क्यानाडाबाट काठमाडौँ ओर्लनासाथ प्रेमिका गायव

क्यानाडाबाट काठमाडौँ ओर्लनासाथ प्रेमिका गायव
सुन्नुहोस्

पुराना हिन्दी सिनेमामा देखिन्थ्यो, प्रेममा परेकी छोरी भाग्ने खतराका कारण घरमा थुनिएका दृश्य । अहिले काठमाडौं प्रहरीदेखि मानवअधिकार आयोगसम्म त्यस्तो लफडा देखिँदैछ । 

यहाँ हैन, क्यानाडाजस्तो अति विकसित समाजमा हुर्किएकी छोरीको मामिला हो रह्यो ! उनी कोरिया बस्ने दलित समुदायका प्रेमीसँग भाग्ने खतराका कारण थुनिएकी वा लुकाइएकी छन् । मान्छेको जात महिला र पुरुषबाहेक अरु हुँदैन भन्ने मान्यता समाजमा स्थापित भइसकेको छ । तर, नेपालभन्दा कैयन गुणा विकसित, समृद्ध र उदार मुलुक क्यानाडामै बस्ने बाबुआमा यतिबेला नेपालमा छोरी दलितसँग जाने भई भनी रुवाबासी गर्दै हिँडेका छन् । र, ३० वर्ष उमेर कटेकी छोरीलाई प्रेमीबाट टाढा पारिएको छ ।

स्याङ्जा पुख्र्यौली थलो भई चितवन झरेको लम्साल परिवारकी छोरी हुनु यशश्वी (यशु) । उनी ३ वर्षकी हुँदा इञ्जिनियरिङ पेशाका बाबु दिपकसँगै लिएर क्यानाडा पुगेकी थिइन् । दिपकका छोरा भने अमेरिकामा छन् । हुर्कंदै गएकी यशु र स्याङ्जाबाट वैदेशिक रोजगारीका निम्ति १० वर्षअघि कोरिया पुगेका दलित समुदायका युवा शिवबहादुर घताङबीच अनलाइन मनोरञ्जन पोर्टलका माध्यमबाट भेट भयो । त्यसमा उनीहरुले गीत गाउने, म्युजिक भिडियोको कभर दृश्य तयार पार्नेजस्ता काम गर्थे । यही सिलसिलामा उनीहरुबीच प्रेम सम्बन्ध कायम भयो । दुबै अविवाहित हुन् । क्षेत्रफलका दृष्टिले क्यानाडा र कोरिया निकै टाढा छन् । तर, उनीहरुको प्रेमलाई भौगोलिक दूरीले छेकेन । यशु आफैं कोरिया पुगिन्, केटासँग भेटिन् । सन् २०१७ मा नेपाल आए । भागेर नजाने, विवाह नै गर्ने निधोमा पुगे ।

तर, केटीपक्षका अभिभावकबाट स्वीकार भएन । किनभने, केटा परे दलित । यसपछि उनीहरु आफैं विवाह गरेर बस्ने सल्लाह गरी केटा कोरिया र केटी क्यानाडा पुगिन् । तर, क्यानाडामा यशुलाई मानसिक यातना दिने, घरभित्रै थुनेर राख्ने काम भयो । यस्तो घटनाले उनी मानसिक रुपमा विक्षिप्त भइन् । साइकियाटिक औषधी सेवन गर्नुपर्ने अवस्थामा पुगिन् । यशुले गर्दै आएका कामहरु सबै भद्रगोल भए । त्यसपछि उनी सन् २०२२ मा केटासँग भेट्न आफैं कोरिया पुगिन् । त्यहीँ आफन्त भेला पारिन्, औंठी साटेर मगनी (इन्गेजमेन्ट) गरिन् । सन् २०२४ जनवरी १७ अर्थात् माघ १३ गते नेपाल आउने टिकट बनाएकी थिइन् । छोरीका प्रत्येक कुराको निगरानी राख्ने बाबुलाई उनका हरेक गतिविधिको सूचना हुने गरेको छ ।

यशुले टिकट काटेको पनि उनले थाहा पाए । त्यसैले छोरी नेपाल उड्नुभन्दा दुई दिनअघि, अर्थात् जनवरी १५ मा बाबुआमाले छोरीको पासपोर्ट आफूसँग लिए र नेपाल आए । त्यसपछि यशुले नयाँ पासपोर्ट बनाइन् । त्यही आधारमा  फेब्रुअरी ६, अर्थात् गत माघ २३ गते काठमाडौं ओर्लिइन् । केटा पहिल्यै आएका थिए । यशु काठमाडौं आउने दिन उनलाई स्वागत गर्न केटा एयरपोर्ट पुगे । तर, भित्र छिर्नुअघि नै यशुका बाबुआमा बाहिर बसिरहेको देखे । यो कुरा यशु विमानस्थलमा अवतरण हुनासाथ केटाले म्यासेजमा भने । तर, यशुले पत्याइनन् । त्यसपछि केटाले भिडियो बनाएर पठाइदिए । बाबुआमामात्रै हैन, उनीहरुसँग अन्य २०–२२ जना मानिस पनि साथमा थिए । त्यसपछि एयरपोर्टमा यशुसँग भेट नगरी केटा त्यहाँबाट हिँडे । त्यसदिनयता केटा र केटीको बीचमा कुनै सम्पर्क छैन ।

गत शुक्रबार प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालले केटालाई सोधपुछका लागि बोलायो । उनका विरुद्ध डेढ करोड रुपैयाँ ठगी गरेको उजुरी हालिएको थियो । सोही आधारमा पिलर ५ का डिएसपी लीला डाँगीले बोलाउँदा बल्ल कुरा खुल्यो, मामिला पैसाको हैन, प्रेमको रहेछ । त्यहाँका एसपी रवीन्द्र रेग्मी दुबै पक्षलाई राम्रोसँग चिन्ने, स्याङ्जामै पुख्र्यौली थलो भएका । उनले उपाय निकाले, यशुलाई हाजिर गराउनुपर्छ भनेर । किनभने, यदि पैसा ठगिएकै हो भने ठगिने व्यक्तिले निवेदन, जाहेरी दिने हो । नावालकको हकमामात्रै अभिभावकले दिन मिल्छ ।

तर, यशुका बाबुआमाले ‘डाक्टरले भेट्न नदिनु भनेका छन्’ भन्दै त्यसो गर्न मानेनन् । केटाका वकिल बद्रिप्रसाद भुसालको भनाइ थियो, ‘तपाईंहरुले छोरी मार्ने हुनुभयो । ३० वर्षकी छोरीले १० वर्षदेखि पर्खिएको केटालाई यसरी जबरजस्ती भेट्न नदिने कुराले यो समस्याको समाधान हुँदैन । बरु, केटी आएर केटालाई तिमी जाऊ, म तिमीलाई स्वीकार गर्दिनँ भने अर्को कुरा हुन्छ ।’ वकिलले प्रहरीसँग यशुका परिवारको सम्पर्क नम्बर मागे । तर, प्रहरीले दिएनन् । यसपछि सोमबार मानवअधिकार आयोगमा ‘यशुको जीवन रक्षा गरिपाऊँ’ भनेर केटाले निवेदन दिएका छन् । त्यहाँबाट २४ घण्टाभित्र सूचना माग्दै प्रहरीलाई पत्र लेखिएको र प्रहरीले ठगीमा परेको निवेदन र छलफलका क्रममा भएका कुराहरु खुलाएर सूचना दिएको छ । 

यसरी यशुको स्थिति अहिलेसम्म अज्ञात छ । केटा कुरा टुंगोमा पु¥याएरमात्रै जान्छु भनी काठमाडौंमा डेरा गरेर बसेका छन् । ‘उनलाई मैले विवाह गर्न पाउनैपर्छ भन्ने केही छैन, उनी सकुशल हुनुपर्छ, मेरो सरोकार त्यत्ति हो’, मानवअधिकार आयोगका अनुसन्धानकर्मीसँग उनले भनेका छन् । 
 

टिप्पणीहरू