरुप ओलीको दासता मञ्जुर गरेर एमालेमै बस्नुभएका नेताहरु राजनीतिक कार्यकर्ता हुँ भन्ने अनभूति गरिरहनुभएको छैन । किनभने, उहाँहरु क्षमतावान भएर पनि भूमिकाविहीन हुनुहुन्छ । जो पार्टी, संगठन चलाउने क्षमता राख्दैनन्, तिनीहरु भूमिकामा छन् । उनीहरु प्रश्न उठाउने, बहस गर्ने र आन्दोलनलाई उन्नत बनाउने चिन्तनबाट पूर्णतः मुक्त छन् । कम्युनिष्ट पार्टीको साइनबोर्ड राखेको पार्टी यस्तो स्थितिमा पुग्नु भनेको विसर्जनउन्मुख हुनु हो । यस्तो स्थितिका कारण एमालेभित्र अर्कोखाले ध्रुवीकरणको विकास भइरहेको छ । हिजो ओलीकै भनिएका साथीहरुका बीचमा आज जताजतै ‘ओलीपक्षीय र ओलीविरोधी’ मोर्चाबन्दी शुरु भइसकेको छ । यो कुराले हामीले रोजेको बाटोलाई झन् बलियो बनाउँदैछ । छुटेका साथीहरु जुट्ने दिन पनि आउँदैछ ।

० मतलब एकताको सम्भावना छ ?

– यथास्थितिमा एमालेसँग एकता वा कुनै पनि नामको सहकार्य सम्भव छैन । त्यहाँभित्र विकास भइरहेको ध्रुवीकरणले केपी कमरेड क्रमशः अर्को संकटको भूमरीमा पर्दै हुनुहुन्छ । यसले उहाँलाई कमजोर बनाउँदै लैजान्छ । उहाँ कमजोर हुनु भनेको कम्युनिष्ट आन्दोलन सुदृढ हुनु हो । कम्युनिष्ट आन्दोलन सुदृढ हुनु भनेको हिजो हामीसँग भएका साथीहरु फेरि पनि हामीसँगै हुनु हो । यो अर्थमा एकीकृत समाजवादीले निर्माण गरेको राजनीतिक धार बलियो हुँदै जाने आधार बनेको भन्ने मेरो आशय हो ।

० एकीकृत समाजवादीमा अहिले माधव नेपाल र झलनाथ खनालका कुराहरु बाझिन थालेका छन् । तपाईं कतातिर हुनुहुन्छ ?

– कम्युनिष्ट पार्टीको सौन्दर्यता भनेकै विचारमा बहस र कार्यशैलीमा एकता हो । महाधिवेशन नजिक आउँदा विचार र कार्यशैलीमा बहस चल्छ, त्यो स्वाभाविक हो । हामी अहिले माधव नेपाल कमरेडले नेतृत्व गर्नुभएको विद्रोहमा सामेल भएका हौं । जनताको बहुदलीय जनवादलाई निषेध गर्ने कुरा जायज छैन । जनवादी क्रान्ति सम्पन्न भएको भन्ने बुझाईमा म सहमत छैन । हामीले राजतन्त्र ढाल्यौं । तर, समाजवाद निर्माणको अर्को कार्यभार पूरा गर्नु छ । हामीले राजतन्त्र ढालेर जनवादी गणतन्त्र ल्याएका छैनौं । त्यसैले फेरि पनि बहुदलीय प्रतिस्पर्धाको राजनीतिबाट अगाडि बढ्नु जरुरी छ । यस कारण बहुदलीय प्रतिस्पर्धाको राजनीतिमा बलियोसँग अगाडि बढ्नका निम्ति जनताको बहुदलीय जनवाद एउटा प्रेरणादायी कार्यक्रम हो । जसरी यसलाई सिद्धान्त वा मार्गदर्शक सिद्धान्तको लेपन लगाइएको छ, त्यो गलत छ । त्यसको नाम र कार्यक्रममा समाजवादी कार्यदिशा समेट्ने, परिस्कार गर्ने, परिमार्जन गर्ने र समयअनुकूल बनाउने कुरा हुनसक्छ । तर, त्यसलाई कुल्चिएर, खारेज गरेर अगाडि बढ्न हुँदैन ।

० चुनावमा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार त हुनुभयो । तर, सांसद बन्न थ्रेसहोल्ड नकटेर रोकियो । किन, थे्रसहोल्ड पनि नकटेको होला ?

– गत वर्ष चुनाव भइरहेको बेला हामीले भर्खरै पार्टी गठन गरेका थियौं । एक वर्ष नपुग्दै स्थानीय चुनाव, त्यसपछि अर्को चुनावको तयारीमा लाग्दा देशका विभिन्न भागमा बनाइसक्नुपर्ने संगठन बनाउन भ्याएका थिएनौं । त्यसमाथि चुनावमा गठबन्धनसहित गएका थियौं । हाम्रा उम्मेदवार थोरै थिए । भएका उम्मेदवार पनि प्रत्यक्षको भोट माग्न व्यस्त हुनुभयो । प्रत्यक्षमा उम्मेदवार नभएका ठाउँमा समानुपातिकतर्फ भोट माग्नुपथ्र्यो । हामीले त्यस्तो काम बिरलै ग¥यौं । त्यसकारण थ्रेस होल्ड कटेन । पार्टी गठन भएको सन्देश पाएका जनताले हामीलाई माया गरेका छन् । तीन लाख पुग्नलाई केही हजार मतको मात्रै कमी हुनु भनेको एक वर्षमा हामीले तीन लाख मान्छे त कमाएछौं भनेर बुझ्नुपर्छ । राजनीतिक दल वा अभियान भनेको शक्ति निर्माणको काम हो । हाम्रो शक्ति बनिरहेको छ, बढिरहेको छ ।
 

टिप्पणीहरू