खर्बपति सुकुम्बासी

खर्बपति सुकुम्बासी

थापाथलीतिरको सुकम्बासी बस्तीमा बस्ने टपरेकाजी हिजो हाँसी हाँसी आइरहेको देखेँ । टपरेकाजी यो बस्तीको सबैभन्दा पुरानो सुकुम्बासी हो ।

बसाइको हिसाब गर्ने हो भने त उसलाई सुकुम्बासी होइन यहीँको आदिवासी नै भन्दा हुन्छ जस्तो लाग्छ । किनभने उसलाई सुकुम्बासीका सवालमा सबै कुरा थाहा छ ।

हिजो मुखमा मन्द मन्द मुस्कानसहित आइरहेको देखेर मैले सोधिहालेँ, ‘ओइ टपरे ! के छ ?

हाँसी–हाँसी आउँदैछस् त !’

टपरेले भन्या, ‘खास केही होइन । हामी सुकुम्बासीको पनि दिन फिर्ला जस्तो छ । त्यही भएर हाँसेको ।’

मैले सोधेँ, ‘कसरी फिर्छ दिन ?’

उसले भन्यो, ‘हेर्नोस्, हामीलाई भर्खर थाहा भयो, सुकुम्बासी भनेको हामी केही नभएका बासी मात्र होइन, देशका खर्बौंपति पनि हुँदो रहेछ ।’

‘धत् ! खर्बपति पनि सुकुम्बासी हुन्छ ? खै कहाँ छ ?’

‘उता बाँसबारी र पुल्चोकतिर हेर्न जाऊ न, यता हामी जग्गा कब्जा गरेर बसेजस्तै उता खर्बपतिहरू पनि जग्गा कब्जा गरेर बसिरहेका छन् । हामी र

उनीहरूमा के फरक भयो त ? फरक छ केही ?’

टपरेको प्रश्नले उत्तरहीन बनेँ । 
 

टिप्पणीहरू