किसानचाहिँ रोएर बस्नुपर्ने हो र ?

किसानचाहिँ रोएर बस्नुपर्ने हो र ?
सुन्नुहोस्

 सरकार र सत्ता परिवर्तनले यहाँका दुग्ध उत्पादन किसान र उद्योगीलाई भने कागलाई बेल पाकेसरह भएको छ । दुग्धजन्य वस्तुको खस्कँदो बजारले उद्योगीको करोडौंको माल स्टकमा छ भने सयौं किसानले दूध बेचेबापतको लाखौँ भुक्तानी पाएका छैनन् ।

सरकारले किसान समस्याप्रति ध्यान दिनुभन्दा सत्ताकै धन्दामा मात्र ध्यान दिएकाले किसान र कृषिजन्य उद्यमी मारमा पर्ने गरेको उनीहरू गुनासो गर्छन् । दूध र दुग्धजन्य वस्तुको बजारमा सरकारले सहयोग नगरेको उद्योगीको गुनासो छ । पछिल्लो समय घ्यू र छुर्पीले बजार नपाउँदा गोदाममा थन्क्याएर राख्न बाध्य हुनुपरेको उद्योग वाणिज्य संघ इलामका कृष्ण पौडेलले बताए । 

इलाम नगरपालिका–५ स्थित नवरत्न डेरी उद्योगमा मात्र महिनौंदेखि एक करोड ५० लाख बराबरको छुर्पी र घ्यू गोदाममै थन्किएको छ । गत वर्षसम्म माग थेग्न गाह्रो भइरहेको थियो । पछिल्लो समय छुर्पी र घ्यूको बजार खस्किएकाले डेढ करोडको तयारी छुर्पी र घ्यू गोदाममै थन्क्याउनुपरेको डेरी सञ्चालक धनपति दुलालले दुखेसो पोखे । यसरी तयारी बस्तु बजारमा पठाउन नसकेपछि करोडभन्दा बढी किसानलाई भुक्तानी दिन नसकिरहेको उनले बताए । सरकारले गत साल दूधको मूल्य बढाएर लिटरको ६० रुपैयाँ पुर्‍या​​​​यो ।

तर, भारतमा भने नेपालको भन्दा आधा मूल्य ३४ रुपैयाँ लिटरमा पाइने गरेकाले उता आयात बढेपछि नेपाली दुग्धजन्य वस्तुको बजार खस्केको उद्योग वाणिज्य संघ इलामका अध्यक्ष पौडेलले बताए ।

छुर्पी थोरै मात्रामा विगतको भन्दा सस्तोमा बिक्री भइरहे पनि घिउको बजार डामाडोल भएको सेतो पहाड डेरीका सञ्चालक मिलन खत्री बताउँछन् । छुर्पी थोरै थोरै डगच्यू (कुकुरको खाना) को रुपमा तेस्रो मुलुक गइरहे पनि घ्यूको आन्तरिक खपत अत्यधिक घटेकाले उत्पादित घ्यू उद्योगीले गोदाममा थन्क्याउन बाध्य हुनुपरेको उनले बताए । 

टिप्पणीहरू