दौड गृह मन्त्रालयदेखि गृह मन्त्रालयसम्म
देशीय राजनीतिको छोटो समयमा सबैभन्दा धेरै विम्ब बनाइएका एउटा पात्र हुन्,रवि लामिछाने। जति छोटो समयमा नेपाली राजनीतिक आकाशमा रवि उचालिए उति नै धेरै विवाद र आलोचनाका घेराहरूमा पनि उसैगरी परे ।
इस्लाममा एउटा खुब चल्तीको भनाइ छ- मुल्लाहका दौड मस्जिद तक…! राजनीतिमा निकै गड्गडाएका रविको रफ्तार पनि आखिरमा त्यही भयो,जहाँबाट उनको सिंहदरबार यात्रा शुरु भएको थियो- गृह मन्त्रालयदेखि गृह मन्त्रालयसम्मै।
६२ घण्टा लामो अन्तर्वार्ता चलाएर गिनिज बुकमा नाम लेखाएका रविको चर्चा एउटा पत्रकार (टेलिभिजन प्रस्तोता) का रुपमा जति उँचो भयो राजनीतिक यात्राका एकाध पलहरूमा उनका चर्चा र विवादहरू उसैगरी ओइरिन थालेका थिए।
असारमा पार्टी बनाएर मंसिरको चुनावमा होमिएको उनको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ २०७९ सालको चुनावमा एउटा अप्रत्यासित र चामत्कारिक भोट लिएर संसद छिर्न सफल भयो । कैयौँ पुराना दलहरूलाई पछारेर रास्वपाले कलिला अनुहारहरूलाई संसदभित्र छिरायो ।
‘लोकप्रिय’ मतका पेटी फुकाउनै हतार भो । एउटा अर्को त्यस्तै अप्रत्यासित गठबन्धन लिएर रवि स्वाट्टै सिंहदरबार छिरिहाले- त्यो पनि उपप्रधानसहित गृहमन्त्री बनेर । नेपाली राजनीतिमा उनी यस्ता एक दुर्लभ पात्र हुन्, जसले पहिलो संसदीय यात्रामै उपप्रधान अनि गृहमन्त्रालय पाए । मतको चमत्कारले चम्किएका रवि ३३ दिनमै निभे ।
दोहोरो नागरिकताको मुद्दामा सर्वोच्चले विपक्षमा फैसला सुनाउँदै उनको संसद पद नै ‘अयोग्य’ तुल्याइदियो ।
तर, त्यसले मात्रै राजनीतिक यात्रा रोकिनेवाला थिएन । भनेअनुसारको प्रक्रिया पुर्याएर रविले फेरि नागरिकता झिके अनि ‘उपचुनाव’को तयारीमा जुटिहाले । फेरि पार्टीको सभापति पनि भए ।
अर्थविज्ञका रुपमा चर्चा कमाएका स्वर्णीम वाग्लेको साथले एक कद उचालिएर फेरि उनी आफ्नै क्षेत्रमा चुनाव लडे । यो उपचुनावमा मत झन् चुलियो । शुरुको चुनावमा ४९ हजार २६१ मत पाएर संसद छिरेका रवि त्यसको लगभग पाँच महिनापछि भएको उपचुनावमा ५४ हजार १७६ मत ल्याई फेरि फर्के ।
टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ चलाउने यिनी राजनीतिमा पनि त्यसैगरी सिधै जनतासँगै जोडिए । ‘न्याय’ नपाएका नागरिकले उनलाई जोडेका हजार हातहरूले बजाएको ‘घण्टी’ देशैभरि यसरी रन्कियो कि राजनीतिमा ‘नयाँ’ अनुभूतिको सञ्चार पनि भयो ।
सरकारबाट बाहिरिएर फेरि ‘जनतामाझ’ नै झरेका रविले घण्टीघरकै आँगनमा पत्रकारहरूलाई खेरेर मनका सारा भडासहरू पोखेका थिए । त्यो बेला उनले पत्रकारहरूलाई पनि गाली गरे । वर्ष दिनपछि त्यही कुरामा पत्रकारहरूसँग माफी पनि मागे ।
पत्रकारिता अनि आफ्नै निजी जीवनमा घेरिएका विवाद र चर्चाहरूले उनलाई राजनीतिमा पनि छोडेका छैनन् । एकपछि अर्को ‘मुद्दा’हरूमा जोडिएर आउने रवि लामिछाने दोस्रोपल्ट गृहमन्त्रालय छिर्दै गर्दा पनि आफैँमाथिको अर्को एउटा मुद्दा बोकेर छिर्दैछन्- सहकारी ठगठाग ।
बोल्ने भएर टेलिभिजनमा कार्यक्रम चलाउँदा चलाउँदै रवि एकाएक टेलिभिजनकै ‘मालिक’ भए। उनको काँधमा हात राखिदिएका थिए- ब्यापारी जिबी राईले । जसले देशका ठुल्ठूला सहकारीमा आम नागरिकले बचत गरेको अर्बौं रुपैयाँ ‘गोलमाल’ गरेका छन् ।
मलेसियामा लुकि बसेका राई अनि रवि लामिछानेका साइनो र सम्बन्धका आयामहरू अहिले पनि छरपस्ट छन् । सहकारी पीडितहरू सडकमै छन् । सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा दिनका दिन रवि जोडिन्छन् जिबीसँगै जसलाई फर्काइल्याउन नेपाल प्रहरीले ‘इन्टरपोल’को गुहार लगाइरहेको छ ।
चुनावताका रवि लामिछानेले हरेक भाषणमा एउटा आह्वान छुटाउँदैनथे-"तपाईंहरूले पार्टी होइन, मत बदल्नुस्…।’
गत मंसिरमा चलेको त्यो मन्द चुनावी बतास परिणामसम्म आइपुग्दा हुरीजस्तै बन्यो । दुनियाँलाई छक्क पार्टी प्रतिनिधिसभामा रवि लामिछानेको पार्टीले सानदार स्थान बनायो ।
भोटको त्यो हुरी,अहिले फेरि आँधी बनेको छ। त्यो बेला मतदाताको मत बदलियो । तर,जति नै आलोचना र विवादहरू भए पनि उनलाई चाहनेहरूको ‘मन’ भने बदलिएको छैन । बरु ती सारा विवादहरूलाई त्यही आँधीले उडाइ लग्छ,जसले चुनावमा उनको ‘मत लहर’ ल्याएको थियो ।
नेपालको राजनीतिक इतिहाससँगसँगै जन्मिएका दलहरूलाई मात खुवाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीतिर हुर्रिएको ‘मत’ अनि हुत्तिरहेका ‘मन’हरू नै हुन्, जसले रविलाई निभ्न दिएनन् । जति फुक्यो रवि उनै नै चम्किलो बनेर बले । बरू अरु दलहरूलाई पोलिरहेका छन् । ‘गठबन्धन’ बनाउन अनि भत्काउनका लागि राजनीतिक दलहरूको कसरतभित्र रविको त्यही नै ‘ताकत’ बनिदिएको छ जसले बिना कोसिस सजिलै प्रतिफल चाखिरहेका छन् । रविको सिंहदरबार पुनरागमको यात्रा त्यसकै एउटा परिणाम पनि हो ।
भलै उनले सरकार छोड्दा भनेका थिए- राष्ट्रिय स्वतन्त्र पार्टी अब मिसनमा ८४ लाग्छ। सरकार तपाईंहरू नै चलाउनुस् । हामी प्रतिपक्षमै रहन्छौँ।
मिसन- ८४ अलि टाढै छ, उही हैसियत अनि उही रवाफकाबीच रविको रफ्तार फेरि गृहमन्त्री बनेर सिंहदरबारसम्मै छ ।
टिप्पणीहरू