कारबाहीको कुरा सत्य हो त कमरेड ?

कारबाहीको कुरा सत्य हो त कमरेड ?

हल्ला एउटा, सल्लाह अर्कै हुँदा एमालेमा अध्यक्ष केपी ओलीको दोहोरो मापदण्डबारे कुरा उठिरहेको छ । विवाहित परस्त्रीसँगको सम्बन्धलाई लिएर पार्टीमै जोडतोडका साथ कुरा उठेपछि केन्द्रीय सदस्य ऐन महरको हकमा नदिइकनै राजीनामा स्वीकृत भएको भनी प्रेस विज्ञप्ति त जारी भयो । उनीसँगै समानुपातिक सांसद सिराज अहमद सिद्धिकी नवप्रवेशी महिला नेतृसँग अनुचित आर्थिक लेनदेन गरेको कारण कारवाहीमा परे ।

तर, सचिवालय बैठकले गरेको भनिएका ती निर्णयबारे केन्द्रीय कमिटीको बैठकमा जानकारी गराइएको छैन । ऐन पार्टी केन्द्रीय सदस्यकै हैसियतले वैशाख १५ मा उनको जिल्ला बझाङमा हुने प्रदेशसभा उपनिर्वाचनका सन्दर्भमा सहभागी भइरहेका छन् । यसअघि प्रदेश कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिनासाथ कोशीमा विनोद ढकाल, लुम्बिनीमा हरिप्रसाद रिजाल, कर्णालीमा गुलाबजंग शाहहरुको केन्द्रीय सदस्य पद रिक्त भनी प्रस्ताव लगिएको थियो ।

तर, सिराज र ऐनबारे सातौं केन्द्रीय कमिटी बैठकलाई कुनै जानकारी दिइएको छैन । एमाले शीर्ष नेताहरु सचिवालयको उक्त निर्णयलाई केन्द्रीय कार्यालयबाट जारी हुने अन्तरपार्टी निर्देशन (अपानि) मा हालिन्छ कि हालिँदैन भनेर पर्खिरहेका छन् । कारवाहीको कुरा गफ हो कि साँच्चै भन्ने पनि त्यसबाट थाहा हुने कतिपयको भनाइ छ । उनीहरुको राजीनामा स्वीकृत भएको प्रमाणस्वरुप केन्द्रीय कार्यालयबाट जारी भएको विज्ञप्ति छ । र, बैठकमा केन्द्रीय सदस्यको सूचीमा उनीहरुको नाम छैन ।

ओलीले ऐनलाई ‘धेरै आत्तिने काम नगर्नु, पार्टी निर्णय चुपचाप मानेर बस्नु’ भन्नुभएको चर्चा च्यासलमा चल्ने गरेको छ । भनिन्छ, बझाङ, बुङ्गल– २ का नेता अर्जुन धामीकी छोरी तथा वडा नं. १ का एमाले कार्यकर्ता अमर बोहोराकी पत्नी रश्मिलासँग हिमचिम हुँदा महिनामा दुई चोटिमात्रै घर जान्थे । रश्मिलालाई उनले काठमाडौंमै अपार्टमेण्ट लिएर राखेका थिए । पछि सम्बन्ध बिग्रिएर टुंगिएको, तर महिलाको तर्फबाट आपत्ति जनाइएपछि कुरा चर्किएर यो स्थिति भएको बताइन्छ । 

महिलाको मामिलामा मात्रै नभएर आर्थिक मामिलामा पनि ऐन उत्तिकै बदनाम मानिन्छन् । देखिँदा त अखिलको राजनीतिमात्रै गरेका थिए । तर, न्युरोडमा सुनपसल, फेन्सीदेखि विभिन्न व्यापार व्यवसायमा संलग्न छन् । गाडीको व्यवसाय पनि चलेकै छ । सुदूरपश्चिमको दुर्गम जिल्लाबाट काठमाडौंमा पढ्न भनी आएको विद्यार्थीले राजनीतिमात्रै गरेको भरमा कसरी त्यत्रो आर्थिक हैसियत बनायो ? एमाले नेताहरुले कुरा उठाउन थालेका छन् । 

अर्कातिर, विगतका कार्यविभाजन कामकाजी नभएको महसूस गरेपछि एमालेले यो शैलीलाई संशोधन गरेको छ । जो जुन जिल्ला वा पालिकाको हो, यसलाई त्यसबाहेकका क्षेत्रमा जिम्मेवारी दिने नीतिले पार्टी चल्ने स्थिति नभएपछि संशोधन हुन लागेको छ । जस्तो कि, खोटाङका विशाल भट्टराईलाई झापा, काभ्रेका गोकुल बाँस्कोटालाई सिन्धुपाल्चचोक, धादिङका खेम लोहनीलाई सिन्धुली, सिन्धुलीका गणेश पहाडीलाई रामेछापको इञ्चार्ज बनाएर पठाइयो । तर, त्यसरी काम अगाडि बढ्न सकेन । अब पुरानैअनुसार जो जुन जिल्लाको हो, त्यहीँ त्यहीँको इञ्चार्ज बनाउने गरी मध्यपहाडी अभियानपछिको निश्कर्षस्वरुप लागु गरिने भएको छ । मध्यपहाडी यात्राका क्रममा स्थानीय पार्टी पंक्तिसमेत राम्रोसँग परिचालित भएन । त्यसो हुनुको कारण हो, जिल्लाको पार्टी नेतृत्व र केन्द्रबाट तोकिएका इञ्चार्जबीच समन्वयको अभाव । 

मध्यपहाडी अभियान पार्टी प्रचारसँगै र गतिविधिलाई जनताबीच लैजाने उद्देश्यले सञ्चालित थियो । तर, पार्टी अध्यक्ष एक्लै वक्ता र अन्य नेता भूमिकाविहीन हुँदा लक्ष्यित योजना पूरा भएन । त्यसमाथि मिडिया म्यानेज्मेण्ट फितलो हुँदा अभियान सार्थक नभएको एमाले नेताहरु बताउँछन् । यसपछि काठमाडौं फर्किएर १ वर्षका लागि भन्ने गरिएको इञ्चार्ज तोक्ने शैलीमा फेरबदल गर्न लागिएको हो । 

उता, एमालेमा पाखा लगाइएका नेतामध्ये कतिपयलाई माथिबाटै त केहीलाई तलबाटै रोक्ने काम भइरहेको छ । महाधिवेशनमा ओलीसँग अध्यक्षका निम्ति प्रतिस्पर्धा गर्ने भीम रावललाई जिम्मेवारी दिन तलका मान्छेका कारण सम्भव नभएको नेताहरु बताउँछन् । कृष्णभक्त पोखरेल, डा. दिपकप्रकाश भट्टहरुको दुःख त झन् कति कति !

ओली भने आफू रहेसम्म अध्यक्ष हुन्छु भन्नेमा ढुक्क हुनुहुन्छ । आफूपछि को हुने भन्नेमा उहाँलाई त्यति चासो छैन । स्वभावैले रावल चूप लागेर बस्ने मान्छे हैनन् । जहाँ गयो, त्यहाँ केही न केही फण्डा झिकिरहने र घटनाक्रमहरुमा हावी भइरहने उनको स्वभावका कारण अरु नेता ओझेलमा पर्लान् भन्ने पिर छ ।

अर्कातिर, ‘धुप बाल्न’ माहिर एमालेको एउटा पंक्तिले अध्यक्ष ओलीलाई कसरी गुमराहमा राखिरहेको छ भन्ने कुरा युवा सम्मेलनका नाममा देखिएको छ । काठमाडौंको धाप ड्याममा कार्यक्रम आयोजना गरियो, जहाँ युवाकै उपस्थिति न्युन रह्यो । काठमाडौंको पार्टीमा युवा घट्दो आकर्षणलाई दृष्टिगत गर्दै उक्त कार्यक्रम आयोजना गरिएको थियो । पेशागत जिल्ला कमिटीको अधिवेशन उद्घाटन गर्न छाडेर ओली सपत्नी त्यहाँ पुग्नुभयो । तर, ‘तामझाम हात्तिजस्तो, उपलब्धी पुच्छरबराबर’ भनेजस्तो घुमफिर मात्रै फर्किनुभयो । 
 

टिप्पणीहरू