संसदमा महिला छापा

संसदमा महिला छापा

लघुवित्त पीडित महिलाहरूले संसद भवनमा छापा हानेपछि सरकार छक्क परेको छ । घटनै यस्तो छ । सरकार छक्क नपरी सुख्खै छैन । किनभने देशमा माओवादीको सरकार छ ।

माओवादी सरकारमा रहेकै बेला संसदमा छापा हानियो । सबैलाई थाहा छ, माओवादीले दश वर्षसम्म छापामार युद्ध गरेको थियो । तर संसदमा एक चोटी पनि छापा हान्न सकेन । अहिले तिनै छापामारहरू सरकारमा भएको बेला महिलाहरूले संसदमा छापा हाने ।

अनि सरकार छक्क नपरे अरु के पर्नु ? माओवादीले दश वर्षसम्म छापामार युद्ध गर्दा यी महिला छापामारहरू कहाँ थिए हँ ? यदि, त्यही बेला भेट भएको भए माओवादीले बीचमै जनयुद्ध छोड्नुपर्ने अवस्था आउने थिएन ।

तर जे होस्, माओवादीले छापामार युद्ध त्यागे पनि देशमा यति होनहार छापामारहरूचाहिँ बाँकी नै रहेछन् । माओवादीको विचारलाई यतिबेला स्वयम् माओवादीहरूले नै त्यागे पनि माओवादीको छापामारितालाई ‘फलो’ गर्ने अनुयायीहरू भने अझै रहेछन् । यो खुशीकै कुरा भयो ।

देशमा छापामारहरूको सरकार भएकै बेला महिला छापामारहरूले संसदमा छापा हानेकोमा शायद सभामुखज्यूलाई चाहिँ अनेक शंका लागेको देखिन्छ । किनभने उहाँले तत्कालै यो छापाको रहस्य के हो भनेर प्रहरीसँग बुझ्नुभयो ।

यो बाहिरबाट हानिएको छापा हो कि भित्रैबाट हानिएको छापा हो ? सभामुखज्यू कन्फ्युजमा पर्नुभए जस्तो छ । होइन र ? 
 

टिप्पणीहरू