माननीयको पद अझै धरापमा

माननीयको पद अझै धरापमा

वामपन्थीहरूका लागि अनुकूलको गठबन्धन आएपछि संसद चलाउन अब समस्या नहुने भएको छ । नयाँ गठबन्धनको सरकार बन्नासाथ संसदका महासचिव पदम पाण्डेयको योग्यतासम्बन्धी विवाद टुंगिएर उनले काम गर्न थालिसकेका छन् । राष्ट्रियसभाको अध्यक्ष माओवादीलाई दिइसकेको र उपाध्यक्षको टुंगो नभएपछि अब एमालेको ध्यान राष्ट्रियसभा वा प्रतिनिधिसभाको सचिवमा गएको छ । उसले प्रतिनिधिसभामा सचिव रहेका गोपालनाथ योगीलाई राष्ट्रियसभामा पठाउने र प्रतिनिधिसभामा अर्को सचिव लैजाने मनस्थिति बनाएको चर्चा छ । 

उता, सिके राउत नेतृत्वको जनमत पार्टीबाट समानुपातिक सांसद गोमा सापकोटा लाभको पद रिक्त गर्नका निम्ति भएको पत्राचारलाई संसद सचिवालयले अझै सदर गरेको छैन । सापकोटा, अर्थात् पहाडे ब्राह्मण समुदायकी छोरी र मधेसी ‘लाभ’ परिवारमा विवाह गरेकी गोमालाई अनुशासनको कारवाही गरी पद रिक्तका निम्ति पत्र लेखिएको हो । कुन अनुशासन र कसरी तोडिन् भन्ने उल्लेख छैन । त्यसैले पद रिक्तका लागि पठाइएको पत्र अगाडि बढेन । 

त्यस्तै, डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का तर्फबाट गोलाकारभित्रको हँसिया–हथौडा चुनाव चिह्नमा निर्वाचित सांसद महिन्द्रराय यादवले फरक दलको मान्यता मागे पनि हालसम्म त्यस्तो मान्यता पाउने–नपाउने टुंगो छैन । कानुनतः मिल्दैन भनी संसद सचिवालयले निर्वाचन आयोगलाई लेखेर दिएको छ । उनले संसदको परिधिभित्र ‘माओवादी जिन्दावाद’ नै भन्नुपर्ने, त्यसबाहिर भए जेसुकै गरे पनि हुने व्यवस्था छ । सूर्य चिह्नमा चुनाव लडेका कमल थापाले पनि जितेको भए एमालेको ह्वीप मान्नुपर्ने थियो । किनभने, फरक दलले एकै चुनाव चिह्नमा भाग लिएर जितेपछि जुन दल संख्यात्मक दृष्टिले ठूलो हुन्छ, उसैको संसदीय दलको अधीनमा रहनुपर्ने कानुनमा उल्लेख छ ।

तर, बाबुरामकै पार्टीकी समानुपातिक सांसद अमरावती देवी यादवले चाहिँ नेपाल समाजवादी पार्टीकै सांसदको मान्यता पाएकी छन् । उनलाई निर्वाचन आयोगद्वारा दिइएको प्रमाणपत्रमा चुनाव चिह्न– हँसिया हथौडा र दलको नाम लेखिँदा कोष्टभित्र ‘नेपाल समाजवादी पार्टी’ भएका कारण त्यस्तो भएको हो । तर, संघीय सांसद महिन्द्र राय र प्रदेश सांसद गंगानारायणको हकमा माओवादी केन्द्रको मात्रै नाम भएका कारण मिलेको छैन । यदि सभामुखले चाहेमा र उनैले लेखेर दिएमा भने उनीहरूले आ–आफ्नो दलको सांसदका रूपमा मान्यता पाउन सक्छन् । यस हिसाबले हेर्दा प्रतिनिधिसभामा माओवादीको खास सांसद संख्या ३० मात्रै हो । दुई बाबुरामका छन् ।
 

टिप्पणीहरू