सेना समायोजन हुँदा शिक्षक जति सौताका सन्तान

सेना समायोजन हुँदा शिक्षक जति सौताका सन्तान
सुन्नुहोस्

दयाराम डाँगी

दश वर्ष लामो सशस्त्र युद्ध गर्दा माओवादीले वैकल्पिक सत्ता सञ्चालन गरेको थियो । सरकारको जस्तै उनीहरूको आफ्नै सेना, आफ्नै अदालत, आफ्नै बैंक, आफ्नै मालपोत, आफ्नै सहकारी र आफ्नै विद्यालय थिए ।

शान्ति प्रक्रियापछि समायोजनको नाममा केही मान्छेको छाती नापेर सेनामा भर्ती गरिए पनि उताका अन्य अंग बेवारिसे छाडिए । त्यसरी बेवारिसे छोडिएको धेरै अंगमध्येको हो जनवादी शिक्षक । युद्धरत तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीको विशेष संरचनाका रूपमा रहेको केन्द्रीय आधार इलाकाभित्र रोल्पा, रुकुम र सल्यान जिल्लामा एक÷एक वटा जनवादी विद्यालय स्थापना गरिएका थिए ।

त्यहाँ कक्षा ४ सम्म पठनपाठन हुन्थ्यो । तिनैमध्ये एक हो शहीद स्मृति जनवादी नमुना विद्यालय थवाङ । माओवादीले सशस्त्र युद्ध थालनी गरेको दिनको सम्झनामा सो विद्यालय ०६१ साल फागुन १ गते स्थापना भएको थियो । उक्त विद्यालयमा ३३ छात्रा र ५४ छात्रसहित ८७ विद्यार्थी अध्ययन गर्थे । आवासीय रूपमा ५० जना, अजम्बरी जनकम्युनबाट २४ जना र जनस्तरबाट १३ जनाले पढ्ने गरी कोटा निर्धारण गरिएको थियो ।

विद्यालयमा पार्टीको सेल कमिटी, साधारण शाखा, अखिल क्रान्तिकारी बाल इकाइ, शिशु स्याहार, निर्माण र मेस गरी ७ वटा विभागको व्यवस्था गरिएको थियो । शहीद परिवारका ३४, जनमुक्ति सेनाका १७, कार्यकर्ताका ३२ र घाइते परिवारका ४ विद्यार्थीलाई पढाउन ५ जना शिक्षक खटाइएका थिए ।

सो विद्यालयमा थवाङ रोल्पाका लालचन्द्र रोकामगर व्यवस्थापक हुनुहुन्थ्यो । शान्ति प्रक्रियापछि वीरवलभन्द्र मावि थवाङमा समायोजन भएसँगै रोकामगरलाई समेत निजी श्रोत शिक्षकका रूपमा त्यहीं व्यवस्थापन गरिएको छ । जनवादी विद्यालयको संस्थापक प्रिन्सिपल गिरिष पुनमगर थिए । पछि सो जिम्मेवारी कोटजहारी रुकुमका कर्णबहादुर घर्तीमगरलाई दिइएको थियो । सो विद्यालयमा लिवाङ रोल्पाका रिता गिरी, गैरीगाउँ रोल्पाका अनिता डाँगी र दाङका मदन पौडेल शिक्षक थिए । गिरिष पुनमगरले हाल थवाङमा निजी विद्यालय चलाएका छन् ।

जलजला एकेडेमीमा उनको सेयर छ । रिता गिरी जिल्ला समन्वय समिति रोल्पाको प्रमुख सीता आचार्यको स्वकीय सचिव छिन् । केन्द्रीय आधारइलाकाभित्र पर्ने रुकुमको भरवाङ क्याङसीमा अर्को जनवादी विद्यालय थियो । शहीद वासु स्मृति नमुना जनवादी विद्यालय नामकरण गरिएको सो विद्यालय ०६२ जेठ १ गते स्थापना गरिएको हो । सो विद्यालयमा २७ छात्र र २४ छात्र गरी ५१ जना विद्यार्थी अध्ययन गर्छन् । ६ जना शिक्षक÷शिक्षिका रहेको सो विद्यालयको प्रिन्सिपल साजन रोकाया थिए । 

यसैगरी, सल्यानको सिर्पा शिवरथ सल्यानमा शहीद भरत स्मृति नमुना आवासीय जनवादी विद्यालय स्थापना गरिएको थियो । ०६० वैशाखमा स्थापित र २५ छात्र २९ छात्रा गरी ५४ जना विद्यार्थीले पठनपाठन गर्ने सो विद्यालयमा हाल सल्यानकी विनिता कुँवर प्रधानाध्यापक थिइन् । कोटवारा सल्यानका अलबहादुर वली, लक्ष्मीपुर सल्यानका तिलक घर्ती, ढाकाडाम सल्यानका डिल्लीबहादुर चन्द र शिवरथ सल्यानका शिवराम विक शिक्षक थिए । सो समयमा शिक्षकलाई एक हजार पाँच सयका दरले मासिक तलबको व्यवस्था गरिएको थियो । कर्णबहादुर बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय विद्यालय व्यवस्थापन समितिसमेत गठन गरिएको थियो ।

९ः४५ बाट सुरु भई ३ बजेसम्म सञ्चालन गर्ने गरी समय–तालिका निर्धारण गरिएको थियो । जनवादी विद्यालयमा भाषा शिक्षाअन्तर्गत नेपाली भाषा, मातृ भाषा र अंग्रेजी भाषाको पढाइ हुन्थ्यो । केन्द्रीय आधारइलाकामा कक्षा ३ सम्म ३१ वटा जनशिक्षालय थिए । शान्ति प्रक्रियाको करिव २ वर्षपछिसम्म पनि सो विद्यालय सञ्चालनमा थियो । नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर साम्यवादी समाज निर्माण गर्ने सपनासहित माओवादी आन्दोलनमा लागेका उनी अहिले रोल्पा नगरपालिका–४ को कार्यालय सहयोगी छन् । 

०५२ देखि कम्युनिष्ट पार्टीमा क्रियाशील दाङ तुल्सीपुरका मदन पौडेल २०५८ साल वैशाखदेखि माओवादीको पूर्णकालीन कार्यकर्ता बने । पूर्णकालीन बनेसँगै सशस्त्र युद्धमा सामेल भएर भूमिगतसमेत भए । ०६१ सालमा माओवादीको मुख्य आधारइलाका थवाङमा जनवादी विद्यालय स्थापनापछि भने उनी त्यतै व्यस्त रहे । युद्ध र शान्तिकालसमेत गरी सो जनवादी विद्यालयको शिक्षकका रूपमा करिब ५ वर्ष बिताए । द्वन्द्वका बेला तत्कालीन शाही नेपाली सेनामा कार्यरत भाइ चेतनाथ पौडेललाई गुमाए । भाइलाई उनको आफ्नै पार्टी माओवादीले सशस्त्र युद्धकै क्रममा नियन्त्रणमा लिई हत्या गरेको थियो । 

शान्ति प्रक्रियासँगै जनवादी विद्यालय हराए । जनवादी विद्यालयका ठाउँमा सुविधा सम्पन्न केही शहरमा शहीद स्मृति प्रतिष्ठान स्थापना गरिए । सशस्त्र युद्धका तिनै शैक्षिक गुरु शान्ति प्रक्रियापछि भने किनारा लाग्दै गए । जनवादी विद्यालय विघटनपछि उनले केही समय रोल्पा सदरमुकाम लिवाङस्थित निजी विद्यालय तुल्सी आवासीय माविमा अध्यापन गरे । नातावाद, कृपावाद हावी हँुदा त्याग गरेका पुराना कार्यकर्ता किनारा लाग्दै गए, अहिले रोगी शरीर लिएर घरमै बसिरहेको छु– पौडेलले भने ।

टिप्पणीहरू