धर्मको व्यापार भारतद्वारा नेपाली भूमिमा धमाधम

धर्मको व्यापार भारतद्वारा नेपाली भूमिमा धमाधम

चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने पवित्र कैलाश–मानसरोवर तीर्थस्थलको विकल्पमा भारतले अतिक्रमित नेपाली भूमि गुञ्जीमा कैलाशधाम निर्माण शुरु गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले फागुन २४ गते ३२ करोड २० लाख ६१ हजार रूपैयाँमा निर्माण गरिने कैलाशधामको शिलान्यास गरेका छन् ।

उच्च हिमाली क्षेत्रमा निर्माण गरिने कैलाशधामलाई पाँचौँ धामका रूपमा विकसित गर्ने भारतीय योजना छ । हाल उत्तराखण्डमा केदारनाथ, बद्रीनाथ, गंगोत्री र यमुनोत्री गरी चारधाम प्रचलनमा छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले असोज २५ गते यस क्षेत्रको भ्रमण गरी जोलिङकाङस्थित शिव मन्दिर र पार्वती सरोवरमा पूजापाठसमेत गरेका थिए । 

गुञ्जी गाउँको मनिला मैदान क्षेत्रमा कैलाशधाम निर्माण गरिने भएको छ । गत बिहीवार प्रधानमन्त्री मोदीले भर्चुअलमाध्यमबाट कैलाशधाम निर्माणको शुभारम्भ गर्दा बिजेपीका लोकसभा सदस्य अजय टम्टा भने गुञ्जी पुगेका छन् । सीमा क्षेत्रमा विकास निर्माणका साथै सडक, मोबाइल, बिजुली सेवाको विस्तार भइरहेको छ । उच्च हिमाली क्षेत्रमा हावापानीअनुसारको कृषि उत्पादन बढाउन र पर्यटकीय गतिविधि गर्नका लागि स्थानीय बासिन्दालाई प्रोत्साहन र अनुदानको व्यवस्था पनि गरिएको छ । 

अतिक्रमित नेपाली भूमि क्षेत्रमा पर्ने अर्को गाउँ नाभीमा पर्यटक लक्ष्यित होमस्टे स्थानीय शौका समुदायले सञ्चालन गरेका छन् । लिम्पियाधुरा नजिकको जोलिङकाङ क्षेत्रमा पर्ने छोटा कैलाश र टिंकर नाका नजिकको ओम पर्वत हिमाललाई लक्ष्य गरी पर्यटन पूर्वाधार निर्माण भइरहेका छन् । 

गुञ्जीदेखि जोलिङकाङसम्मको ४० किलोमिटर लामो मोटरमार्ग निर्माण गरिएको छ भने ओम पर्वत दर्शनका लागि गुञ्जीदेखि कालापानी हुँदै नाभीढाँगसम्मको २२ किलोमिटर सडकमार्ग बनेको छ । पिथौरागढ जिल्लाको धारचुला तहसिलदेखि गुञ्जीसम्मको ७० किमि लामो सडक दुई लेन चौडा र कालोपत्रे गर्ने कार्य भइरहेको छ । 

पवित्र कैलाश पर्वतसँग मिल्दोजुल्दो आकृति भएको जोलिङकाङ क्षेत्रको छोटा कैलाश पर्वतलाई आदि कैलाश पनि भन्ने गरिन्छ । पवित्र कैलाशको जस्तै आदि कैलाश पर्वत र मानसरोवर तालको स्थानमा पार्वती सरोवरमा धार्मिक पर्यटकलाई घुमाउनेगरी पूर्वाधार निर्माण भइरहेका छन् । 

कालापानीभन्दा केही माथि र लिपुलेक नाकाभन्दा दक्षिणतर्फ पर्ने ओम पर्वत पनि अर्को पर्यटकीय गन्तव्य बनिरहेको छ । नाभीढाँगबाट दर्शन गरिने यो पर्वतलाई हिउँले ढाकेको छ भने हिउँले बनेको ॐ अक्षरको आकृति प्राकृतिक रूपमा वर्षभरि देख्न सकिन्छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी, राज्यपाललगायत सरकारी अधिकारीहरूले हप्तैपिच्छे आदि कैलाश र ओम पर्वत क्षेत्रका नयाँ नयाँ तस्बिर सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्दै आएका छन् । 

भारतीय सुरक्षाकर्मीले कालापानीमा निर्माण गरेको काली मन्दिरमा पनि धार्मिक पर्यटकलाई घुमाउने गरिएको छ । महाकाली नदीको नक्कली मुहान खडा गरेर बनाइएको काली मन्दिरमा भारतीय सुरक्षाकर्मीले दैनिक पूजापाठ र आरती गर्छन् । 

 

टिप्पणीहरू