जनआस्थासँग यसरी जोडिएँ

जनआस्थासँग यसरी जोडिएँ

– कमल कोइराला

जनआस्थाको प्रथम अंक निस्कने तयारी चलिरहँदा किशोर श्रेष्ठको फोन आयो । त्यो बेला म प्रतिनिधिसभामा मोरङ–५ बाट निर्वाचित सांसद थिएँ । त्यसको दुई वर्षजति अघि  सांसद निर्वाचित नहुँदैदेखि किशोर श्रेष्ठसँग मेरो सम्बन्ध थियो । मदन भण्डारी एमाले महासचिव रहँदा २०४९ मै ‘दृष्टि’को प्रधानसम्पादक बनाइने निर्णय त्यस समय प्रदीप नेपालको सुझावमा झलनाथ खनाल इञ्चार्ज रहनुभएको प्रचार विभागबाट अचानक गरियो । म नेकपा एमालेको केन्द्रीय सदस्य पनि । मेरोनिम्ति यो अप्रत्यासित थियो । तर, त्यस समय पार्टीले खटाएपछि हुम्ला, जुम्ला त जानुपर्ने वातावरण थियो भने काठमाडौंमै बस्नुपर्ने काम दिइएको हुँदा मैले केही बोल्ने अवस्था थिएन । 

मलाई दृष्टिको प्रधानसम्पादक बनाउने निर्णयमा प्रकाशक शम्भु श्रेष्ठ, किशोर श्रेष्ठ, राजेन्द्र स्थापित, रविन सायमिहरुले खुशी प्रकट गर्दै बधाई दिनुभयो । त्यस समय नारायण ढकाल सम्पादक हुनुहुन्थ्यो । उहाँ दृष्टिमा कार्यरत पत्रकारमाझ लोकप्रिय हुनुहुन्थ्यो । तर, बढी स्वतन्त्रतापूर्वक काम गर्ने श्यामल, गोपाल गुरागाईं इत्यादिले फ्रि स्टाइलले लेखेको कुनै पनि कुरा एकरत्ति सम्पादन नगरी उहाँले छाप्ने गरेको कुरा प्रचार विभागलाई मन परेको थिएन । मलाई यी सबै कुराहरुको कुनै पूर्व जानकारी थिएन । नारायण ढकाल र  सम्पादक म प्रधानसम्पादक हुने निर्णय भयो ।

वि.सं. २०४९ मा कालिमाटीस्थित सुनकोशी छापाखानाबाट नयाँ बानेश्वर थापागाउँ आउन–जान अहिलेजस्तो सुविधा थिएन । सुनकोशी छापाखाना सञ्चालन गर्न पार्टीद्वारा खटाइनुभएका उत्तम महत हुनुहुन्थ्यो । त्यस समय लिडटाइपको कम्पोजिङ, प्रुफ रिडिङ र एक–एक पाना गरी साप्ताहिक छाप्न पूरै ६ दिन समय लाग्थ्यो ।

पत्रकारहरुको आन्तरिक विद्रोह

म प्रधानसम्पादक भएर गएको दोस्रो अंकदेखि नै प्रकाशक शम्भु श्रेष्ठ, किशोर श्रेष्ठ, रविन साय्मि, अग्निशिखा इत्यादिले भन्न थाल्नुभयो– ‘अफसेट प्रेसको नयाँ टेक्निक नअपनाई यसरी ढिलो गरी पानाहरु सफा नदेखिने गरी पत्रिका छाप्दा सर्कुलेशन राम्रो हुँदैन । हामी अफसेट अपनाइसकेका पत्रिकाहरुसँग प्रतिस्पर्धा गर्न र बजार बढाउन सक्दैनौं ।’ तर, म त पार्टीले नियुक्त गरेको प्रधानसम्पादक थिएँ । सुनकोशी प्रेस पनि पार्टीका सदस्यहरुले आफ्नो निजी सुन बुझाएर खडा गरेको भन्ने सुनेको थिएँ । मैले युवा पत्रकारहरुको कुरा एकदम जायज लागे पनि पार्टीसँग नसोधी यस्तो गर्न सक्दिन भनें । तर, ३/४ अंकपछि एकदिन काम गर्न भनी कालिमाटीको प्रेस पुग्दा दृष्टिको अफिसमा कोही थिएन । हरिशरण फुयाँललाई भनें, ‘खोइ काम गर्ने चापाचापको बेला कोही पनि देख्दिनँ त ।’ उहाँले मेरो कुरामा तुरुन्तै विश्वास नगरी भन्नुभयो, ‘साँच्चै तपाईंलाई केही थाहा छैन ?’

मैले ‘साँच्चै थाहा छैन’ भनें । त्यसपछि उहाँले विस्तारै भन्नुभयो, ‘उनीहरु सबै बागबजारस्थित केशव स्थापितको अफसेट प्रेसमा छन् ।’ म हत्त न पत्त बस चढेर बागबजार पुगें । त्यस समय केशव स्थापितहरुकै घरकै लाइनमा नेकपा (एमाले) को केन्द्रीय कार्यालय पनि थियो । म पुग्दा तल अफसेट प्रेस र दोस्रो तलाको एउटा ठूलो कोठामा दृष्टिका सबै पत्रकार थुप्रिएको देखेँ । उनीहरुले भने, ‘हामीले दृष्टिको हितमा यहाँ आउने निर्णय गर्‍यौं । तपाई साथ दिनुहुन्छ कि दिनुहुन्न ?’

मेरो सामु कुनै विकल्प थिएन । साथ दिन्न भनुँ भने प्रधानसम्पादक भएको चार अंक पनि भएको छैन । पत्रकारहरुले गरेको निर्णय मान्न बाध्य हुनै पर्‍यो । अफसेट प्रेसमा गएपछि दृष्टिको बिक्री हरेक हप्ता डेढ गुणा बढ्दै गयो । म दृष्टिको प्रधानसम्पादक र नेकपा (एमाले) को सर्वप्रथम केन्द्रीय महाधिवेशनसम्म प्रत्यक्ष निर्वाचित थिएँ । पछि केन्द्रीय सल्लाहकार कमिटीको सभापति पनि थिएँ । अढाइ वर्षमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि मैले प्रधानसम्पादक नरहने निर्णय गरें । सँगै काम गर्ने पत्रकारहरुले नछाड्नुस् भन्दाभन्दै पनि मैले मानिनँ । 

केही समयपछि दृष्टिका पत्रकारहरु छिन्नभिन्न हुने स्थिति आयो । रघु पन्तले बुधबार निकाल्नुभयो । शम्भु श्रेष्ठ दृष्टिको सम्पादक र प्रकाशक हुनुभयो । किशोर श्रेष्ठ, राजेन्द्र स्थापित, रविन सायमिहरुले जनआस्था प्रारम्भ गर्नुभयो । मैले विराटनगरबाटै यसको पहिलो अंकका लागि आस्था अनास्था शीर्षकको लेख पठाएको थिएँ । किशोर श्रेष्ठले आफ्नो नामभन्दा माथि सल्लाहकार भनी राख्नुभयो । मेरो नाममा लगातार प्रारम्भको नोट अफ डिसेन्ट ११ अंकसम्म लेखें । तर, नेकपा एमाले केन्द्रीय कमिटीको एउटा बैठकमा जनआस्थाले आफ्नै पार्टीका नेताहरुको पनि आलोचना गर्ने गरेको हुँदा सल्लाहकार कमिटीका अध्यक्षले त्यसरी बस्न ठीक हुँदैन भन्ने कुरा आयो । मैले केही नबोली जनआस्थाको सल्लाहकार नरहने पत्र चुपचाप लेखेर दिएँ । मपछि एमालेबाट भौतिक योजना राज्यमन्त्री रहनुभएका प्रेमसिंह धामीको १२ औं अंकको नोट अफ डिसेन्ट छापियो । पछि मैले फेरि नोट अफ डिसेन्ट लेख्न थालें । जनआस्था ३० औं वर्ष लाग्दा पनि लेख्दै छु । हेरौं, कहिलेसम्म जीवन रहन्छ र म लेखिरहन सक्छु !
 

टिप्पणीहरू