डिएसपीले थर्काएपछि स्कूलमा हंगामा

डिएसपीले थर्काएपछि स्कूलमा हंगामा

सप्तरीको शम्भुनाथ नगरपालिका–११, स्थित सशस्त्र प्रहरी बल, नेपालको विद्यालयमा रडाको मच्चिएको छ ।

नेपाल एपिएफ ठाकोदेवी जोगेन्द्र भगत स्कूलका प्रधानाध्यापक चन्द्रशेखर देवले समादेशक नायब उपरीक्षक दीपक खनालमाथि नजरबन्दमा राखेर जबरजस्ती राजीनामा दिन लगाएको आरोप लगाएपछि तरंग सिर्जना भएको हो । 

फागुन २० गते आफ्नो कार्यकक्षमा बोलाएर उनले ‘कि राजीनामा लेख, नत्र जे पनि गर्छु’ भन्दै धम्काएर राजीनामा लिएको देव बताउँछन् । उनका अनुसार त्यतिबेला मोबाइल पनि खोसिएको थियो । 

कार्यकक्षमा छिर्नेबित्तिकै ‘पहाडी’ थरका सई र ‘थापा’ थरका जवानले उनलाई समातेका थिए । ‘यहाँ बालबालिकाको खाने खानामा धेरै त्रुटि छ । उनीहरूको हेल्थ बिग्रिरहेको छ । शिक्षक नियुक्तिमा समेत उनको हस्तक्षेप छ’, देवले सुनाए । 

व्यवस्थापन समितिको बैठकबाट राजीनामा स्वीकृत गराउनुपर्नेमा खनालले समितिका पदाधिकारीको घर–घरमा गएर माइन्युटमा हस्ताक्षर गर्न लगाएको बताइन्छ । समितिका अध्यक्ष नम्बर २, छिन्नमस्ता बाहिनीका नायब महानिरीक्षक (डिआइजी) दीपेन्द्र शाहले आफूलाई राजीनामा दिनुको कारण नसोधिकन स्वीकृत गरेको उनको गुनासो छ । 

पाँच वर्ष कार्यकाल रहेका उनलाई दुई वर्ष दुई महिनामै प्रधानाध्यापकबाट हटाइएको हो । विद्यालयको डिएसपी भने हरेक वर्ष फेर्ने व्यवस्था छ । तर, खनालले जग्गादातामार्फत भनसुन गरेर दुई वर्षका लागि विद्यालयमा आफ्नो ठाउँ सुनिश्चित गरेका छन् । डिएसपी खनालसँग यस विषयमा प्रश्न गर्दा बोल्न चाहेनन् । 

सशस्त्रको मुख्यालयलाई सोध्नु भन्दै पन्छिए । यता, सशस्त्रका प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काले प्रधानाध्यापक देवले भनेझैं घटना नभएको दाबी गरे । उनका अनुसार यसविषयमा हाल अनुसन्धान भइरहेको छ । 

विद्यालयमा सधैँ लफडा किन ? 

एपिएफको विद्यालय स्थापनाका लागि जोगेन्द्र भगत र ठाकोदेवी भगतले जग्गादान गरेका थिए् । उनीहरू श्रीमान् – श्रीमती हुन् । जोगेन्द्रले नेपाल रेडक्रस सप्तरी शाखामा २५ वर्ष अध्यक्ष खाएका थिए । उनी राजनीतिमा पनि सक्रिय छन् । उनले जग्गा दिएपछि बनेको सो विद्यालयमा पठनपाठन थालिएको धेरै भएको छैन । ०७९ जेठदेखि पहिलो शैक्षिक सत्र शुरु भएको हो । 

विद्यालय निर्माणलगायत गरेर संगठनको कल्याणकारी कोषबाट १५ करोड रूपैयाँभन्दा बढी लगानी भइसकेको छ । अन्य सरकारी विद्यालयझैँ त्यहाँ पनि खुला प्रतिस्पर्धामार्फत शिक्षक नियुक्ति हुने गरेको छ । देव ०७८ माघ २ गते विद्यालयको प्रधानाध्यापकमा नियुक्ति भए । तर, दुई वर्षमै हटाइए । खनालअघि डिएसपी भुवनसिंह ठकुरीले समादेशकको भूमिका निर्वाह गरेका थिए । 

विद्यालयमा ६० प्रतिशत सशस्त्र र ४० प्रतिशत सर्वसाधारणका सन्तानको लागि कोटा छुट्याइएको छ । तर, त्यहाँ ३० प्रतिशत मात्र सशस्त्रका सन्तान पढ्ने गरेका छन् । ‘विद्यालयमा पहिलेदेखि नै लफडा छ । यहाँ पावर चल्छ । इन्टरेष्टअनुसार विद्यालय चलेको छ अनि कसरी सुधार हुन्छ ? एक वर्षमा हट्नुपर्नेले दुई वर्षका लागि कब्जा जमाएर बसेका छन् ।  पाँच वर्षका लागि आएका दुई वर्ष पनि टिक्दैनन्’, स्रोतले गुनासो गर्‍यो  ।

टिप्पणीहरू